Ad Area

लुम्बिनीमा ६ सय स्वास्थकर्मी संक्रमित


दाङ, १९ माघ । लुम्विनी प्रदेशमा एक महिनाको अवधिमा ६ सय बढी स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् । कोरोना भाइरसको तेस्रो चरण फैलिएसँगै यस प्रदेशमा धेरै स्वास्थ्यकर्मीहरु संक्रमित भएका हुन् ।

कोरोना भाइरस परीक्षण, रोकथाम तथा नियन्त्रणका लागि प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा खटिएका ६ सय १६ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो तथ्यांक पुसको १८ गतेदेखि माघको १५ गतेसम्मको हो । संक्रमित हुनेहरुमा बढी रुपन्देही, बाँके, कपिलवस्तु, दाङलगायतका जिल्लाका स्वास्थ्यकर्मीहरु रहेका छन् ।

त्यसैगरी मन्त्रालयका अनुसार तेस्रो चरणको कोरोना संक्रमणका कारण लुम्बिनी प्रदेशका ७ हजार ६ सय ४१ जना संक्रमित भएका छन् । पुस १५ गतेदेखि यता प्रदेशमा सबैभन्दा धेरै संक्रमितहरु रुपन्देही जिल्लामा १९ सय ४६ जना सक्रिय संक्रमित भएका छन् । प्रदेशमा नेपाल–भारत सीमा ख्ुल्ला भएका कारण नाकासँग जोडिएका रुपन्देही, बाँके, बर्दिया र दाङलगायतका जिल्लाहरु संक्रमणको जोखिम उच्च रहेको छ ।

त्यसैगरी रुपन्देहीपछि क्रमशः बाँकेमा १ हजार ९८ जना, बर्दियामा ९ सय ७२ जना, दाङमा ६ सय ६१, गुल्मीमा ६ सय ५९, कपिलवस्तुमा ४ सय ९४, नवलपरासीमा ४ सय ६१, प्युठानमा २ सय २१, रोल्पामा १ सय ९५, अर्घाखाँचीमा १ सय ३१ र पूर्वी रुकुममा ४३ जना रहेका छन् । तथ्यांकअनुसार प्रदेशमा सबैभन्दा कम पूर्वी रुकुममा संक्रमितहरु रहेका छन् । प्रदेशमा कोरोना खोप लक्षित ३९ लाख ६७ हजार ६ सय ७४ जनसंख्यामध्ये ६२ प्रतिशत जनसंख्याले पूर्ण मात्रामा खोप लगाएका छन् । त्यसैगरी ८४ प्रतिशतले पहिलो मात्रा र २९ प्रतिशतले थप मात्रामा खोप पाएका छन् ।

प्रदेशको ९ स्थानमा परीक्षणको व्यवस्था

प्रदेशका १२ जिल्लाका १३ स्थानमा कोरोना परीक्षणको व्यवस्था मिलाएको छ । जनतालाई सहजरुपमा स्वास्थ्य परीक्षण गर्न सहजताका लागि ७ सरकारी र ६ निजी स्वास्थ्य संस्था गरी १३ स्थानमा कोरोना परीक्षणको व्यवस्था मिलाइएको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका कोरोना फोकल पर्सन कौशल भण्डारीले जानकारी दिएका छन् ।

उनका अनुसार प्रदेश स्वास्थ्य प्रयोगशाला, भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, नेशनल प्याथल्याव, बागेश्वरी प्याथल्याव, नेपालगञ्ज मेडिकल कलेज, गुल्मी अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज, कपिलबस्तु अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्स र देवदह मेडिकल कलेजमा कोरोना परीक्षणको व्यवस्था मिलाएको जानकारी दिएका छन् ।