Ad Area

भेद्भावको कुलतमा हामी


विवेक खड्का
विभिन्न वृत्तहरुमा समाज बदल्ने कुरा सुनिरहँदा अनि कहिलकाहीँ आफैले यस विषयमा बोलिरहँदा केहि जटिल प्रश्नहरुमा घोत्लिन मन लाग्छ । के हामीलाई साँच्चिकै बदल्नुपर्ने कुरा चाहीँ के हो र किन हो भन्ने थाहा छ त ? अनि अर्को त्यो भन्दा पनि महत्वपूर्ण प्रश्न, के हामी समाज बदल्न मन बचन र कर्मले नै साँच्चिकै तयार छौँ त ?

एउटा समाज कयौँ सामाजिक र सांस्कृतिक चरित्रहरु बोकेर बाँचिरहेको हुन्छ । यस्ता चरित्रहरु परिवर्तशील हुन्छन् । भाषा, शिक्षा, धर्म, रितीरिवाज, संस्कार, चाडपर्व, सामाजिक तथा सांस्कृतिक मुल्य र मान्यताहरु हाम्रा सामाजिक चरित्रहरु हुन् जसले हाम्रो पनि चरित्र, व्यवहार, सोच, संवेग, गतिविधि, आस्था, विश्वास आदिलाई निर्धारण गर्छ । मानिसले मानिसलाइ गर्ने हेला, मायाँ, घृणा, विभेद, शोषण, मान वा अपमान चाहे जे सुकै होस सबै यिनै सामाजिक वा सांस्कृतिक चरित्रहरुकै उपज हुन । यो कुरा राज्य सत्तामा बसेको शक्तिशाली व्यक्ति होस या अति सामान्य व्यक्ति, सबैमा उत्तिकै लागू हुन्छ ।

सामाजिक तथा सांस्कृतिक चरित्रले एकातिर उक्त समाजमा बस्ने मानिसहरुलाई एउटा अलग पहिचान दिएर अगाडी बढ्न मद्दत गर्छ भने अर्कोतिर कतिपय चरित्रहरु यस्ता हुन्छन् जसले समाजको प्रगतिको गतिलाइ सुस्त र गतिहिन बनाउँछ । हाम्रो वरिपरी घट्ने जातीय भेदभाव, महिला हिंसा, अपाङ्गताको आधारमा गरिने दुर्व्यवहार वा विभेद, भ्रष्टाचारका घटनाहरुमा कतै न कतै हाम्रो समाजिक वा सांस्कृतिक चरित्र जोडिन्छ ।

भन्नका लागि त हामी सजिलैसँग कुरिती, अंधविश्वास वा गलत आचरण भनेर भनिदिन्छौँ तर यि कुराहरु कुनै व्यक्ति वा समूहमा कहाँबाट आँउछन् र यस्ता घटना समाजमा निरन्तर घटिरहनुका पछाडी के कुराले काम गरिरहेको हुन्छ भन्ने थाहा पाउन समाज विकासको क्रम र यसले निर्माण गरेका विभिन्न चरित्रहरुलाई अध्ययन नगरि सुख छैन । म यहाँ आज एउटा मात्र चरित्रको बारेमा चर्चा गर्ने प्रयास गर्छु जो विभेदसँग जोडिएको छ ।

सबै मानिसहरु समान छन्, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन …लगायतका धेरै वाक्यांश र शब्दावलीहरुलाई साहित्य, भाषण र बहसमा दैनिकजसो पाइरहँदा र कुनै भेदभावका घटना घट्नासाथ आक्रोश सहित बाहिरिने अभिव्यक्तिहरु पढिरहँदा वा सुनिरहँदा यस्तो लाग्छ, हाम्रो समाजमा भेदभाव गर्ने त के सुन्न सक्ने मान्छे पनि छैनन् । विभेद विरुद्धका हाम्रा नियम कानुनहरु हेर्दा यस्तो लाग्छ, हाम्रो समाजमा भेदभाव एक पल पनि टिक्न सक्दैन ।

