Ad Area

कृषि अनुदानको पहुँच बढाउन माग


दाङ, १४ असोज ।

घोराही उपमहानगर ६ का नापीचरण चौधरीले कृषि पेशा अंगालेको धेरै वर्ष भयो । उनले कृषि पेशामा गरेको लगानी अनुसारको प्रतिफल पाउन भने सकेका छैनन् । कृषि पेशा व्यावसायिक बनाउन चुनौति रहेको उनको अनुभव छ ।

घोराही ४ का पिटर बुढा मगर पनि सहकारी संस्थामार्फत कृषि पेशामा जोडिएको धेरै वर्ष भैसक्यो । उनले कृषिमा क्रान्ति ल्याउन अहिले पनि कहीँ न कहीँ कृषक र स्थानीय सरकारबीच कृषिको दीगोपनाका लागि समन्वय अभाव रहेको बताए । कृषि उत्पादनको प्रभावकारीता बढाउँदै उपजको बजारीकरण गर्न र प्राविधिक ज्ञानको निरन्तरता दिन स्थानीय सरकारले भूमिका खेल्नु पर्ने उनको भनाई छ ।

घोराही ९ का अर्का कृषक कृष्णबहादुर बस्नेतले कृषकहरुलाई वितरण गरिने अनुदानलाई अझ विकेन्द्रिकरण गर्न माग गरे । उनले अनुदान वितरणको काम वडा तहमा लैजानु पर्ने बताए । वडा तहसम्म कार्यक्रम लैजान सकेमा वडामा बसोबास गर्ने वास्तविक कृषकले लाभ लिन सक्ने र उनीहरुसँग स्थानीय सरकारको पहुँच अझ बढ्ने सुझाव दिए ।

दायित्व नेपाल जनप्रशासन फेलोशिप अन्तर्गत अनुदान लिएर कृषि पेशा गर्दै आएका कृषक र घोराही उपमहानगर पालिकाबीचको छलफल कार्यक्रममा कृषकहरुले कृषिमा गरिएको लगानी र श्रमको मुल्य पाउनै चुनौति रहेको साझा धारणा राखेका थिए । कतिपयले टनेल खेतीको बारेमा आधारभूत ज्ञान नहुँदा श्रम र लागतसमेत उठाउन हम्मेहम्मे परेको अनुभव सुनाएका थिए । बुधबार घोराहीमा भएको उक्त कार्यक्रममा अनुदान लिएर कृषि पेशालाई व्यावसायिक बनाउने लक्ष्य राखेका घोराही ६ का जग्गुलाल चौधरीले तरकारी खेती गर्दा त्यसको उत्पादन लिने बेलामा हुने क्षतिले निराश बनाउने गरेको अनुभव सुनाउँदै आफुहरुलाई यसमा दक्ष बनाउन प्राविधिक ज्ञान जरुरी रहेको बताए । घोराही ६ कै अर्का कृषक गंगाराम चौधरीले प्राविधिक ज्ञान र सुचना प्रविधिको पहुँचमा अभिवृद्धि हुन सकेको खण्डमा आफुहरुलाई कृषि पेशाबाट हात धुनु पर्ने अवस्था नआउने बताए ।

घोराही उपमहानगरपालिका आर्थिक समिति संयोजक एवं वडा नम्बर १ का वडा अध्यक्ष राममणि पाण्डेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा घोराही १६ कपासीका सुरज चौधरीले विचार भने अलि बेग्लै थियो । उनले घोराही उपमहानगरपालिकाले कृषि क्षेत्रमा गरेको लगानीलाई अझ प्रभावकारी बनाउन र युवाहरुलाई कृषि पेशालाई व्यावसायिक बनाउन हालको कार्यक्रमलाई परिमार्जन गर्दै केही गर्छु भन्ने सोँच र योजना बनाएका युवा पंंिक्तलाई प्राथमिकतामा राख्न सुझाव दिए ।

Blog Post Ad

उनले उपमहानगरले युवा लक्षित योजना ल्याएर कृषिबाटै उपमहानगरको नामलाई माथि उठाउन कदम चाल्नु पर्ने बताए । ‘अनुदान पाउन र कृषि सम्बन्धि सुविधाका लागि विदेश गएर आउनु पर्ने नीति गलत रहेको भन्दै काम गर्छु भन्ने सबैसँग रकम हुँदैन तर ईच्छाशक्ति भएका हामी जस्ता युवाहरुका लागि अवसर दिनुपर्छ, उनले भने, ‘गोजीमा दाम नभएपनि काम गर्न सक्ने, योेजना भएका र केही गर्छु भन्ने उद्देश्य लिएका युवालाई प्राथमिकता दिनुपर्छ ।’

उनले उपमहानगरलाई कृषिको बजारीकरण गर्न एकीकृत खरिद बिक्री केन्द्र बनाउन माग गरे । यसरी काम गर्दा समन्वय, बजारीकरण र नियमन गर्ने काम उपमहानगरले गर्नु पर्ने बताए । यति गर्न सकेको खण्डमा कृषकले श्रम र लागत मुल्य पाउने अनि उपभोक्ताले पनि सहुलियत मुल्यमा बस्तु पाउने बताए ।

कार्यक्रममा सहभागी कृषकले उठाएका समस्या, गुनासालाई सम्बोधन गर्न नगरप्रमुख नरुलाल चौधरीले उपमहानगरको शाखा, महाशाखा, कार्यपालिकाका तर्फबाट हर प्रयास जारी रहेको बताए । उनका अनुसार कृषकहरुलाई कृषि पेशाबाटै उदाहरणीय बनाउँदै उनीहरुको जीनवनस्तर माथि उठाउन धेरै राम्रा कार्यक्रम संचालन गर्दै आएको बताए ।

काम गर्ने क्रममा कहिले काँही शत प्रतिशत नतिजा आउन नसकेपनि यसलाई राम्रो कसरी बनाउन सकिन्छ भनेर सबै लाग्नु पर्नेमा जोड दिएका छन् । कृषि पेशा सम्मानित पेशा भएको बताउँदै निर्वाहमुखीबाट माथि उठ्दै व्यावसायिक बन्न र अरुभन्दा पृथक कसरी गर्न सकिन्छ भनेर योजना कार्यान्वनमा ल्याउन अपिल गरे । उनले कृषि र पशु शाखामार्फत सबै खालको समन्वय हुने गरेको र कहीँ कतै समस्या भए आगामी दिनमा ती कमजोरी नदोहोेरिने वचन दिएका छन् ।

कृषि प्राविधिक अभाव नरहेको भन्दै नगरप्रमुख चौधरीले प्राविधिक ज्ञानका लागि आवश्यक समन्वय गर्न पनि अपिल गरे । कार्यक्रममा उपप्रमुख सीता सिग्देल न्यौपाने, नगरप्रवक्ता एवं वडा नम्बर १८ का वडा अध्यक्ष भरत अर्याल, वडा नम्बर ९ का वडा अध्यक्ष मानबहादुर बस्नेतलगायत जनप्रतिनिधि उपस्थित थिए ।

Blog Post Ad Blog Post Ad