Ad Area

हृदयघातका कारण ३५ प्रतिशतभन्दा बढीको मृत्यू


दाङ, १४ असोज ।

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले स्वस्थ नागरिक, स्वस्थ उपमहानगरको परिकल्पना साकार पार्ने अभियानमा लागि परेको बताएका छन् । विश्व मुटु दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा नगर प्रमुख चौधरीले स्वस्थ नागरिकबाट मात्रै स्वस्थ समाज सम्भव हुने कुरामा उपमहानगर प्रष्ट रहेको बताए ।

कोरोना महामारीका कारण मानिसमा परेको नकारात्मक प्रभावले घोराही उपमहानगका धेरै काम प्रभावित हुन पुगेको स्मरण गराउँदै उनले स्वास्थ्य क्षेत्र उपमहानगरको पहिलो प्राथमिकतामा रहेको प्रष्ट पारे । अहिले सर्नेभन्दा नसर्ने रोगका बिरामी उल्लेख्य रुपम बढ्दै गएकाले नगरबासीहरुको स्वास्थ्य कसरी स्वस्थ बनाउन सकिन्छ भन्ने विषयमा नीतिगत रुपमा कार्यक्रम गरी सचेतना फैलाउनेदेखि व्यक्तिगत स्वास्थ्यमा सम्बेदनशील बनाउने अभियानहरु भईरहेको बताए । मुटु बचाउन मानिसले आफ्नो जीवन शैलीलाई ख्याल गर्नुपर्ने उनको जोड छ ।

घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नेपाल परिवार नियोजन संघ, सामी परियोजनालागत विभिन्न संघसंस्थाले सहकार्य गरेका थिए । सो अवसरमा परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनालले मुटु सम्बन्धि समस्याका बिरामीको संख्या अहिले हर घरमा देखा पर्न थालेकाले यो सबैको चिन्ताको विषय बन्नुपर्ने बताए । यसका लागि सबै नागरिकलाई बेलैमा सचेत बन्न सिकाउनु आवश्यक रहेको तर्क गरे ।

कार्यक्रममा घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले मानिसको जीवन शैलीमा आएको परिवर्तनले मुटु सम्बन्धि रोग बढ्दै गएको बताए । भौतिक उपभोगमा लागेका मानिसले व्यायाम नगर्ने, अस्वस्थकर खानपीन गर्ने, नियमित स्वास्थ्य परिक्षण नगर्ने जस्ता बानीले मुटु सम्बन्धि रोगले नराम्रोसँग जडा गाड्न लागेको भन्दै चिन्ता व्यक्त गरे ।
हरेक वर्षको सेप्टेम्बर २९ तारिखलाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएकोमा यो वर्ष ‘युज हर्ट टु कनेक्ट’ भन्ने नाराका साथ मनाईएको छ ।

दिवसका अवसरमा रक्तचाप परिक्षण तथा परामर्श पनि प्रदान गरिएको थियो । नेपालमा पछिल्लो समय अस्वस्थ तथा असन्तुलित खानपान, विलासी जीवन र लापरबाहीका कारण मुटु रोगका बिरामी बढ्दै गएका छन् । नेपालमा २५ प्रतिशत अर्थात झण्डै ७५ लाख नागरिक कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित रहेका सरकारी तथ्याङ्क छ ।

Blog Post Ad

मुटु रोगीको संख्या नेपालमा १० वर्षयता ५ गुणाले बढेको छ । १०–१५ वर्ष अगाडि ५० वर्ष नाघेपछि मात्र मुटुसम्बन्धी समस्या देखिने गरेकोमा अहिले युवा र बालबालिकालाई नै मुटु सम्बन्धी समस्या देखिन थालेको चिकित्सकहरुको भनाई छ । धेरैले आफ्नो मुटुलाई माया गर्न नजान्दा रोगले च्यापेको मुटुरोग विशेषज्ञको भनाई छ । खानपान र जीवनशैलीमा ध्यान दिए, वर्षमा एक पटक भए पनि स्वास्थ्य परीक्षण गरे मुटु रोगबाट बच्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको संख्या बर्सेनि साढे २ करोड पुग्ने अनुमान गरेको छ ।

नेपाल लगायतका विकासोन्मुख देशमा हृदयघात भएर ज्यान गुमाउनेको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ । नेपालमा झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ भने २० प्रतिशतलाई कोलेस्टेरोल छ । यस्तै, १० प्रतिशतलाई मधुमेह छ । जाँड रक्सी तथा चुरोट सुर्ती नखाए, चिल्लो, पिरो, बोसो, भुटेका र तारेका खानेकुरा नखाए मुटुलाई जोगाउन सकिन्छ । मुटु बचाउन हरियो सागपात धेरै खाने, प्रशस्त पानी पिउने, पोषणयुक्त सन्तुलित खाना खाने र दैनिक शारीरिक व्यायाम गर्ने हो भने मुटु रोगबाट बच्ने सकिने डाक्टरहरुको सुझाव छ ।

Blog Post Ad Blog Post Ad