Ad Area

दुर्गम स्वास्थ्यचौकी,जोखिममा प्रसूति सेवा


दाङ, २४ पुस । जिल्ला सदरमुकामभित्रको घोराही उपमहानगरपालिका । त्यही उपमहानगभित्रको दुर्गम क्षेत्र हो, सैघा । उपमहानगरपालिको १९ नं. वडामा रहेको यहाँको स्वास्थ्यचौकीले जोखिममा प्रसूति सेवा दिने गरेको छ । प्रसूति सेवाका लागि आवश्यक स्वास्थ्य सामग्रीको अभावसँगै सुत्केरी महिलालाई रिफर गर्नुपर्ने अवस्थामा एम्बुलेन्स सेवासमेत नहुँदा जोखिम मोलेर प्रसूति सेवा दिने गरेको हो ।

उपस्वास्थ्य चौकीबाट स्वास्थ्यचौकीमा स्तरवृद्धि भएपछि भवन निर्माणको क्रममा छ । अझै पूरा हुन सकेको छैन । जसले गर्दा स्वास्थ्यचौकीमा पूर्वाधारसँगै स्वास्थ्य सामग्रीको अभाव भए पनि स्वास्थ्य सेवा दिइरहेको छ । स्वास्थ्यचौकीमा न एम्वलेन्स छ न प्रसूतिका क्रममा महिलालाई बच्चा जन्माएपछि बिलिडिङ नहोस् भनेर दिनुपर्ने अक्सिटोसिन इन्जेक्सन राख्नका लागि फ्रिजको व्यवस्था छ । स्वास्थ्यचौकीमा खानेपानीको भरपर्दाे व्यवस्था समेत छैन ।

दुर्गमका कारण धेरै अभाव भए पनि स्वास्थ्यचौकीले स्वास्थ्य सेवाहरु दिइरहेको स्वास्थ्यचौकी सिनियर अनमी निर्मला पुनले बताइन् । ‘घोराहीको दुर्गमको स्वास्थ्यचौकी भएकाले जनतालाई स्वास्थ्य सेवा दिन कठिनाई धेरै छ’, उनले भनिन्– ‘तर अभावका बीच पनि स्वास्थ्यचौकीले धेरै सेवा दिइरहेको छ ।’ उनले स्वास्थ्यचौकीमा एम्बुलेन्स, ल्याव सेवा, खानेपानी, महत्वपूर्ण भ्याक्सिन राख्नका लागि फ्रिज नहुँदा समस्या भएको बताइन् ।

स्वास्थ्यचौकीमा एम्बुलेन्स र ल्याव सेवा नहँुदा जोखिम मोलेर प्रसूति सेवा दिनुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकीकी अर्की अनमी कुमारी सुनारले बताइन् । उनले सुत्केरी महिलालाई बिलिडिङ भएपछि रोक्नका लागि लगाउनुपर्ने अक्सिटोसिन राख्नका लागि फ्रिजको व्यवस्था नहुँदा भ्याक्सिन क्यारियर्समा राखेर काम चलाउनुपर्ने बाध्यता रहेको बताइन् । ‘बच्चा जन्माएपछि साल निस्कनुभन्दा अघि सुत्केरी महिलालाई बिलिडिङ नहोस् भनेर अक्सिटोसिन इन्जेक्सन दिनुपर्छ’, उनले भनिन्– ‘तर स्वास्थ्यचौकीमा उक्त इन्जेक्सन राख्नका लागि फ्रिजको व्यवस्था छैन ।

जसले गर्दा अहिले भ्याक्सिन क्यारियर्सको आइसमा राखेर काम चलाएका छौ ।’ उनले अक्सिटोसिन इन्जेक्सन राख्ने समस्यासँगै डेलिभरी महिलाको स्वास्थ्य चेक गराउनका लागि ल्यावको अभाव र महिलाको स्वास्थ्य बिग्रिएमा बाहिर पठाउनका लागि स्वास्थ्यचौकीमा एम्बुलेन्स नहुँदा रिक्स लिएर काम गर्नुपर्ने बाध्यता रहेको बताइन् । ‘सम्पन्न परिवारका महिलाहरु डेलीभरीका लागि बाहिर जानुहुन्छ तर आर्थिकरुपमा कमजोर परिवारका महिलाहरु यहीँ प्रसूति गराउनुहुन्छ । तर सुत्केरी गराउनुअघि महिलाको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्यचौकीमा ल्याव समेत छैन’, उनले भनिन्– ‘जसले गर्दा हामीले रिक्स लिएर डेलिभरी गराउने गरेका छौँ ।’

उनले डेलिभरीका लागि अक्सिजन, भ्याकुम सेट, भ्याक्सिन राख्नका लागि फ्रिज, ल्याव सेवासँगै अप्ठ्यारो परिस्थितिमा बिरामी रिफरका लागि एम्बुलेन्स आवश्यक रहेको बताइन् । तर अत्यावश्यक सामग्री नहुँदा रिक्स लिएर सेवा दिनुपर्ने बाध्यता रहेको बताइन् । उनका अनुसार गत आर्थिक बर्ष १९ जना र यस आर्थिक बर्षको हालसम्म स्वास्थ्यचौकीबाट १९ जनाले प्रसूति सेवा लिएका छन् । त्यस्तै स्वास्थ्चौकीमा खानेपानीको समेत समस्या छ । स्वास्थ्यचौकीमा धेरै पानी चाहिन्छ तर पानीको व्यवस्था नहुँदा बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको छ ।

Blog Post Ad

‘भौगोलिक विकटताका कारण स्वास्थ्यचौकीमा खानेपानी धारा छैन । बाहिरबाट बोकेर पानी ल्याउनुपर्छ’, सिनियर अनमी पुनले भनिन्– ‘स्वास्थ्यचौकीसम्म पानी आउने व्यवस्था भए राम्रो हुने थियो ।’ उनले कहिलेकाहीँ स्वास्थ्यचौकीमा पानीको आवश्यकता पर्दा पानी ल्याउन जानुपर्ने बाध्यता हुने गरेको बताइन् । स्वास्थ्यचौकीमा खानेपानीको सुविधा भैदिए स्वास्थ्य सेवामा सहजतासँगै सेवाग्राहीहरुलाई पिउनसमेत सहयोग पुग्ने बताइन् । स्वास्थ्यचौकीमा पानीका लागि करिब दुई सय मिटर टाढा जानुपर्ने बाध्यता छ ।

यसैबीच मानवअधिकार समूहले बिहीवार स्वास्थ्यचौकीको अनुगमन गरेको छ । स्वास्थ्यचौकीले दिने सेवा, सुविधा र भौतिक अवस्था बारेमा मानवअधिकारकर्मी, पत्रकारलगायतको टोलीले अनुमगन गरेको हो । अनुगमनमा इन्सेक दाङका कार्यक्रम संयोजक बिनोद केसी, मानवअधिकार समूहका सचिव प्रकाशचन्द्र घिमिरे, समूहका सदस्यहरु लौटन चौधरी, प्रेमा अधिकारी गैरे, देवा पाण्डेयलगायतको सहभागिता रहेको थियो ।

Blog Post Ad Blog Post Ad