लामो समयदेखि यस भूमीमा भेदभावका विरुद्ध संघर्ष गर्ने क्रान्तिकारीहरुको लर्को हेर्दा यस्तो लाग्छ यो देशमा भेदभाव उहिल्यै हराइसक्नुपर्ने हो । सरकारी र गैरसरकारी निकायले विभेद विरुद्ध समाजको चेतना माथि उठाउन गरेका काममा खर्चिएको समय र लगानी हेर्दा यस विषयमा अब सिक्न र जान्न बाँकी केही छैन जस्तो लाग्छ ।

Blog Post Ad

तर हाम्रो सामाजिक यथार्थ त अर्कै छ । जात, धर्म, रंग, लिंग, उमेर, आर्थिक अवस्था, विचार, आस्था, अपाङ्गता, भूगोल, पेशा, पद, शक्ति, काम सबैका आधारमा गरिने विभेद र यसका हजारौँ रुपहरु यो समाजका हरेक सम्बन्धका पत्रपत्रमा विद्यमान छन् । हामी यस्ता विभेदहरु अवलोकन, अनुभव र विश्लेषण मात्र गरिरहेका हुन्नौ त्यसमा सहभागी भइ योगदान पनि गरिरहेका हुन्छौँ । लामो समयदेखी दिगो निरन्तरता पाएको भेदभावको वृक्ष यति फैलिएको छ कि यसका हाँगाविँगाहरु थप विशिष्टिकृत हुँदै गएकाछन् ।

हामी हरेकदिन विभेदका तथ्याड्ढहरुसँग खेलिरहेका हुन्छौँ । बलात्कारका कथा, छाउपडीको व्यथा, जात र धर्मको कारणले गरिएको हत्या, ज्यालामा ठगिएका मजदुरको चर्चा, ठगिएको कर्णाली, तराइको गरिवी, पहाडे र मधेसीको विवाद, रितीरिबाज र संकृतिको नाममा अपराध वा शोषण, अपाङ्गताको आधारमा असमान व्यवहार, पद र शक्तिको लागि वर्ग विभाजन, धनीले गरीबमाथि गर्ने व्यवहार आदि आदि ।

समाजमा कुनै भेदभावका घटना हुनासाथ हामी प्राय के भयो ? कहाँ भयो ? कति भयो ? र कसले गर्यो ? जस्ता समाजमा चाँडै उत्तेजना र आक्रोश फैलाउन मद्दत गर्ने प्रश्नको उत्तर खोज्न हतारिन्छौँ । जातको आधारमा कतिजनाको हत्या भयो ? लैंगिक विभेदको कारण कतिले आत्महत्या गरे ? बोक्सीको आरोपमा कति मारिए ? नेपालको कुन क्षेत्रमा धेरै बलात्कार हुन्छ ? बालबिवाह कुन ठाउँमा धेरै हुन्छ ? लगायतका प्रश्नका उत्तर बोकेर संचार माध्यम, राज्यका निकाय र गैरसरकारी संस्थाहरु बसिरहेका हुन्छन् ।

तर समाजमा विभेदको निरन्तरता किन छ ? किन पटक पटक हामीले नवराज वि.क. र निर्मला पन्तको नियति भोगिराख्नु पर्छ ? किन महिलाहरु बोक्सीको आरोपमा बारम्बार मारिनुपर्छ ? जीवनको उत्तरार्धमा ज्येष्ठ नागरिकले किन भेदभाव भोग्नुपर्छ ? कुन खास सामाजिक चरित्रले सँधै हाम्रो समाजलाई २१ औँ सताब्दिमा पनि विभेदको दुष्चक्रमा घुमाइरहन्छ ? किन हाम्रा कानुन, संरचना र संयन्त्रहरु यो दुष्चक्रसँग लड्न सक्दैनन ? लगायतका प्रश्नहरुको उत्तर पाउन कठिन छ ।

