Ad Area

नास्ता पसलहरुमा अवैध घरेलु मदिरा


दाङ, १५ असोज ।

घोराही बजारमा सञ्चालित नास्ता पसलहरुमा अवैध घरेलु मदिरा फेला परेको छ । घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको अगुुवाईमा जिल्ला प्रशासन कार्यालय, दाङ उद्योग बाणिज्य संघ, जनप्रतिनिधि, प्रहरीलगायतको अनुगमन टोलीले शुक्रवार घोराही उपमहानगरपालिका–१५ अन्तर्गत जिल्ला समन्वय समितिले निर्माण गरेका सटरहरुमा सञ्चालित पसलहरुको अनुगमन गर्दा अधिकांस पसलहरु दर्ता बिनै सञ्चालन भएका र खाजा पसलहरुमा अवैध मदिरा फेला परेको थियो ।

दर्ता विना सञ्चालन गरिएका नास्ता पसलहरुमा मदिरा भेटिएपछि अनुगमन टोलीले पसल सञ्चालकलाई मदिरा फाल्न लगाइएको थियो । त्यसैगरी अनुगमन टोलीले घोराही उपमहानगरपालिकाको अगाडी सञ्चालन भएका अधिकांस पसलहरु नै दर्ता नभएको पाइएपछि अनुगमन टोलीले ७ दिनभित्र प्रक्रिया पुरा गरेर सम्वन्धीत ठाउँमा दर्ता गर्न निर्देशन दिइएको घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख श्रीधर अधिकारीले जानकारी दिएका छन ।

‘अनुगमनका क्रममा घोराही उपमहानगरपालिका अगाडी जिल्ला समन्वय समितिले निर्माण गरेका अधिकांस सटरहरुमा सञ्चालित पसलहरु दर्ता बिना नै सञ्चालन गरिएको पाइएका छन्’, शाखा प्रमुख अधिकारीले भने,‘घोराही बजारमै दर्ता बिना सञ्चालन भएका पसलहरुलाई ७ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिएका छौ । उनले दर्ता प्रक्रियामा नआउने पसलहरुलाई बन्द गरिने समेत बताए ।

त्यस्तै अन्य फोटो कपी सेन्टर, सर्भिस सेन्टर, कस्मेटिक पसललगायतहरु पनि दर्ता नभएर सञ्चाालन भएको, पसलको बोर्ड नराखेको, सरसफाईको अवस्था कमजोर देखिएकाले सचेत गराउने काम गरिएको उनले बताए । ‘पहिलो पटक गल्ती भेटिएकाले सचेत बनाउने मात्र काम गरेका छौ’,उनले भने,‘पुन अनुगमनका क्रममा गल्ती भेटिएर कानुन अनुसार कारवार्ही गर्नेछौ । घोराही उपमहानगरपालिकाभित्र व्यवसाय गर्ने व्यवसायीहरुलाई कानुनी दायरामा ल्याउने र उपभोक्ताहरुलाई अखाद्य बस्तु खानबाट बचाउने उद्देश्यले नियमित अनुगमनलाई तिव्रता दिएको छ ।

जसअन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १५सँगै वडा नं. ५, १४, १७ लगायतका विभिन्न वडाहरुमा अनुगमनलाई निरन्तरता दिदै आएको छ । अनुगमनमा प्रमुख अधिकारीको नेतृत्वमा घोराही उपमहानगरपालिका वडा नं. १५ की वडा सदस्य कृष्ण राना, दाङ जिल्ला उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल, जिल्ला प्रशासन कार्यालयका कृष्ण चौधरी, घोराही उपमहानगरपालिका राजश्व शाखाका कृष्ण केसी, घोराही उपमहानगरपालिका ओमप्रकाश बस्नेत, प्रहरी जयप्रकाश यादवलगायतको सहभागिता रहेको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad