Ad Area

पत्रे खोला पुलको काम कहिले सकिएला ?


घोराही १०, माघ । ए दाई ! यो पुल कहिले बनि सक्छ ? जवाफ आउँछ, खोई त बनाउँदै छौँ क्यारे, कहिले सकिन्छ । पत्रकारको फेरि प्रश्न दोहोेरिन्छ, दाई यो पुल बनाउन लागेको त धेरै वर्ष भएन र ? एप्रोचको काममा व्यस्त दाईले जवाफ फर्काउँछन्, अँ भयो, हामीले भ्याएसम्म गरेकै छौँ । ठेकेदारले जे भन्छन् त्यही गर्ने हो । यो पाराले कहिले काम सकिन्छ, थाहा भएन । पत्रखोलामा बन्दै गरेको पुलको एप्रोच निर्माणमा व्यस्त रहेका कामदार खोपेन्द्र घर्तीसँगको छोटो सम्वादमा पत्रेखोला पुलको काम पत्र पत्रमा भईरहेको प्रष्टै झल्किन्छ ।

अर्का भुपेन्द्र बुढाले सरासर काम भएमा अझै दुई महिना बढी एप्रोच निर्माणमै समय लाग्ने बताए । सिमित जनशक्तिबाट भईरहेको कामले पुलको काम कहिले सकिन्छ भन्न नसकिने उनले बताए । पुलको अझै महत्वपूर्ण काम सम्पन्न हुन बाँकी नै छ । जसले गर्दा घोराही तुलसीपुर भएर यात्रा गर्ने जोकोहीले अझै सास्ती भोग्नुपर्ने हुन सक्छ । बंगलाचुलीका १० जना मजदुरले पत्रेखोलामा अहिले काम गरिरहेका छन् । उनीहरुले भर्खर पुलको दुवैतर्फ एप्रोचको लागि भित्ता उठाउने काम गरिरहेका छन् ।

करीव ८ वर्ष अघिबाट शुरुभएको बिना पिलरको पुल बनाउन यतिका वर्ष लागेकामा दुनियाँ चकित मात्रै छैन, यही पुल निर्माणमा भएको ढिलाईले वर्षायाममा सास्ती खेपेका यात्रुले दिएको सराप पनि उत्तिकै छ । साँच्चिकै दुख खेपेका जति सबैले दिएको सराप निर्माणकर्तालाई लाग्ने भए यो पुल उहिल्यै बनिसक्थ्यो तर, जसले जे भनोस् के मतलव भने जस्तै पुल निर्माण कम्पनीले आफ्नै शैलीमा काम गर्दा यो पुल सर्वाधिक चर्चामा परेको हो । पुल निर्माणको काम छिटो शुरु गर्न तत्कालीन प्रमुख जिल्ला अधिकारीहरु गोविन्दप्रसाद रिजाल, जयनारायण आचार्य, रामबहादुर कुरुम्वाङसमेतले निकै पापड बेल्नुपर्यो । तर, काममा सिन्को भाँचिएन । वर्षायाममा त्यही पुलका कारण कतिपयले पाउन दुख पाए । निर्माण कम्पनीका स्थानीय प्रतिनिधिलाई साईटमै बोलाएर काम चाँडो गर्ने प्रतिवद्धता जनाएपनि एउटा कानले सुन्ने अर्को कामले उडाउने बाहेक केही हुन सकेन ।

घोराही–तुलसीपुर सडकखण्डमा निर्माणाधीन पुल आर्थिक वर्ष २०७०–०७१ देखि शुरु भएको हो । प्रिस्टेज पुल निर्माणका लागि दुई छेऊँका पिलर सात वर्षसम्म ठिङ्ग उभिए । गत वर्षबाट व्यापक दवावका बीच पुलमाथि ढलानको काम भएको छ । दुई वर्षभित्र पुल निमार्णको काम सक्ने गरी २०७१ असोज ११ गते शंकरमाली निर्माण सेवा प्रालिले ठेक्का सम्झौता पाएको थियो । तर, पटक–पटक म्याद थप गर्दा पनि अझैसम्म पनि निर्माण पूरा हुन सकेको छैन । पुलको निर्माणको जिम्मा लिएर काम थालेको ८ वर्ष बितिसक्दासम्म कामको हविगति लाजमर्दो अवस्थामा छ ।

