Ad Area

कांग्रेसले अर्काको बैसाखी टेकेर जंघार तर्ने कल्पना गर्नु हुँदैन : केन्द्रिय नेता गौतम


कुनै पनि विषयमा स्पष्ट बोल्ने र जनताका समस्यालाई बुझेर राजनीति गर्ने युवा नेता हुन संजय गौतम । बर्दिया जिल्लामा रहेर कांग्रेसको राजनीतिलाई तिखार्दै लगेका गौतम नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । देशको समसामयिक विषय, सत्ता गठबन्धन र नेपाली कांग्रेसको आगामी राजनीतिक गन्तव्य र आसन्न आम निर्वाचनका सन्दर्भका विषयमा सातावार्ताका लागि पूर्व सिंचाइमन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य संजय गौतमसँग पत्रकार लिलाधर वलीले गरेको कुराकानीको सार संक्षेप ।

 कांग्रेस स्थानीय तहको निर्वाचन समयमै गर्ने पक्षमा किन डराएको छ ?

 स्थानीय तहको निर्वाचन समयमै गर्नुपर्छ भन्ने सोचमा छौँ । अहिले कुनै पनि वहानामा स्थानीय तहको निर्वाचनलाई पर लग्नुपर्छ भन्ने काठमाडौंमा जसरी कुरा भइरहेको छ त्यो गर्नु हुँदैन र तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने धारणा हो । कांग्रेसको पनि त्यही धारणा हो तर सबै पार्टीलाई मिलाउनु पर्ने भएकाले केही समस्या भएको छ ।

निर्वाचनबाट डराएको भने होइन । केपी शर्मा ओलीले दुईतिहाइ बहुमतको सरकार चलाउँदै गर्दा राज्यका सम्पूर्ण संरचना ध्वस्त बनाउनुभयो । संवैधानिक आयोगहरू सिध्याउनुभयो र देशलाई अधिनायकवादको बाटोमा लगेर जानुुभयो भन्ने पक्षमा उभिएका छौँ । ओलीले दुई–दुई पटक संसद भङ्ग गरेकै कारण विशिष्ट परिस्थितिमा यो सरकार बनेको थियो । यो सरकार संविधान र पद्धतिको रक्षाका लागि बनेको हो ।

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ भन्ने स्पष्ट दृष्टिकोण हुनुपर्छ । अद्यावधिक निर्वाचनबाट पार्टी पछि हट्नु हुँदैन । संविधानले प्रदत्त गरेको अधिकारलाई व्यवस्थापन गर्न सकेनौँ भने अर्को दुर्घटनाको खतरा समेत रहन सक्छ ।

 निर्वाचनमा जाने भन्नुहुन्छ, निर्वाचनमा जाँदा कांग्रेस गठबन्धनमा जान्छ कि सिङ्गल जान्छ ?

Blog Post Ad

 गठबन्धन विशिष्ट परिस्थितिमा निर्माण भएको हो । कांग्रेसले चाहेर बनेको गठबन्धन होइन र सरकार पनि होइन । देशको एउटा विशिष्ट परिस्थितिमा संविधान सिध्याउने, सिस्टमलाई डिजर्भ गर्ने र देशलाई अधिनायकवादको बाटोमा अघि बढाउन खोजेपछि त्यसबाट देशलाई बचाउनका लागि गठबन्धन निर्माण भएको हो ।

तात्कालीन सरकारले संसद् नै समाप्त पार्ने असंवैधानिक गतिविधिहरू एकपछि अर्को गरी सञ्चालन गर्दै जाँदा लोकतन्त्रवादी राजनीतिक दलहरू मुकदर्शक बन्न सकेनौँ । सबै पार्टीका नेताहरूको समर्थनमा कांग्रेसले सरकारको नेतृत्व गरेको हो तर अहिले पनि प्रमुख विपक्षी दल हिजो आपूmले संसद् विघठन गरेको ठिक थियो भन्ने पक्षमा लागेको छ । त्यसैले आपूmहरूले कुनै पनि हालतमा संसद् सुचारु गर्नुपर्छ भन्ने पक्षमा छौँ ।

त्यसका लागि विपक्षीसँग नियमित छलफल गरेर संसद्लाई चलाउन सरकारले ध्यान दिनुपर्छ । निर्वाचनमा गठबन्धन गरेर जानुपर्छ भन्ने छैन । कांग्रेस स्थानीय तहदेखि संघीय निर्वाचनमा एक्लै चुनाव लड्न सक्छ । कांग्रेसले कसैको बैसाखी टेकर जंघार तर्ने कल्पना गर्नु हुँदैन । सरकार गठबन्धनले चलाउने र निर्वाचन छुट्टाछुट्टै रूपमा जानुपर्छ भन्ने धारणा हो ।

 नेपाली कांग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारले गति लिन सकेन भन्ने आरोप छ, यसमा तपाईंको धारणा के छ ?

