Ad Area

वर्तमान नेतृत्वको मन्त्री मण्डलले नै आगामी चुनावसम्म प्रदेश सरकार चलाउने


घोराही १७, माघ । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले वर्तमान नेतृत्वको मन्त्री मण्डलले नै आगामी चुनावसम्म सरकार चलाउने बताएका छन् । आईतबार दाङको घोराहीमा आयोजित एक कार्यक्रममा सहभागी भएको बेला उनले कुरा गर्दै देशर गठबन्धनको सरकारले निरन्तरता पाएको बेला साझा सहमतिका माध्यमबाट प्रदेश सरकारले दीर्घकालीन रुपमा निरन्तरता पाउनु पर्ने मान्यताका साथ अघि बढेको बताए ।

सत्ता परिवर्तनका बेला नेकपा माओवादी केन्द्रले शुरुको ८ महिना त्यसपछि ८ महिना नेपाली कांग्रेसले प्रदेश सरकारको नेतृत्व गर्ने धारणा रहेको भएपनि हालको राजनीतिक परिवेश अनुसार मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको मन्त्री मण्डलले नै सरकार चलाउने दावी गरे ।
‘हिजोका दिनमा गठबन्धन गर्दा जुन धारणा बन्यो त्यो ऐतिहासिक थियो, त्यसकै जगमा हामी सरकारमा छौँ, तर अहिलेको परिवेश भनेको गठबन्धन दिगो बनाउने र सरकार चलाउने हो, त्यसैले सरकारको नेतृत्व परिवर्तन र मन्त्री हेरफेर अहिलेको प्राथमिकतामा छैन,’ मन्त्री थारुले भने, ‘यही नेतृत्वको सरकारबाटै आगामि चुनावसम्म अघि बढ्छौँ ।’

उनका अनुसार, सातै प्रदेशमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा समाजवादी पार्टीले नेतृत्व गरिरहेकाले यसैलाई आधार मानेर गठबन्धनको सत्ता साझेदारी बढेको हुँदा नेतृत्व परिवर्तन सान्दर्भिक नरहेको तर्क गरे । सरकार संचालनका लागि मन्त्री मण्डल बाँडफाँड गरिएकाले सरकारको काम प्रभावकारी बनाउन र पूँजीगत खर्च बढाउन सरकार केन्द्रित रहेको उल्लेख गरे ।

फरक प्रसंगमा, उनले प्रदेश सरकारको स्थायी राजधानी कार्यान्वयनको काम द्रुतगतिमा अघि बढेको बताए । प्रदेश राजधानी कार्यान्वयन गर्न मन्त्रालय स्थानान्तरण गर्नेदेखि पूर्वाधार विकासका कामले निरन्तरता पाएको बताए । उनका अनुसार, मन्त्री थारुले नेतृत्व गर्नुभएको स्वास्थ्य तथा जनसंख्या परिवार कल्याण मन्त्रालय अबको एक सातामा कर्मचारीसहित स्थायी राजधानी देउखुरीमा स्थानान्तरण हुनेभएको छ ।

केही महिनाअघि राप्ती गाउँपालिका वडा नम्बर ५ को कार्यालयमा मन्त्रालयको ब्यानर टाँगिएको छ । वडा कार्यालय अर्को ठाउँमा व्यवस्थापन गरि मन्त्रालय स्थापना गरिएको हुँदा मन्त्रालयमा कार्यरत सबै कर्मचारीहरुलाई बुटवलबाट दाङ स्थानान्तरण हुने गरि व्यवस्थापनमा जुट्न गरेको आग्रह अनुसार सचिव, कर्मचारीहरुसहित स्थायी राजधानीबाट काम हुनेभएको छ ।

‘३ वर्षसम्म अस्थायी मुकामबाट काम भईरहेकोमा सबै कर्मचारी, सचिवहरुको बसाइँ पनि उतै भईरहेको थियो , अब सचिव कर्मचारीहरु पनि दाङ आउने अवस्थामा पुगिसक्नुभयो,’ उनले भने, ‘अरु मन्त्रालयको काम पनि यसैगरी अघि बढेको छ । चाँडोभन्दा चाँडो स्थायी राजधानीमा सबै मन्त्रालय ल्याउने काम भईरहेको छ ।’

Blog Post Ad

पर्यटन, ग्रामीण तथा सामाजिक विकास मन्त्रालयको काम पनि निकट दिनमै अघि बढ्ने उनको धारणा थियो । राप्ती प्राविधिक शिक्षालय सरस्वती मावि गोबरडिहामा स्थानान्तरण प्रकृया अघि बढेकाले अरु पर्यटन, ग्रामीण मन्त्रालयसहित अरु मन्त्रालय पनि चाँडै आउने विश्वास दिलाए ।

Blog Post Ad Blog Post Ad