आज ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस, २४ भन्सार कार्यालयमा नगदरहित कारोबार थालनी

घोराही १२, माघ । आज ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने गरिन्छ ।
विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक जनवरी २६ मा यो दिवस मनाउन थालिएको हो । दिवसको मुख्य नारा डिजिटल प्रविधि मार्फत भन्सार सेवालाई चुस्त बनाउने रहेको छ । सरकारले आजदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार अनलाइन प्रणाली पूर्णरुपमा लागू गर्ने भएको छ । विदेशबाट वस्तु आयात गर्दा भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई क्यासलेस र पेपरलेस बनाउने उद्देश्यले सबै भन्सार कार्यालयमा अनलाइन प्रणाली पूर्णरुपमा लागू गर्न लागेको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताए।
भन्सार नाकामा व्यापार सहजीकरण गर्ने काम गरिरहेकाले थप व्यवस्थित बनाउन अनलाइन प्रणाली लागू गर्न लागेको उहाँको भनाइ छ । एकद्वार प्रणालीपछि व्यवसायीले भोग्दै आएका झन्झटबाट मुक्त हुने विभागको दाबी छ । भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नु गैरकानुनी मानिन्छ ।
यसैबीच, सुख्खा बन्दरगाहको सफल परीक्षणसँगै देशभरका २४ थप भन्सार कार्यालयहरुबाट यो सेवा आज बुधबारदेखि शुुरु गर्ने तयारी भएको भन्सार विभागले जनाएको छ । ‘व्यापारीले भन्सार बिन्दुमा ल्याइ पुर्याइएको माल वस्तुको सबै प्रकारको भुक्तानी अब घरबाटै गर्न सकिने भएको छ,’ भन्सार विभागका निर्देशक एवम् सूचना अधिकारी पुण्यविक्रम खड्काले भने, ‘यसले भन्सारको कार्य सम्पादनमा चुस्तता आउने छ भने सेवाग्राहीको समय बचतसँगै सुरक्षाको पनि प्रत्यभूति हुनेछ ।’
राजस्व प्रयोजनका लागि भन्सार विन्दुसम्म बोकिने नगदका कारण आईपर्ने झमेला पनि अन्त्य गर्ने उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा विभागले आयातबाट मात्रै ४ खर्ब २० अर्ब ९७ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको थियो । यस्तो राजस्व चालु आर्थिक वर्षको ६ महिनामा २ खर्ब ५७ करोड ६० लाख रुपैयाँ हाराहारी छ । यस्तो सबै राजस्व संकलन अब अनलाइन प्रणालीमा आधारित हुने विभागले जनाएको छ ।
विभागकाअनुसार नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको समन्वयमा भन्सारको आसिकुँडा प्रणालीमा भुक्तानी संयन्त्रको संयोजन गरिएको छ । विद्युतीय भुक्तानी गर्दा प्रयोगकर्ताले आफूलाई उपयुक्त उपकरण छनोट गरी त्यसमा यूजर नाम र पासवर्ड प्राप्त गर्नुपर्ने भन्सार विभागले जनाएको छ ।
जसपछि विद्युतीय भुक्तानी गर्न प्रयोगकर्ताले नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपीएस, मोवाइल एप, कपोरेट पे, एनसीएचएल बैक सेन्टर तथा नेपाल क्लियरिङ हाउससँग आवद्व रहेका डिजिटल वालेटहरुमार्फत राजश्व दाखिला गर्न सक्नेछन् । प्रयोगकर्ता व्यवसायी तथा व्यक्तिहरुले उपयुक्त जुन कुनै उपकरणमार्फत आफ्नो बैंक खाताबाट भन्सारमा तिर्नुपर्ने राजस्व रकम भन्सार कोष खातामा जम्मा हुने गरी भुक्तानी गर्न सकिने छ ।
सुख्खाबन्दरगाहको सफल परीक्षणपछि आज बुधबारदेखि देशभरका थप २४ भन्सार कार्यालयमा यो सेवा शुुरु हुने भन्सार विभागले जनाएको छ । अनलाइनबाट भन्सार राजस्व तिर्ने कार्य विस्तारको बुधबार अर्थमन्त्री जर्नादन शर्माले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट उद्घाटन गर्नेछन् । त्यसपछि विमानस्थल भन्सारसहित, विराटनगर र बिरगन्ज, भैरहवा लगायतका ठुला भन्सारसहितका एकीकृत भन्सार प्रणाली आसिकुँडा वल्र्डसँग आवद्ध भन्सारमा यो प्रणाली लागू हुने विभागले जनाएको छ ।