Ad Area

‘स्याम्बो’ गाउँदै मगर समुदायले मनाए माघे सकराती


घोराही ४, माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ बडहराका मनकुमार रोकामगर सेतो फेटा, कछार, पटुका र पैजानमा ठाँटिएका थिए । उनी जस्तै मगर समुदायका दर्जनौ व्यक्ति मगर पोसाकमा सजिएर आफ्नो पुख्र्यौली पर्व माघे सकराती मनाउन व्यस्त थिए । साथमा नयाँ पुस्ताका किशोरकिशोरीहरु पनि सँगै यस्तै भेषभूषामा सरिक थिए ।

तीन दिनसम्म भव्य रुपमा माघे सकराती पर्व मनाउन घोराहीमा रहेका मगर समुदायहरु आफ्ना चेलीबेटी र आफन्तलाई एकै थलोमा राखेर भव्य रुपमा पर्व मनाउन तल्लीन थिए । विगत वर्षहरु जस्तै यो पटक पनि धनुष हान्ने, स्याम्बो गाउने तथा चेली पूज्ने परम्पराले निरन्तरता पायो ।
चेली र माईतीले वर्षभरीका सुखदुख साट्दै हाँसी खुशी पर्व मनाऔँ भन्ने सन्देशसहितको धाराबाहिक रुपमा स्याम्बो गाउँदै गर्दा यसले मगर समुदायको सिंगो रहनसहन मुखरित गरिरहेको थियो ।

मगर समुदायको विशिष्ट पहिचान झल्कने स्याम्बो गीत गाउन रुकुम गर्खानीबाट महिला समुह र रुकुम कोलबाट पुरुष समुह आएको थियो । गीत गाउँदै धनुषले तारो हान्ने काम पनि भयो । मगरहरुले आफ्ना चेलीबेटीहरुलाई क्रमैसँगै सेतो टीका लगाई दिएर कन्दमूल, फलफूल उपहारसँगै गच्छे अनुसार दक्षिणा दिएर माघे सकराती मनाई रहँदा माघी पर्वको रौनक बेग्लै थियो ।

लुंगी, पटुका, चोला, घलेक लगाएका मगरहरुको यो उपस्थितीले नेपाल मगर संघको परिसरको दृश्यले बेग्लै उत्साह थपेको थियो । नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङका अध्यक्ष खलु पुन मगरले मगर समुदायको सबैभन्दा ठूलो चाड नै माघे सकराती भएको बताए । माघे सकराती भनेर महिनाभरी आफ्ना चेलीबेली, माईती, आफन्तसँग बसेर मनाउने पर्व आफैमा विराट रहेको उनको भनाई छ । ‘माघे सकराती चाड अरु समुदायको जस्तै मगर समुदायको पनि मुख्य चाड हो’, अध्यक्ष खलु पुनले भने, ‘परम्परादेखि नै यो पर्व मनाउँदै आएका छौं । हाम्रो पहिचान र संस्कृतिलाई बचाउनको लागि हामी वर्षेनी चेलीबेटी, माईती भेला भएर मनाउने गछौँ ।’

Blog Post Ad

यस्तै, सोही कार्यक्रममा सरिक भएका सुकलाल पुनका अनुसार माघे सकराती चाड विशेष त चेली पर्वको रूपमा मनाईने चाड हो । नयाँ यामको सुरुवात यसै दिनदेखि उभौली सुरु भई साउने संक्रान्ति समापन भई सोही दिनदेखि उद्यौली शुुरु हुने प्रचलन रहेको उनले बताए । यो चाडमा चेलीहरूले मुलको पानी र जमरा स्वरुप जौंको फूल लिएर घरको धुरी र खाँबोमा पूजा गर्ने गरिन्छ । यो दिन छोरी चेलीहरूलाई पनि पुजिन्छ । ‘यो चाडको बेला टीका लगाई गच्छे अनुसार दक्षिणा दिइन्छ’, अर्का धर्मलाल रोका मगरले भने, ‘यो बेला सबै आफन्तहरू भेटघाट गरी हुर्रा, सोरठी, कौडा, मारुनी, पैस्यारु नाच नाच्छौं । यो चाड ठाउँ अनुसार तीन दिनसम्म मनाउने गर्छौ ।’ खासमा मगर समुदायमा परम्परागत रुपमा सगुन कोशेली लिएर आफन्ती कहाँ जाने र माघे सकराती मनाउने क्रम अहिले पनि छ ।

