Ad Area

सुशासन र पारदर्शिताको अभ्यास ग्रामीण महिला उत्थान केन्द्रबाट सिकौँ


घोराही ३०, पुस । ग्रामीण महिला उत्थान केन्द्रको सामाजिक परिक्षणसहित समिक्षा गरिएको छ । बिहीबार घोराहीमा एक कार्यक्रम गरी संस्थाले संचालन गरेका तथा सम्पादन गरेका कामको अवस्थाले लक्षित समुदाय वा व्यक्तिमा परेको प्रभाव र आयामका बारेमा लेखाजोखा गरिएको हो ।

संस्थाकी अध्यक्ष आशमानी चौधरीको अध्यक्षता एवं नागरिक समाज दाङका निवर्तमान संयोजक चन्द्रराज पन्तको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी वार्षिक रुपमा संस्था तथा सो मातहतको कार्यालयबाट सम्पादित कामको लेखाजोखा गरिएको हो । प्रमुख अतिथि पन्तले सामाजिक संस्थाले सुशासन, आर्थिक सशक्तीकरणको काम गर्न सक्ने तर स्थानीय सरकारले नागरिकको अपेक्षालाई पूरा गर्न विभिन्न बहाना देखाउने परिपाटी कायमै रहेको बताए । जनताको भोटले जितेका जनप्रतिनिधिहरुले जिम्मेवार रुपमा काम गर्न सक्नुपर्ने उनको भनाई थियो ।

संस्थाले कृषि, शिक्षा, स्वास्थ्य, सुशासन र पारदर्शितालगायतका क्षेत्रमा काम गर्दै आएकोमा ती क्षेत्रबाट सम्पादित कामले लक्षित समुदायको वर्ष दिनमा कस्तो प्रभाव पर्यो वा कमजोरी के के रह्यो भन्ने पहिचान गर्न र आगामी कार्ययोजनालाई थप चुस्त दुरुस्त बनाउँदै कार्य सम्पादन परिष्कृत गर्न सामाजिक परिक्षण गरिएको हो ।

सो अवसरमा सामाजिक सुपरिवेक्षण प्रतिवेदन नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीबाट प्रस्तुत गरिएको थियो भने संस्थाका तर्फबाट संस्थागत प्रगतिका बारेमा भीमकान्त चौधरीले प्रतिवेदन प्रस्तुत गरेका थिए । २०५१ सालमा स्थापित संस्थामाले आत्मनिर्भर एवं सशक्त समाज निर्माणको पक्षमा आफुलाई मूलभूत रुपमा उभ्याउँदै आएको छ । संस्थाले संचालन गरेको आर्थिक सशक्तीकरण कार्यक्रममा हजारौँ महिलाले लाभ लिईरहेका छन् ।

सो अवसरमा चौधरीले पशुबस्तुको मुल्य श्रृंखला अन्तर्गतको हेफरले हेर्दै आएको बाह्र वटा सहकारी संस्थाहरु दाङ सल्यान प्युठानबाट यस वर्ष ५ हजार ८३६ वटा खसीबोका बिक्रि गर्दा कृषकहरुले ७ करोड १४ लाख ८० हजार ६७० रुपैयाँ आम्दानी गर्न सफल भएको बताए । यस्तै, कोरोनाको दोश्रो लहरका बेलामा सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड सहयोग ५९ लाख २० हजार रुपैयाँ कृषक समुह तथा संस्थाहरुलाई सहयोग गरिएको जानकारी गराइएको थियो ।

कार्यक्रममा घोराही १४ वडा अध्यक्ष शक्तिराम डाँगी, वडा नम्बर १७ का वडा अध्यक्ष खुशीराम चौधरी, वडा नम्बर १३ का वडा अध्यक्ष रविलाल घर्ती, वडा नम्बर १ का वडा अध्यक्ष राममणि पाण्डे, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रकी अध्यक्ष निर्मला गौतम, थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी, सामाजिक रुपान्तरणका लागि महिला मञ्चकी सचिव सुशीला आचार्य, ईन्सेक जिल्ला प्रतिनिधि विनोद केसीलगायतले बोलेका थिए । उनीहरुले सामाजिक तथा आर्थिक रुपान्तरणका क्षेत्रमा संस्थाले गरेको काम आफैमा अनुकरणीय रहेको बताउँदै सामाजिक परिक्षणले यसको सुशासन पक्ष थप बलियो ठानिएको बताए ।

कार्यक्रममा कर्मठ महिला सहकारी संस्थाकी अध्यक्ष देवीमाया थापाले संस्थागत रुपमा आफुहरुले पाएको उपलब्धी र सफलताको कथा सुनाउँदै आफुहरुको सफलताको मानक ग्रामीण महिला उत्थान केन्द्रलाई आमा र हेफरलाई बुवाको संज्ञा दिईन् । शुन्यबाट शुरु भएको संस्थामा अहिले आम्दानीका थुप्रै श्रोत रहेको उनले बताईन् । हाल १ हजार १ सय बढी सदस्य रहेको संस्थाले यही आर्थिक वर्षमा १३ सय सदस्य पुर्याउने लक्ष्य राखेको छ । उनले भनिन, ‘शुन्यबाट उठाएर अहिले लाखौँ सम्पत्तिको हकदार बनाउन आत्मर्निभरको इलम सिकाउने संस्था हाम्रा लागि जन्मदिने आमाबुवाभन्दा कम छैन ।’

यसैगरी, ग्रामीण महिला .उत्थान केन्द्रका संस्थापक सल्लाहकार सोगतबिर चौधरीले सबैको सामहिक प्रयासले संस्थाले सफलता पाउँदै गएको हुँदा यसको क्षेत्र र दायरा पनि फराकिलो बन्दै गएको बताए । सरोकार संस्थाका प्रतिनिधि तथा छलफलका क्रममा उठेका जिज्ञासा तथा टिप्पणीका बारेमा अध्यक्ष आशमानी चौधरीले प्रष्ट पारेकी थिईन् ।

संस्थागत विकासका लागि गरिएका प्रयासमा मातहतका सहकारी संस्थाहरुले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै उदाहरणीय काम गर्दै आएको, आत्मनिर्भरका राम्रा अध्यास गरिरहेको र थप सुधारका पक्षमा संस्थाले प्राविधिकसहतिको जनशक्ति व्यवस्थापन गरि अघि बढेको बताईन् ।

संस्थाकी माधवा पोख्रेलको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा संस्थाको विषयबस्तु र उद्देश्यबारे एचबी थापाले प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण सामाजिक परिक्षक बसुन्धरा गौतमले गरेकी थिईन् ।