Ad Area

६ महिनामा १०६ अर्ब पुनर्कर्जा स्वीकृत


दाङ ७, माघ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म एक खर्ब ६ अर्ब आठ करोड रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको छ । पुस समान्तसम्म २४ हजारभन्दा बढी ऋणीले पाउने गरी उक्त पुनर्कर्जा स्वीकृत भएको हो ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको सुरक्षणमा राष्ट्र बैंकबाट निश्चित अवधिका लागि बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने कर्जा नै पुनर्कर्जा हो । ग्राहकको मूल्यांकनको आधारमा प्रदान गरिने पुनर्कर्जा १०२ जना र ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थालाई एकमुष्ट प्रदान गरिने कर्जा ४२ संस्थाका दुई हजार ९६० वटा शाखा कार्यालयका २४ हजार १६५ गरी कुल २४ हजार २६७ जना ऋणीले पाउने गरी पुनर्कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

ग्राहकको मूल्यांकनका आधारमा प्रदान गरिने पुनर्कर्जा विशेषतर्फ २० जनालाई तीन अर्ब ५० करोड र साधारण पुनर्कर्जा ८२ जनालाई १० अर्ब १२ करोड रुपैयाँ स्वीकृत गरिएको हो । यस्तै, एकमुष्ट प्रदान गरिने पुनर्कर्जातर्फ लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा नौ हजार ४८६ ऋणीलाई आठ अर्ब १० करोड, विशेष पुनर्कर्जा एक हजार ६८७ ऋणीलाई आठ अर्ब ७९ करोड र साधारण पुनर्कर्जा १२ हजार ९९२ ऋणीलाई ७५ अर्ब ५८ करोड रुपैयाँ स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

ग्राहक ऋणी मूल्यांकनका आधारमा स्वीकृत भएको पुनर्कर्जामध्ये प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी पुनर्कर्जा वाग्मती प्रदेशमा गएको छ । कुल पुनर्कर्जामा वाग्मती प्रदेशको हिस्सा ५२.१५ प्रतिशत रहेको छ । पुस मसान्तसम्ममा वाग्मतीमा सात अर्ब १० करोड पाँच लाख रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको छ ।

सबैभन्दा कम पुनर्कर्जा भने सुदूरपश्चिम प्रदेशका ऋणी कम्पनीहरूलाई नै करोड ८४ लाख रुपैयाँ स्वीकृत भएको छ । कुल पुनर्कर्जामा सुदूरपश्चिम प्रदेशको हिस्सा मात्र ०.७२ प्रतिशत रहेको छ । यस्तै, गण्डकी प्रदेशमा १८.२४ प्रतिशत हिस्सा छ । गण्डकी प्रदेशका कम्पनीहरूले दुई अर्ब ४८ करोड ३६ लाख रुपैयाँ बराबरको पुनर्कर्जाका लागि स्वीकृति पाएका हुन् ।

प्रदेश नम्बर–१ मा एक अर्ब ६६ करोड ४३ लाख अर्थात् १२.२२ प्रतिशत, मधेस प्रदेशमा ४९ करोड २६ लाख अर्थात् ३.६२ प्रतिशत, लुम्बिनी प्रदेशमा एक अर्ब ७७ करोड ५९ लाख अर्थात् १३.०४ प्रतिशत पुनर्कर्जा स्वीकृत हुँदा कर्णाली प्रदेशमा भने ग्राहक ऋणी मूल्यांकनको आधारमा स्वीकृत भएको कर्जा छैन ।

Blog Post Ad

यता, क्षेत्रगत रूपमा हेर्दा पर्यटन क्षेत्रमा सर्वाधिक ६ अर्ब ७९ करोड २२ लाख अर्थात् ४९.८९ प्रतिशत, जलविद्युत् क्षेत्रमा तीन अर्ब २४ करोड पाँच लाख अर्थात् २३.८० प्रतिशत, उत्पादनमूलक क्षेत्रमा एक अर्ब २० करोड २९ लाख अर्थात् ८.८४ प्रतिशत पुनर्कर्जा स्वीकृत भएको छ ।

यस्तै, शिक्षा क्षेत्रमा ८५ करोड ४९ लाख, अस्पतालमा ६८ करोड ७० लाख, निर्माण व्यवसायमा ३३ करोड ७५ लाख, खाद्य उत्पादनमा २० करोड, यातायातमा १५ करोड २२ लाख, व्यापारमा नौ करोड ३२ लाख, कपडामा पाँच करोड ४७ लाख रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको केन्द्रीय बैंकले जनाएको छ ।

Blog Post Ad Blog Post Ad