नेपाल मगर संघका केन्द्रीय सदस्य दलजीत रोका मगरले मगर समुदायमा यो चाडको सांस्कृतिक र सामाजिक महत्व विशेष रुपमा रहेको बताए । ‘यो चाडको प्राकृतिक र सांस्कृतिक महत्व छ’, उनले भने, ‘मगर समुदायले मात्रै नभई अन्य जातिहरूले पनि यो बेलामा तरुल, कन्दमुल, चाकु र विभिन्न परिकारहरू खाएर चाड मनाउने गछौं ।’ उनका अनुसार यस दिन छोरी चेलीहरूलाई मिस्रा दिने पनि गरिन्छ । घरमा आउन नसके पठाउने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरू, भुजौरी, खिचडी, घिउको मिश्रित परिकार हो ।

माघे सकरातीमा मौलिक रूपले भैलो खेल्ने, पुतली नाच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने, धनुषवाण हान्ने गरिन्छ । सांस्कृतिक हिसाबले यो चाडदेखि कौडा नाचको शुुरुवात गर्ने र मादल, बाजाहरू बन्द गर्ने गरिन्छ । यसै दिनदेखि बेसीबाट लेकतिर बसाई सर्ने परम्परा पनि मगर समुदायमा रहेको अर्का टेकबीर घर्तीले बताए ।

शनिबार माघे सकरातीका अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङले औपचारिक कार्यक्रम पनि गर्यो । सो अवसरमा नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले नेपाल बहु सांस्कृतिक, बहुभाषिक र बहुधार्मिक देश भएको बताउँदै मगर समदाय यसको प्रमुख जग रहेको उल्लेख गरे ।

मगर समुदाय आदिवासी समुदाय भएकाले आदिमकालमा आफ्नो सुरक्षाका लागि बनाएका विभिन्न खालका औजार, उपकरणहरु देशको रक्षामा पनि महत्वपूर्ण सावित भएको इतिहासले देखाएको बताए । जसलाई अन्य सुमदायले पनि आफ्नो मौलिकता अनुसार अहिले पनि अंगाल्ने गरेका उनको भनाई थियो । देशमा जनसंख्याका हिसावले ठूलो हिस्सा मगर जातिको रहेको बताउँदै माघे सकरातीमा सरकारले विदा कटौती गर्न नहुने बताए । कुनै पनि जाति धर्म समुदायको सम्मानका लागि राज्यले सम्बोधन गर्न जरुरी रहेको उल्लेख गरे ।

सो अवसरमा नेता महराले धनुषले तारो हान्दै त्यसको ऐतिहासिक र वैज्ञानिक पक्षका बारेमा पनि चर्चा गरे । कार्यक्रममा सहभागी मगर समुदायका अगुवाहरुले माघी पर्वमा सरकारले बिदा कटौती गरेकोले त्यसलाई यथासिघ्र सच्याउन माग गरेका थिए ।

नेपाल मगर संघ समन्वय समिति दाङका अध्यक्ष खलु प्रसाद पुन मगरको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमममा सहभागीहरुलाई जिल्ला सदस्य प्रेम बुढामगरले स्वागत गरेका थिए । सहभागी सबैलाई मगर समुदायको रीतिथीति र परम्परा जोगाई राख्न नयाँ पुस्तालाई पनि सीप र संस्कृतिका बारेमा जानकारी गराउन आवश्यक रहेको अर्को वक्ता सतबहादुर रोकाको जोड थियो । जिल्ला उपाध्यक्ष सावित्रा राना धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण सचिव मुक्त बुढामगरले गरेका थिए ।

Blog Post Ad Blog Post Ad