 नेपाली जनताले चाहेअनुसार सरकारले काम गर्न सकिरहेको छैन, यो सत्य हो । सरकारको गतिहीन अवस्था देखिएको छ । संसद् अवरुद्ध छ । उपसभामुख बन्न सकेको छैन । न्यायलयमा विवाद कायमै छ । यसरी देश चल्न सक्दैन । देश चलाउनलाई संसद् सञ्चालन गर्नुपर्छ । त्यसका लागि सरकारले विपक्षी दलसँग नियमित छलफल गर्न आवश्यक छ । विपक्षी पार्टीका नेताहरूसँग विशेष पहल गरेर भए पनि संसद् चलाउन ध्यान दिनुपर्छ ।

 १४औँ महाधिवेशनमा तपाईंको समूहले नेतृत्व परिवर्तनको एजेण्डा थियो तर सफल हुन सक्नुभएन । यो अवस्थामा कसरी अघि बढ्ने सोच बनाउनुभएको छ ?

 पक्कै पनि १४औँ महाधिवेशनमा हामीले परिवर्तनका लागि सोच बनाएका थियौँ । हामी यथास्थितिमा सन्तुष्ट थिएनौँ । पार्टीको नेतृत्व परिवर्तनको पक्षमा थियौँ । त्यसका लागि एउटा विचार समूहको लिड गरिरहेका थियौँ । त्यो विचार समूहमा रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंहलगायतका नेताहरू बस्नुहुन्छ र नेतृत्व परिवर्तन गछौँ भन्ने विश्वास थियो ।

तर, रामचन्द्र पौडेल, शशांक कोइरालाको मौनातासँगै प्रकाशमान सिंह फरक ठाउँमा जाँदा हामीले राजनीतिक रूपमा हार व्यहोरेका छौँ तर विचार विचारका रूपमा जितेका छौँ । बलियो मत र दृष्टिकोणलाई कायम गरेका छौँ । धेरै युवा साथीहरूलाई जिताएका छौँ । त्यसले कांग्रेसलाई नयाँ कांग्रेस बनाउन भूमिका खेल्ने छ । पार्टी नेतृत्वलाई गुटको मात्र नभएर सम्पूर्ण नेता तथा कार्यकर्ताको सभापति बनाउनका लागि हामीले भूमिका खेल्नेछौँ ।

सभापति विधानसम्वत रूपमा सबैसँग समन्वय र सहकार्य गरेर अघि बढ्नुहुनेछ भन्ने विश्वास छ । यो वा त्यो वहानामा फरक दृष्टिकोण राख्ने साथीहरूलाई पार्टीमा पेलेर, मिचेर जानुहुने छैन भन्ने लागेको छ । अब पार्टीमा सबै मिलेर आगामी दिनको चुनौतीका सामना गर्नुपर्नेछ भन्ने लागेको छ ।

 कांग्रेसको गएको महाधिवेशनबाट धेरै नयाँ पुस्ता केन्द्रीय सदस्यदेखि तल्लो तहसम्म जिम्मेवारीमा आउनुभएको छ । अब आउने निर्वाचनमा स्थानीय तहदेखि संघीय निर्वाचनसम्म कांग्रेसलाई जिताउन कसरी पार्टीले काम गर्नुपर्ला ?

 महाधिवेशनबाट पार्टीको केन्द्रीय तहदेखि प्रदेश, जिल्लादेखि स्थानीय तहसम्मको नेतृत्वमा धेरै युवाहरू निर्वाचित हुनुभएको छ । यसले पार्टीभित्रको पोलुशनलाई हटाउनेदेखि पार्टीलाई सशक्त, चलायमान र नयाँ दिशा दिनका लागि महत्वपूर्ण भूमिका खेल्नेछ तर नयाँ पुस्तालाई कसरी अघि बढाउने भन्ने नेतृत्वको हातमा भर पर्छ । यथास्थितिमा मात्रै पार्टीलाई चलाउन खोजियो भने पार्टी अघि बढ्न सक्दैन ।

