Ad Area

स्थानीय पालिकाको चुनाव मिति घोषणा गर्न ढिलाई, आज समन्वय समिति बैठक बस्दै


दाङ ७, माघ । स्थानीय पालिकाको चुनाव गर्ने गरी मिति घोषणा गर्न ढिलाई भएको छ । निर्वाचन आयोगको आग्रह अनुसार वैशाख या ढिलोमा जेठको पहिलो हप्ताभित्र निर्वाचन गर्नुपर्ने भएपनि सरकार अझै अलमलमा परेको छ ।

आयोगले यसअघि नै वैशाखमा पालिकाको चुनावको मिति तोक्न सरकारसमक्ष प्रस्ताव गरिसकेको छ । वैशाखमा चुनाव गर्नको लागि माघ पहिलो हप्ता अर्थात आज शुक्रबारसम्ममा मिति घोषणा भइसक्नुपर्छ । तर, पालिकाको चुनाव वैशाखमा गर्ने कि सार्ने भन्ने विषयमा सरकार अलमलको अवस्थामा छ ।

पहिले सङ्घीय चुनाव गर्नुपर्ने प्रस्ताव आएपछि सत्तारुढ गठबन्धनले चुनावका विभिन्न तीन विकल्पमा छलफल अगाडि बढाएको छ । थप छलफलका लागि उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज शुक्रबार बोलाइएको छ । पछिल्लोपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पालिकाको चुनाव सारेर पहिले सङ्घीय चुनाव गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर सत्तारुढ दल र कांग्रेसभित्रै यस विषयमा सहमति जुटेको छैन ।

सत्तारुढ गठबन्धनमा वैशाखमा पालिकाको चुनाव गर्ने, वैशाखमै संसद्को चुनाव गर्ने कि तीनवटै तहको चुनाव वैशाख या मंसिरमा गर्ने भन्ने विकल्पमा छलफल भएको छ । वैशाखमा सङ्घीय संसद्को चुनावमा जाँदा प्रतिनिधि सभा विघटन गर्नुपर्ने र यो फेरि अदालती विषय बन्न सक्ने भएकाले गठबन्धनका नेताहरुले निर्णय गर्न सकेका छैनन् ।

माओवादी केन्द्र अध्यक्ष दाहालले एमालेले संसद् अवरुद्ध पारिराखेकाले वैशाखमा सङ्घीय चुनाव गर्दा उपयुक्त हुने प्रस्ताव यसअघि बसेको समन्वय समितिको बैठकमा राखेका थिए । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र दाहालसँग भएको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले वैशाख या मंसिर जुनसुकै महिनामा गरे पनि खर्चका हिसाबले तीनवटै तहको चुनाव एकैपटक गर्दा उपयुक्त हुने बताएका थिए ।
वैशाखमा सङ्घीय चुनाव गर्नु उपयुक्त हुने नेता नेपालको पनि धारणा छ । तर वैशाखमा गर्नुपर्ने पालिकाको चुनाव पछि धकेल्दा गलत राजनीतिक सन्देश जाने भन्दै प्रधानमन्त्री देउवा के गर्ने भन्ने निर्णयमा पुगेका छैनन् । संविधानविद्हरुले पनि पालिकाको चुनाव पर धकेल्नु संविधानको मर्म विपरीत हुने बताउँदै आएका छन् । जसका कारण सत्तारुढ दललाई थप दवाव परेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad