Ad Area

स्थानीय निर्वाचनमा दाङका सबै पालिकामा एमालेको जीत निश्चित छ– केन्द्रीय सदस्य पाण्डे


घोराही २६, माघ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं दाङका सहईन्चार्ज घनश्याम पाण्डेले बैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनमा दाङका सबै पालिकामा एमालेको जीत निश्चित रहेको दावी गरेका छन् । संघीय लोकतान्त्रिक आन्दोलनका प्रथम शहीद उमेशचन्द्र थापाको १६औँ स्मृति दिवसका सन्दर्भमा नेकपा एमाले जिल्ला कार्यसमिति दाङले बुधबार घोराहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले दाङसहित देशैभर नेकपा एमालेको जनलहर बढेको बताउँदै नवीन र सशक्त पार्टीका रुपमा एमाले उदाएको हुँदा जिल्लाको सबै पालिकामा जीत निश्चित भएको दावी गरे ।

‘२०७४ सालको निर्वाचनमा नेकपा एमालेले दाङमा २८ वडामा विजयी हासिल गरेको थियो, अब त्यो दोहारिँदैन, सय वटै वडामा हाम्रो जीत निश्चित छ,’ उनले भने, पहिले स्थानीय निर्वाचनमा हामी ६ वटा पालिकामा जित निकाल्यौँ अब १० वटै पालिकामा जित हासिल हुन्छ, त्यही तयारीमा जुट्नुस् ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि देशभर एमालेमय बनाउन तथा जनताको पक्षमा काम गर्न नयाँ जनादेशमा जानुपर्ने हुँदा यसको फाइदा लिने गरी कटिवद्ध भई लाग्न दिएको निर्देशन सुुनाउँदै उनले दाङमा पनि एमालेको लहर आएको हुँदा निर्वाचनका माध्यमबाट अरु दललाई एमालेको शक्ति देखाउने गरी लाग्न अपिल गरे । यस्तै, उनले आगामी वर्ष नेकपा एमालेको वर्ष भएको दावी गरे । देशमा एमालेको जनलहर बढेकाले आगामी वर्ष एमालेको वर्ष हुने दावी पनि गरे ।

एमाले जिल्ला अध्यक्ष हुकुुमबहादुर बस्नेतको अध्यक्षतामा भएको स्मृति दिवसमा उनले आफु मरेर देश र जनताको अग्रगमनको बाटो खोल्न सफल भएका योद्धाको सम्मानमा पार्टी अत्यन्तै गम्भीर रहेको उल्लेख गर्दै जनमतको कदर गर्दै देशलाई अग्रगमनमा हिँडाउन गाउँ गाउँमा एकताको सन्देश दिनु आवश्यक रहेको चर्चा गरे ।

सो अवसरमा सल्लाहकार परिषद सदस्य शम्भु गौतम, लुुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्य, निवर्तमान जिल्ला अध्यक्ष टीकाराम खड्कालगायतले शहिद थापाको योगदानको स्मरण गर्दै उनले देखेका सपना साकार पार्न सबै गम्भीर बन्नुपर्नेमा जोड दिए ।

देशका लागि प्राण आहूति दिने योद्धा शहिदलाई सबैले उच्च सम्मान गर्नुपर्ने बताउँदै देश र जनता भन्दामाथि कुनै पनि शक्ति हुन नसक्ने हुुँदा यसकै जगमा टेकेर जनताको आवाज बन्ने अभियानमा लाग्नुु नै एमालेजनको मुलधर्म रहेको उनीहरुको धारणा थियो ।

Blog Post Ad

विद्यार्थी राजनीतिदेखि नै सशक्त भुमिका खेल्नु भएका स्वर्गीय थापाको निधनले देशले ठूलो क्षति व्यहोर्न बाध्य भएको बताउँदै उनीहरुले २०६२ माघ २६ गतेको राजा ज्ञानेन्द्रको घोषणा गरेको कथित स्थानीय निकायको निर्वाचनका विरूद्ध भएको आन्दोलन नै अहिलेको व्यवस्थाको प्रमुख आधार रहेको स्पष्ट पारे ।

नागरिक समाजसहित तत्कालीन सात राजनीतिक दल मुलुकको लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि त्यो बेलामा आन्दोलित बनेका थिए । विद्यार्थी राजनीतिदेखि नै सशक्त भुमिका खेलेका स्वर्गीय थापाको स्थानीय विरोध कार्यक्रममा सहभागी भएका बेला घोराही बजारको सुपरलज रोडस्थित सिमल रुख नेर तत्कालीन शाही सेनाको गोली गाली घटना स्थलमै ज्यान गएको थियो । उक्त घटनामा कृष्ण गिरी घाईते भएका थिए । उनलाई बुधबार आयोजित कार्यक्रममा एमालेले विशेष सम्मान पनि गरेको छ । थापाको निधनपछि आन्दोलनरत राजनीतिक दलहरुले थापालार्ई लोकतान्त्रिक आन्दोलनका प्रथम शहिद घोषणा गरेका थिए ।

तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको झण्डै एक बर्षपछि कथित स्थानीय निकायको निर्वाचन गर्न खोजेको हुँदा त्यसको विरोधमा राजनीतिक दलहरु सडकमा उत्रिएका थिए । देशभरका ५८ वटा नगरपालिकामा निर्वाचन गर्न तयार भएको तत्कालीन शाही सरकारको विरुद्धमा राजनीतिक दलहरुले सवै नगरपालिकाका विरोधमा जुलुस आयोजना गरेका थिए । उपसचिव हिरादेवी पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव मनोहर बुढाथोकीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad