Ad Area

एक हजार खसी–बोका काठमाडौ पठाईने


दाङ, ११ असोज ।

दाङ बाट यस वर्ष करिब १ हजार बढी खसी–बोका  काठमाडौँ पठाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जिल्लाबाट खसी–बोका खरिद गरेर काठमाडौँ पठाउने भएको हो ।

त्यसका लागि केही दिनपछि खसी–बोका खरिद गर्न सुरु गरिने भएको छ । अहिले खसी–बोका पालन गर्ने कृषकहरुसँग समन्वय भइरहेको कम्पनीले जनाएकोे छ ।

कम्पनीले पहिलो चरणमा ६ सय खसी–बोका काठमाडौँ पठाउने छ । थप दोस्रो चरणमा पठाउने कम्पनीका निमित्त प्रमुख नकुल चौधरीले बताए । अहिले पहिलो चरणका लागि ६ सय वटा पठाउने भनिएको छ । अरु कोटा पछि दिने बताइएको छ । ‘दाङबाट करिब १ हजार खसी–बोका काठमाडौँ पठाइने छ’, निमित प्रमुख चौधरीले भने– ‘त्यसका लागि असोज १७ गतेबाट खसी–बोका खरिद गर्न सुरु गरिने भएको छ । मूल्य निर्धारण गरेर खरिद गर्न सुरु हुने छ ।’ असोज १० पछि खसी–बोकाको मूल्य निर्धारण गरिने उनले बताए । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने बैठकले मूल्य निर्धारण गर्न व्यवस्था रहेको छ । गत वर्ष प्रतिकेजी ५ सय ५० रुपैयाँ निर्धारण गरिएको थियो । यस वर्ष यसलाई बढाउन कृषकहरुले माग गरेको निमित्त प्रमुख चौधरीले बताए ।

जिल्लाको पश्चिम क्षेत्र तथा देउखुरी क्षेत्रबाट खसी खरिद गरिएको कम्पनीले जनाएको छ । देउखुरी कृषक तथा सहकारी संस्थाहरुले पालन गरिएको खसी–बोका खरिद गरिने चौधरीले बताए । किसानहरू मारमा नपर्ने गरीे खसी–बोकाको मूल्य निर्धारण गरिएको चौधरी बताउँछन् । खरिद गरिएका खसी–बोका ढुवानी गर्न धेरैले नमान्ने उनको भनाइ रहेको छ । ढुवानी गर्दा खसी–बोकाको मृत्यु भएमा ढुवानी गर्नेवालाले व्यहोर्नुपर्ने भएकाले नमान्ने गरेका हुन् । दशैँ–तिहारमा खसी–बोकाको कारोवार धैरै हुने र मनपरी मूल्यमा बिक्री वितरण हुने भएकाले सरकारले हरेक वर्ष खसी–बोका खरिद गरेर बिक्री गर्ने गरेको छ ।

‘चाडपर्वमा बढी मात्रामा मासु खपत हुने भएकाले मूल्य बढाउन नदिनका लागि बजार मूल्यलाई नियन्त्रण गर्न सरकारले नै खरिद गरेर बिक्री गर्ने गरेको हो’, चौधरीले भने । घर–घरमा गएर कम्पनीले खसी–बोका खरिद गरिदिएर सहजता गराएको कृषकहरु बताउँछन् ।

Blog Post Ad

यसले किसानहरूलाई थप राहत प्रदान गर्ने चौधरी बताउँछन् । स्थानीय उत्पादन र उद्यमशीलतालाई मुख्य प्राथमिकतामा राखी प्रत्यक्षरूपमा खसी–बोका खरिद गरी बिक्रीका लागि जिल्ला बाहिर पठाइने गरेको निमित्त प्रमुख चौधरी बताउँछन् । तुलसीपुर, घोराही, लमही क्षेत्रमा रहेर कृषि फर्महरू सञ्चालन गरेका सहकारी तथा सामूहिक संस्थामार्फत खसी, बोका–खरिद गरिने गरेको उनको भनाइ छ । पशु चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गराएर मात्रै खसी, बोका खरिद गरिने र स्वास्थ्य परीक्षण गराएर काठमाडौँ पठाइने गरेको छ ।

Blog Post Ad Blog Post Ad