Ad Area

राष्ट्रियसभा सदस्य निर्वाचन आज, लुम्बिनीमा ६ जनाबीच प्रतिष्पर्धा


घोराही १२, माघ । राष्ट्रिय सभामा एक महिनापछि रिक्त हुन लागेका लुम्बिनीका ३ सहित १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदैछ ।

बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन गर्न लागिएको हो । सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

जस अनुसार, लुम्बिनी प्रदेशबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदैछ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका आज बुधबार हुन लागेको लुम्बिनी प्रदेशको रिक्त तीन सदस्य पदको उपनिर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा तोकिएको मतदानस्थलमा सबै बन्दोबस्तीको काम पूरा भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । आज बुधबार हुन लागेको उपनिर्वाचनको दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा निर्वाचनका लागि दुईवटा मतदान केन्द्र तोकेर आवश्यक सबै तयारी गरिएको हो ।

मतदानका लागि मतपत्रको व्यवस्था, मतदान सामग्री, स्वास्थ्य सामग्री, मतदानस्थलमा घेरा हाल्ने, बार लगाउने, कोरोना मापदण्ड पालनाका लागि दुरी कायम गर्न रेखा बनाउने तथा बुथ निर्माणलगायतको सबै काम मंगलबार नै सकिएकाले आज निर्धारित समयमै मतदान हुने उहाँले बताउनुभयो । आवश्यक सुरक्षाको तयारी पनि पूरा भएकाले अब मतदान गर्न मात्रै बाँकी रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराईले जानकारी दिए । यसअघि निर्वाचन आयोगले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न गराउन मतदाताहरुलाई सचेत गराउने तथा दलका प्रतिनिधिहरुलाई अनिवार्य खोप कार्ड लिएर मतदानमा सहभागी हुन पनि अपिल गरिसकेको उनको भनाई छ ।

निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन प्रत्येक मतदान केन्द्रमा ९ जनाका दरले कर्मचारी खटाउने व्यवस्था मिलाईएको छ । हरेक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र अरु कर्मचारी गरी ९ जना खटिने भएका छन् । ‘निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न कोभिडको जोखिमलाई मध्येनजर गरेर दुई वटा मतदान केन्द्र बनाएर आवश्यक स्वास्थ्य सावधानी अपनाएका छौँ,’ मुख्य निर्वाचन अधिकृत थापाले भने– ‘मतदानका लागि प्रदेशसभा सदस्य, पालिकाका प्रमुख–उपप्रमुखका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था छ ।’

दुईवटा मतदान केन्द्रहरुमध्ये मतदान केन्द्र ‘क’ मा प्रदेश सभा सदस्यहरु, मतदान केन्द्र ‘ख’ केन्द्रमा पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षका लागि छुट्याइएको छ । कहिल्यै रिक्त नहुने परिकल्पनाका साथ बनेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा यस पटक लुम्बिनी प्रदेशबाट तीन जनाको पदावधि सकिँदैछ । महिलामा कोमल वली, अन्यमा दृगनारायण पाण्डेय र दलितमा रामलखन चमारको स्थानमा पदपूर्ति गर्न निर्वाचन हुन लागेको हो । जसका लागि गठनबन्धनका तर्फबाट तीन जना र प्रतिपक्षी दल एमालेका तर्फबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

Blog Post Ad

जस अनुसार प्रतिपक्षी नेकपा एमालेबाट लुम्बिनीमा अन्यतर्फ दाङका रामदयाल गुप्ता, महिलातर्फ बाँकेकी भारती उपाध्याय खनाल र दलिततर्फ गुल्मीका कृष्ण सुनार उम्मेदवार बनेका छन् । गठवन्धनको तर्फबाट नेपाली कांग्रेसबाट अन्यमा बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट महिलामा राजेन्द्रलक्ष्मी गैरे र जनमोर्चाको तर्फबाट दलित उम्मेद्वार तुलप्रसाद विश्वकर्माले उमेद्वारी दर्ता गराएका छन् । लुम्बिनी प्रदेश सभाका प्रदेशसभा सदस्य ८१ जना र १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख उपप्रमुख गरी २ सय १५ जना गरी २ सय ९६ जना मतदाताहरुले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुखको मतभार १८ निर्धारण गरिएको छ ।

Blog Post Ad Blog Post Ad