केही वर्षसम्म त निर्माण कम्पनीले सुपर स्ट्रक्चर डिजाइन पेश गर्न नसक्दा नै पुल निर्माण अघि बढ्न सकेन । करिब चार करोड लागतमा निर्माण भईरहेको पत्रेखोला पुल समयमा निर्माण हुन नसक्दा जिल्लावासीले वर्षेनी सास्ती व्यहोर्नुका साथै दैनिक ओहोरदोहोर गर्ने सवारी साधन तथा पैदलयात्रुले दुख पाईरहेका छन् । सडक डिभिजन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर अमिर सुवेदीले एकमहिना भित्रमा पुलमाथिबाट गाडी संचालन हुने गरी काम भैरहेको बताए पनि यो पत्याई हाल्ने अवस्था छैन ।

अबको एक महिनाभित्रमा पुलमाथिबाट गाडी संचालनमा ल्याउने गरी पुल आसपासको काम भैरहेको उनले बताए । इन्जिनियर सुवेदीका अनुसार एप्रोचको काम सकेपछि माटो भर्ने काम हुन्छ, त्यसपछि गाडी संचालनमा ल्याउन सकिनेछ । तर, दश जनाबाट भईरहेको कामको गतिले त्यस्तो अवस्था देखाएको छैन ।

Blog Post Ad

नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले ठेक्का सम्झौता मितिको स्वतः चालु आर्थिक वर्षको चैत मसान्तसम्मका लागि म्याद थप गरिदिएकाले म्याद सकिनुअघि काम सम्पन्न गर्नुपर्ने निर्माण कम्पनीको दायित्व भएको उनी बताउँछन् । यस्तो अवस्था यसअघि पनि पटक पटक भएकाले निर्माण कम्पनीलाई म्याद सकिनु र नसकिनुमा खासै दवाव परेको पाईएको छैन । पुल निर्माणको ८ वर्षमा भौति प्रगति करीव ८० प्रतिशत रहेको ईन्जिनियर सुवेदीले बताए ।

पत्रेखोला पुल निमार्णको जिम्मा शंकरमाली निर्माण सेवा कम्पनीका प्रमुख पदमराज शर्मालाई छ । दाङबासी भएपनि शर्माको जिल्लावासीको पीडालाई सेवामा बदल्नेप्रति कुनै पनि उत्तरदायित्व र कर्तव्यबोध नहुँदा कारण पुल निमार्णको काममा ढिलासुस्ती भएको सबैको साझा भनाई छ ।

शर्माले जिम्मा पाएको घोराहीको कटुवा खोलाको अवस्था पनि उस्तै छ । निर्माण थालनी भएको ६ वर्षपछि मात्रै सो पुल संचालनमा आएको हो । तर, केही समयमै पुलमा क्षति पुगेको छ । केही दिनअघि पुलको बिच भाग उप्किएर ठूला खाल्डा परेपछि सामान्य ढलानको काम भएको छ । त्यसबाहेक अझै पुलको दायँबायाँ गर्नुपर्ने काम हुन सकेको छैन । पुल निर्माणको सबै काम सम्पन्न भई नसकेकाले हस्तान्तरण पनि भएको छैन । पछिल्लो पटक पुल निर्माणका लागि थपिएको म्याद चैत्रमा सकिन लागेको छ । यो अवस्थामा द्रुतगतिमा काम हुनुपर्ने हो । समय अगावै काम सम्पन्न गरेर हस्तान्तरण गर्न तर्फ निर्माण व्यवसायीको ध्यान जान नसक्दा नागरिकले अनाहकमा दुख पाउन बाध्य छन् ।

Blog Post Ad Blog Post Ad