२ हजार बढीले लिए सुरक्षित गर्भपतन सेवा

अमरराज आचार्य
दाङ, १३ असोज । जिल्लामा एक वर्षको अवधिमा २० वर्षमुनिका २ सय ९३ जनाले सुरक्षीत गर्भ पतन गराएका छन् । जसमा १ सय ३२ जनाले औषधिको प्रयोगबाट र २ सय ९३ जनाले औजारबाट गर्भपतन गराएको नेपाल परिवार नियोजन संघ दाङ शाखाका प्रवन्धक वसन्त खनालले जानकारी दिए । सुरक्षित गर्भपतन दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय दाङ, घोराही उपमहानगरपालिकाको आयोजना तथा नेपाल परिवार नियोजन संघ दाङ शाखा एवं किड्स नेपालको सहआयोजनामा भएको अन्तत्र्रिmया कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।
यो संख्या मान्यता प्राप्त स्वास्थ्य संस्थामा गर्भपतन गराउनेहरुको संख्या हो । कानुनविपरीत गर्भपतन गराउनेहरुको संख्या पनि उल्लेखीय रहेको छ । मान्यताप्राप्त स्वास्थ्य संस्थाबाहेक बाहिर पनि गर्भपतन गराउनेहरुको संख्या उल्लेखीय रहेको स्वास्थ्यका जानकारहरु बताउँछन् । २० वर्षभन्दा बढी माथिका २ हजार ५३ जनाले गर्भपतन गराएका छन् । जसमा १ हजार १ सय ७२ जनाले औषधिको प्रयोग गरेर भने ८ सय ८१ जनाले औजारको प्रयोग गरेर गर्भपतन गराएको उनको भनाइ रहेको छ ।
जिल्लामा एक वर्षको अवधिमा २ हजार ३ सय ४३ जनाले सुरक्षित गर्भपतन गराएका छन् । जसमा औषधिको प्रयोग गरेर १ हजार ३ सय ४ जनाले गर्भपतन गराएका छन् भने १ हजार ४२ जनाले औजारको प्रयोग गरेर गर्भपतन गराएको प्रवन्धक खनालले बताए । शिक्षित परिवार नै मान्यताप्राप्त स्वास्थ्य संस्थासम्म नआउने गरेको उनको भनाइ रहेको छ । मान्यता स्वास्थ्य संस्थामा नगएर बाहिर गएर गर्भपतन गराउने गरेका छन् । ‘आफै जान्ने हुनाले समस्या हुने गरेको छ’, प्रवन्धक खनालले भने ।
हाल नेपालमा औषधिको प्रयोग गरेर ९ हप्ताभन्दा कमको महिलाको इच्छाअनुसार गर्भ पतन गराउन सकिने छ । महिलाको इच्छाअनुसार १२ हप्तासम्मको मेसिनको प्रयोग गरेर गर्भपतन गराउन सक्नेछन् । १२ हप्ताभन्दा बढी भएमा महिलाको इच्छा तथा चिकित्सकको राय–अनुसार कानुनले तोकेको अवस्थामा मात्र गर्भपतन गराउन पाइन्छ । कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद्बहादुर शाहीले गर्भपतनका बारेमा संवेदनशील हुनुपर्ने बताए । धेरै गर्भपतन गराउँदा बाँझोपन समेत हुनसक्ने उनको भनाइ रहेको छ ।
यसका लागि सबै नागरिकलाई सचेतना जगाउनुपर्ने उनले बताए । ‘गर्भपतनका बारेमा समाजमा सचेतना जगाउन जरुरी रहेको छ’, प्रमुख शाहीले भने । परिवार नियोजनका साधन अपनाएर गर्भपतनलाई कमभन्दा कम गर्दै लैजानुपर्ने उनले बताए । सुरक्षित गर्भपतनका लागि संस्थागत संरचना विस्तार गर्न आवश्यक रहेको उनी बताउँछन् । ‘नेपालको कानुनको पूर्णरुपमा पालना नहुँदा समस्या भएको छ’, प्रमुख शाहीले भने ।
घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले मान्यता प्राप्त स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतनको सेवा लिन पाइने बताए । यसका लागि मान्यता प्राप्त स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने उनको भनाइ छ । सेवा लिन ढुक्क भएर जानसमेत उनले आग्रह गरे । गैरकानुनी काम गर्न नहुने समेत उनले बताए ।