इन्द्रेशको सहारा, ढेब्लीको शैलुन
दाङ, १५ माघ । पोलियोको संक्रमणले इन्द्रेश मुसलमानको शरीरको कम्मर भन्दामुनिको भाग चल्दैन । कम्मरमुनिको अंग नचल्दा उनी उभिन सक्दैनन् । त्यसैले इन्द्रेश कुर्सीमा बसेर कपाल र दाह्री काट्ने काम गर्छन् ।
त्यही पेशाबाट जम्मा भएको पैसाले दैनिक गुजारा चलाउँछन् । दाङको गढवा गाउँपालिका–१ कोइलावास निवासी उनी हाल घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित बालमन्दिर विद्यालय नजिकै बसेर कपाल काट्दै आएका छन । ५९ बर्षीय इन्द्रेशले कपाल र दाह्री काटेर आएको पैसाले दैनिकी चलाउने गरेको बताए । ‘अरु काम गर्न सक्दैन, मैले बसी–बसी कपाल र दाह्री काट्ने काम गर्दै आएको छु’, उनले भने– ‘त्यसैबाट आएको पैसाले दैनिकी चलाउँछु ।’ उनलाई त्यसैमा जीवन चलाउन थप सहयोग गरेको छ, अपांग भत्ताले ।
उनका अनुसार उनका बुबा अलि अहमद मुसलमानले घोराहीमा नाई व्यवसाय गरेका थिए । यही पेशाका लागि कोइलावासबाट उनका बुबा ५० बर्षअघि घोराही आएका थिए । बुबासँगै घोराही आएका इन्द्रेशले पनि विस्तारै कपाल काट्न सिके । दाह्री काट्न सिके । शुरुमा बुबालाई पसलमा काममा सघाउन लागि कापल र दाह्री काट्न सिकेका इन्द्रेशलाई अहिले जीवन चलाउने माध्यम नै बनेको छ ।
तर समयको परिवर्तनसँगै बजारका विभिन्न सडकहरुमा थपिएका नयाँ–नयाँ नाई पसलहरुले उनको दैनिक गुजरा चलाउने माध्यममा अप्ठेरो पारेको उनलाई अनुभव छ । तर अनुभव भएर पनि के गर्ने पैसा नहुँदा एउटा घरको सटरमा व्यवसाय गर्दै आएका उनी अहिले सडकको छेउमै रहेको ढेव्लीमा व्यवसाय गर्न बाध्य भएका छन् । ‘आजभोलिका केटाहरु स्ट्याण्डर पसल खोज्छन, ढेब्लीमा आउँदैनन्’, उनले भने– ‘त्यसैले कमाई समेत राम्रो छैन ।’ आफ्नो पसलमा गाउँबाट आएका र बुढा मानिसहरु आउने गरेको उनको अनुभव छ ।
अहिले काम चल्दा दैनिक ४÷५ सय कमाई हुने गरेको इन्द्रेश बताउँछन् । ‘दिन राम्रो रहेछ भने कपाल, दाह्री काट्ने मानिसहरु पनि आउँछन, जसले गर्दा कमाई पनि हुन्छ’, उनले भने– ‘नत्र तँ यस्तै हो, १÷२ सयमै चित्त बुझाउँनुपर्छ ।’ बुबाले जोडेका दुई वटा कुर्सी राखेर नाई काम गर्दै आएका उनी यो काम छोडेर अरु काम गर्न समेत मनले नमान्ने गरेको बताउँछन् । बसेर काम गर्नलाई अरु काम सजिला हुन्थे होलान् तर मनले नाई कामलाई छोडेर अरु काम गर्न मान्दैनन् ।
त्यसैले दैनिकी चलाउनका लागि समेत यही काम गर्दै आएको छु । ‘बुबाले गरेको काम हो, उहाँले सिकाउनुभयो र अहिले दैनिकी चलाउने माध्यम बनेको छ’, उनले भने– ‘थोरै भए पनि पैसा कमाई हुनेर बुबाको पेशाको पनि सम्मान हुने भएकाले कपाल काट्ने काम गर्दै आएको छु ।’ यही पेशाबाट आएको पैसाले कोठा भाडा तिर्नेदेखि खान लाउनलाई समेत अहिलेसम्म चलेको उनी बताउँछन् । औपचारिकरुपमा कक्षा नलिएका उनलाई आफू कहिले बिरामी भए भन्ने समेत थाहा छैन । तर उनलाई यति याद छ उनी सानो हुँदा नै उनको कम्मरमुनिको अंग नचल्ने भएको हो । ‘समय तँ ठ्याक्कै थाहा छैन तर म सानो छँदा नै मेरो कम्मरमुनिको भाग नचल्ने भएको हो’, उनले भने– ‘त्यसैले अहिले म हिँड्डुल गर्न सक्दैन, बसेरै काम गर्ने गर्दछु ।’ सानोमा पोलियो रोगका कारण आफू अपांग बन्न पुगेको उनी बताउँछन् ।
उनका अनुसार शुरुमा अनुहारमा ठेउला देखिएको थियो । बिस्तारै त्यो शरीरभरी नै फैलियो, पछि त्यही कारण नै कम्मरमुनिको भाग नचल्ने भएको हो । उनी भन्छन्– ‘उपचारका लागि घोराहीसँगै भारतका विभिन्न ठाउँमा गयौँ तर राम्रो भएन ।’ त्यसपछि आफूले अपांग जीवन बिताउँदै आएको उनी बताउँछन् । अभागीलाई भाग्यले पनि ठग्छन् भनेजस्तै आफ्नो जिन्दगीमा भएको उनी बताउँछन् । ‘अपांग भए पनि पहिले बिहे गरेको थिए, बिहेपछि एउटा छोरा र छोरी पनि जन्मिए’, उनले भने– ‘तर धेरै दिन बाँच्नै सकिनन्, सानैमा बिते ।’ त्यसको केही बर्षपछि श्रीमतीको पनि मृत्यु भयो । त्यसपछि एक्लिएका इन्द्रेश एक्लैछन् ।