अहिलेका चुनौतीहरूको सामना गर्न सक्दैन । सभापतिले सबै विचार र समूहका मान्छेलाई मिलाएर सबैका विचार सुनेर पार्टीलाई अघि बढ्नुपर्छ । निर्वाचनका क्रममा सहयोग गर्ने वा नगर्ने भनेर विभेद गर्नुभन्दा सबैलाई मिलाएर पार्टीलाई एकढिक्का बनाउन भूमिका खेल्नुपर्छ । दुई पटक सभापति भइसकेको मान्छे र पाँच पटक प्रधानमन्त्री भएको मान्छेले अब पार्टीको सभापति मात्र होइन राष्ट्रिय नेता बन्ने गरी कांग्रेसलाई जनता सक्षम लोकप्रिय र विश्वास गर्ने पार्टी बनाउने गरी कार्यक्रम बनाएर अघि बढ्नुपर्छ । त्यसका लागि पक्कै पनि नयाँ पुस्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।

 महाधिवेशनपछि कांग्रेसको गुटगत राजनीति हराउँछ भने पनि पुनः गुटगत राजनीतिको सुरुवात भएको देखिन्छ, यसले पार्टीलाई फेरि पनि असर गर्ने देखिन्छ नि ?

 पार्टीको निर्वाचनमा सुरुमा धेरै समूह भए पनि अन्ततः दुई समूह थियौँ । त्यो हिसाबले दुई समूह पार्टीमा छ । एउटा नेतृत्व परिवर्तनको एजेण्डा लिने र एउटा पुरानै नेतृत्वलाई ठिक छ भन्ने समूह थियो । हाम्रो समूहको नेतृत्व डा. शेखर कोइरालाले गर्नुभयो र हामी उहाँकै नेतृत्वमा चुनावमा सहभागी भयौँ ।

निर्वाचन प्रक्रियामा हाम्रो समूह पराजित भएकाले अब पार्टी सभापतिलाई हामी सहयोग गरेर अघि बढ्छौँ तर अधिवेशनपछि पार्टीको परारम्भमा जुन खालको प्रवृति देखिएको छ, त्यो खालको परिस्थिति निर्माण भए हामीले संस्थाभित्र कांग्रेसको सेन्ट्रल कमिटीभित्र प्रतिवाद गर्छौँ । भापतिले सबैलाई समेटेर जानुपर्छ भन्ने पक्षमा छौँ । स्थानीय तहको निर्वाचनमा पनि जित्नेले टिकट पाउनुपर्छ भन्ने पक्षमा छौँ ।

हामी गुटगत राजनीति गरेर ६०÷४० को भागबण्डा गर्ने पक्षमा छैनौँ । भागबण्डाको अन्त्य हुनुपर्छ, कार्यकर्तामा न्याय र विवेकको प्रदर्शन नेतृत्वले गर्नुपर्छ भन्नेमा छौँ । न्यायगत र संस्थागत रूपमा भएन भने अर्काे परिस्थिति पनि निर्माण हुन सक्छ ।

 एमसिसी पास गर्नु हुँदैन भनेर नेपाली जनताले आवाज उठाइरहेका छन्, यो अवस्थामा वर्तमान सरकारले संसद्मा एमसिसी पास प्रस्ताव दर्ता गर्ने प्रयासमा छ । के नेपाली कांग्रेस एमसिसी पास गर्ने पक्षमा हो ?

 राष्ट्रलाई अहित र क्षति गर्ने गरी एमसिसी पास गर्नु हुँदैन । त्यो गर्ने पक्षमा कांग्रेस पनि छैन तर कांग्रेसले गरेको सम्झौता भएकाले यसमा व्यापक छलफल गर्न आवश्यक छ । एमसिसी संसद्मा टेबल भएपछि व्यापक छलफल हुन्छ । त्यहीँबाट पास गर्ने वा नगर्ने भन्ने थाहा हुन्छ ।

पार्टीको आधिकारिक धारणा पार्टी सभापति तथा वर्तमान प्रधानमन्त्रीले नै बोल्नुहुन्छ तर एमसिसीको वास्तविकता के हो ? के अहिले भनेजस्तै एमसिसी पास गरेपछि देशलाई बेफाइदा छ त ? त्यो बारेमा हामी सबैले पढ्न पाउनुपर्छ । त्यसमा धारणा राख्न पाउनुपर्छ । देशलाई बेफाइदा हुने विषय रहेछ भने त्यो हटाउनुपर्छ । एमसिसीका विषयमा मुलुकलाई केन्द्रविन्दुमा राखेर निर्णय लिने छौँ ।

 अन्त्यमा के भन्न चाहानुहुन्छ ?

 धेरै विषयमा छलफल भएको छ । अन्त्यमा देशको वर्तमान अवस्था, नेपाली कांग्रेस र मेरो व्यक्तिगत धारणा जनता सक्षम राख्ने अवसर जुराइएकोमा धेरै–धेरै धन्यावद ।

Blog Post Ad Blog Post Ad