म आज हाम्रो समाजको एउटा मात्र खास चरित्रको कुरा गर्छु जसलाई महसुस गर्न कुनै अध्ययन गर्नु नपर्ला तर समाजिक भेदभाव बढाउनमा यसको निकै ठूलो भूमिका छ । त्यो चरित्र हो ‘उँचो–निचो‘ वा ‘ठुलो–सानो‘ को भावना । यो साझा चरित्र हाम्रा हरेक सामाजिक सम्बन्धहरुका पत्रपत्रमा विद्यमान भएको हुनाले झट्ट सुन्दा एकदमै सामान्य लाग्न सक्छ तर यसको सामाजिक तथा सांस्कृति अर्थ र प्रभावको व्यापकतालाई हेर्दा त्यति सामान्य पनि छैन । समाजिक भेदभावको निरन्तरतामा यसको योगदान ठूलो छ ।

इतिहासमा हाम्रो समाजले भोगेका राजा र रैतिको सम्बन्ध सामाजिक दृष्टिकोणबाट हेर्दा ठूलो र सानोको सम्बन्ध हो । किनभने हाम्रो सामाजिक–सांस्कृतिक अर्थमा ‘ठूलो‘ भनेको बलियो, शासक, खास गरेर शक्तिशाली भन्ने हो भने ‘सानो‘ भनेको कमजोर, शासित र शक्तिहिन भन्ने हो । तर सानो र ठूलोको यो मनोविज्ञान राजा र रैतिमा मात्र सिमित नभएर घर, परिवार, नातागोता, जात, रंग, लिंग, धर्म, संस्कार, आर्थिक अवस्था लगायत सामाजका हरेक सम्बन्धहरुमा प्रशारित भयो ।

धर्म, शक्ति, अनुशासन र राजनीतिका आडमा मानिसलाई भेदभावका विषयहरुमा प्रशिक्षित मात्र गराइएन दैनिक जीवनमा ठूलो र सानो जात, पुरुष ठूलो महिला सानो, बाबुआमा ठूलो छोराछोरी सानो, धनी ठूलो गरिब सानो, पढेको मान्छे ठूलो नपढेको मान्छे सानो, गुरु ठूलो चेला सानो, उच्च घरान निचो घरान, मालिक ठूलो दास सानो भन्दै अभ्यास गरियो । हरेक अभ्यासमा ठूलो वा सानोको सामाजिक तथा सांस्कृतिक अर्थ एउटै थियो ।

राजालाई कानुन नलाग्ने अभ्यासको समानान्तर अभ्यास समाजका अरु ठूला भनिने वर्गहरुमा पनि लागू हुँदै गयो । कुनै खास सामाजिक सम्बन्धमा भएको चरम विभेदले कसैलाई सारै दुख्दा इतिहासका विभिन्न कालखण्डमा यसका विरुद्धमा आबाजहरु उठेका र बलिदानीहरु भएको भएतापनि समाजका जरा गाडिसकेको ठूलो– सानोको साझा भावनाका विरुद्धमा आवाजहरु उठेनन् किनभने यो भावना हाम्रो जीवनशैली बनिसकेको थियो ।

दशैँमा टीका लगाउँदा ’ठूलो मान्छे हुनु र आफूभन्दा ठूलालाई मुख नचलाउनु’ भनेर आशिर्वाद थाप्ने हरेकले समाजमा आफू ठूलो हुनुको परिभाषा यिनै कयौँ विभेदका रुपभित्र खोज्थे र जे पाउँथे त्यहि अपनाउँथे । परिवर्तन जति नै भएपनि ठूलो र सानोको सांस्कृति र सामाजिक अभ्यासबाट बाहिर निस्कन नसक्दा विभेद हाम्रो जीवनको अभिन्न अंग बन्यो । विभेदको अभ्यासले दाजु–भाइ, दिदि–बहिनी, छोरी–बुहारी, छोरा–छोरी, ज्वाइँ–छोरी, छोरा–बुहारी कुनै सम्बन्धलाई समान हुन दिएन ।

शिक्षक–विद्यार्थी, नेता–जनता, कर्मचारी–सेवा ग्राही, पढेको–नपढेको, कमाउने–नकमाउने, कालो–गोरो, गाउँमा बस्ने सहरमा बस्ने, घरधनी–बहालबाला सबै ठाउँमा विभेद सहितको असमानता स्थापित गरियो । हामीले भेदभावको अभ्यासलाई लाउने लुगा, काम र खानेकुरा देखी रुप, रंग, उमेर, जन्म, तिथी मिति, बोटविरुवामा पनि बाँकी राखेनौँ । उच्च काम निचो काम, तागाधारीले खाने र मत्वालीले खाने, बाहुनले खाने र दलितले खाने, फलानाले लाउने धोती ढिस्कानाको टोपी, यो वृक्ष रोपे लच्छिन त्यो रोपे अलच्छिन ।

हामीले शरीरको अंगहरु पनि बाँकी राखेनौँ । दाइने हात शुभ देब्रे अशुभ, यो अंग उँचो त्यो अंग निचो, दायाँ र बायाँ अंङ्ग फरफराउँदा आउने परिणाम, महिलाले पुरुषको बायाँतिरै बस्नुपर्ने । धर्मका नाममा हुने विभेदहरुलाई विशिष्टिकृतमात्र गरेनौँ त्यसको इम्प्रोभाइजेसन गर्न थाल्यौँ । राम्रो धर्म र नराम्रो धर्म, अरुले पकाएको खाने र नखाने, छोराछोरीले पकाएको खाने र नखाने, बलि दिने र नदिने । हाम्रो समाजिक जीवन विभेदको कुलतमा फँस्दै गएपछी हामी यो विना बाँच्न नसक्ने भयौँ । यो कुलतको विषले भगवानलाई पनि बाँकी राखेन ।

’मेरा भगवान सबैभन्दा ठूला’ मात्र भनेनौँ भगवानलाई खुसी पार्न प्राणीको बलि दिँदै अपराधको भागिदार पनि बनाउन भ्यायौँ । त्यसैले भेदभावको जडलाई हामीले जातमा र लिंगमा मात्र खोज्ने प्रयास गर्यौँ भने गलत हुनेछ । हरेक जात र लिंग फेरी अर्को विभेदको चपेटामा छ । हामी प्रत्येकले कुनैवेला विभेद खप्छौँ भने कुनैवेला विभेद गर्छौँ । कतिपय विभेदका रुपहरुमा त हामी सम्मान, गौरव र इज्जत देख्ने गर्छौँ । हाम्रा आवाज, कानुन र संयन्त्रहरुले काम गर्न नसक्नुको पछाडीको मुल कारण र हामीले चाहेको विकास र समृद्धिको मुख्य बाधक पनि यहि हो ।

समाजलाई विभेदमुक्त गर्न हामी प्रत्येक व्यक्ति, समूह र संस्था जिम्मेवार हुनुपर्छ । हरेकले आफ्नो मस्तिष्क, शरीर, घरपरिवार र नातागोताबाट सुरु गर्नुपर्छ र हाम्रा सम्बन्धका हरेक पत्रमा रहेका विभेदका रुपहरुसँग लड्नुपर्छ । विभेदको जरासम्म पुग्न हरेक प्रकृतिका विभेदका विरुद्धमा ‘किन ?’ भन्ने प्रश्न गर्दै त्यसको उत्तर खोज्नु पर्छ ।

विभेद विरुद्ध ‘किन ?’ भन्ने प्रश्न गर्न र ‘नाइँ’ भन्ने उत्तर दिन सबैभन्दा पहिले आफैँसँग हिम्मत गर्नुपर्छ अनि मात्र हामी अरुसँग लड्न तयार हुन्छौँ । हामी आफूभित्र रहेको विभेदलाई जहिलेसम्म प्रतिप्रश्न र अस्वीकार गर्न सक्दैनौँ तबसम्म अरुलाई प्रश्न र अश्वीकार गर्ने शक्ति हामीमा हुँदैन । यदि गरिहालियो भने पनि त्यो आडम्बर मात्र हुनेछ ।

Blog Post Ad Blog Post Ad