Ad Area

द्वन्द्वपीडितका समस्यालाई सम्वोधन गरिदिन आग्रह


दाङ,१५ माघ । द्वन्द्वपीडित परिवारले भोग्दै आएका समस्यालाई सम्वोधनसँगै सहज जीवनयापनका लागि सिपमुलक कार्यक्रमको व्यवस्था गरिदिन स्थानीय सरकारसँग आग्रह गरेका छन् ।

समावेशी संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्वन्द्व समाधानको लागि सामुदायिक क्षमता अभिवृद्धि अन्तरगत महिला कानुन र विकास मञ्च, इन्टरनेशनल अलर्ट र टिपिओ नेपालकोे संयुक्त आयोजनामा भएको द्वन्द्वपीडितहरूको आवश्यकता पहिचान, सम्बोधन तथा स्थानीय सरोकारवालाहरुको भूमिका विषयक संवाद कार्यक्रममा सहभागीहरुले समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

उनीहरुले सशस्त्र द्वन्द्वका क्रममा राज्य तथा गैरराज्यका तर्फबाट पीडित भएपनि अहिले दुवै पक्ष सरकारमा भएकाले पीडितका समस्या समाधान गरिदिन आग्रह गरे । साथै उनीहरुले आफ्नो तल्लो सरकारका रुपमा रहेको वडाले सीप मुलक तालिमको व्यवस्था गरिदिए आफुहरुलाई जीविकोपार्जनदेखि बाहिर काम गर्न जानका लागि समेत सहज हुने बताएका थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष रविलाल घर्तिले द्वन्द्वपीडित परिवारका समस्या समाधानदेखि सिपमुलक तालिमका माध्यमबाट सक्षम बनाउनका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले द्वन्द्वपीडित परिवारलाई लक्षित गरेर कार्यक्रम ल्याउन नसकेपछि विभिन्न कार्यक्रमका माध्यमबाट पीडित परिवारका सदस्यहरुलाई जोड्न सकिने बताएका थिए । कार्यक्रममा वडा सदस्य केशव गिरीले वडा कार्यालयका तर्फबाट द्वन्द्वपीडित परिवारलाई थप सेवा

दिनका लागि उपमहानगरपालिकासँग समन्वय गरेर अस्थायी परिचयपत्रको व्यवस्थाका लागि पहल गर्ने बताए । उनले राज्यले द्वन्द्वपीडितको स्पष्ट रुपमा पहिचान खुलाउन सके आफुहरुलाई सेवा दिन सहज हुने बताएका थिए । कार्यक्रमका बारेमा महिला कानुन र विकास मञ्चका प्रतिनिधि अधिवक्ता गोमा महराले जानकारी दिएकी थिइन ।

कार्यक्रममा द्वन्द्वपीडित परिवारका जंगबहादुर जिसी, केशव घर्तिमगर,गणेश योगीले आफ्ना कुराहरु राखेका थिए । कार्यक्रमको सहजीकरण संक्रमणकालिन न्यायका लागि जिल्ला सञ्जालका संयोजक प्रकाश चौधरीले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad