Ad Area

होलेरी आक्रमणको २६ वर्ष पूरा- ‘१० वर्ष लगातार रोएको होलेरी अझै त्रासमा बाँचेको छ’


होलेरी १, फागुुन । रोल्पाको होलेरी आक्रमण हुँदा शोभा खड्का वली १३ वर्षको थिईन् । कक्षा ६ मा पढ्दै गरेकी खड्का बेलुकी दाजुहरुसँग पढिरहेको बेला २०५२ फागुन १ गते माओवादीले घर छेवैमा रहेको प्रहरी चौकीमा आक्रमण गर्यो । गोली चल्यो, बमका छर्रा घरका भित्तामा बज्रिन पुुगे । भित्ता छियाछिया भयो । आफुसँगै रहेको किताब र स्कुलका पोशाक गुटुमुटु पारेक भित्रको कोठामा सबै ढोका बन्द गरेर रातभर नसुतेरै बिताए ।

२६ वर्ष अघि भएको त्यो घटना शोभा र उहाँका दाजुहरुका लागि कहिले नआओस् भन्ने लागेको थियो तर २०५८ असार २८ गते फेरि दोहोरियो । त्यो बेला त एक जना प्रहरी उनीहरुकै पँधेरो छेवैमा माओवादीले हानेको गोली लागेर प्राण त्याग्नुपर्यो । शोभा अहिले त्यो कालो समयबाट उज्यालो घाममा दिन बिताउन थाल्नुुभएको छ । रोल्पाको रुन्टीगढी ५ सैवाङमा शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । शोभा जस्तै, सो क्षेत्रका कैयौँ बालबालिकाले प्रत्यक्ष जनयुद्धको अनुभव गरे ।

दशक लामो द्वन्दमा देशभर करिब १७ हजार जनता मारिए । त्यसैमध्ये होलेरी ९ की तुलसी विकले अनाहकमा आफ्नो पति गुमाईन् । भारतबाट भर्खर घर फकिएका उनका श्रीमानलाई माओवादीले पिट्दै, तथानाम भन्दै सुराकी गरेको आरोप लगाउँदै तल कोइलाखानी नजिक लगेर मारे ।

‘जनताको लागि भनेर गरिएको आन्दोलन नेताको लागि मात्र हुन पुग्यो । गरिब दुःखीको पनि दिन आउँछ भन्थे तर खै?’ आँसु चुहाउँदै उनले भनिन् ।, ‘यो बीचमा मैले आफ्नो बेदना पोखेको अलिकति पनि कसैले सुनेको भए केही पक्कै हुन्थ्यो तर अहँ यहाँ हामी जस्ताको कसले सुन्छ र ?’

जनयुद्धकै बलमा देशको शासन व्यवस्था परिवर्तन त भयो । तर, हजारौंको ज्यान जाने गरी लडेको त्यो युद्धले सार्थकता पायो या अझै पाएन। यो कुरा हामी जस्ताको दैनिकीबाटै थाहा पाई हाल्नुहुन्छ नी भन्दै तुलसीले प्रश्न गरिन् । आफै स्वयं पार्टीमा लागेर ज्यान गुमाएको भएपनि चित्त बुझाउने आधार मान्न सकिने उनको तर्क छ । मेरो पेटमा ४ महिनाको बच्चा थियो, बिहेभएको ३ वर्षमा श्रीमान गुमाउनुपर्यो, बेसाहारा अवस्थामा घरखेत केही नभएको बेलामा कसरी बालबच्चा जन्माएँ हुकाएँ यो मलाई मात्रै थाहा छ’ उनले भनिन् ।

होलेरी आक्रमणले जनयुद्धको बिजारोपणले रोल्पावासीलाई निकै प्रभाव पार्योे । त्यतिबेला भएको उक्त आक्रमणलाई स्थानीय कृष्णा खड्का सम्झन पनि चाहन्निन् । ‘सुरुमा गोली चल्दा कसैले के भयो भन्ने लाग्यो तर, छेवैको प्रहरी चौकीमा लगाएको टीन नै तितर बितर हुने गरी बम बिस्फोट भएपछि मनमा चिसो पसेको उनले अनुभव सुनाईन् । आक्रमण गर्नेहरुले ‘माओवादी जिन्दावाद’को नारा लगाएपछि चौकीमा आक्रमण भएको अड्कल काटेको उनले बताईन् ।

‘नयाँ पार्टी त्यो पनि बन्दुकसँग आएकाले केही गर्छ भन्ने लागेको थियो, तर त्यो पनि सत्तामा गएपछि थाहा भयो । सबै उस्तै रैछ, अझ अहिले पनि यो भएन त्यो भएन भन्दै लडेको देख्दा फेरी तिनै दिन फर्कन्छ की भन्ने डर पो लाग्छ,’ उनले भनिन् । ‘यत्रो विध्वंश भयो आखिर के का लागि ? तिनै नेताले मोजमस्ती गरेका छन् हामी जनता त पिल्सेको पिल्स्यै त भयो, जनतालाई ढाल बनाएर शासन सत्तामा पुग्नेहरुले फर्केर हेरेनन्,’ होलेरीका लालबहादुर मल्लले भने । रोल्पाका कतिपय जनता भने सशस्त्र युद्धले गाउँको विकास भएको बताएपनि देशभर हजारौं व्यक्ति मारिएको प्रति भने उनको नमिठो गुनासो छ । होलेरी सामु अहिले पनि हजारौँ सपना हजार छन् । ती मध्ये थोरै सपना पूरा भए पनि खुसी हुन सकेको छैन ।

होलेरी भएर अघि बढेको सहिद मार्ग बनाउन साविक राप्तीका रुकुम, रोल्पा, सल्यानबाट युद्धकै बेला चामल, पिठो, दाल सामल बाकेर जनता सहभागी भएका थिए । यो मार्ग होलेरी हुँदै थबाङ, चुनबाङसम्म पुगिसकेको छ । यो बाटो २०५२ सालअघि पनि चलनचल्तीमा थियो । घोराहीबाट साना सवारी त्यहाँसम्म पुग्थे ।

यही सडक हुँदै माओवादीले २०५८ मंसिरमा घोराहीमा सेना, प्रहरीको ब्यारेकको हतियार कब्जा गरी सेनाकै गाडीमा होलेरी पुर्याएको स्थानीय बताउँछन् । होलेरीलाई कुनै बेला भुरेटाकुरे राजा बसेको गढी र स्वर्गद्वारी जन्मगाउँ रुन्टीलाई मिलाएर ‘रुन्टीगढी’ को रूपमा अहिले नामाकरण गरिएको छ । वर्षौ अघिबाट विकासको र समृद्धिको पर्खाइमा रहेको होलेरी जस्तै रोल्पाका धेरै गाउँ ठाउँ अहिले पनि उस्तै छन् । त्यहाँका जनताको आधारभूत आवश्यकतामा शासन सत्तामा पुगेकाहरुको ध्यान जान सकेको छैन ।

तै पनि समय र विकासक्रमले कुनै बेलामा माओवादीको आधार इलाका मानिएको होलेरी आज अँध्यारो सुरुङबाट समृद्धिको गोरेटोमा लम्किने प्रयासमा छ । युद्धको राप र तापले पिरोलिएको होलेरीले आफ्नो रुपमा फेर्न तल्लीन छ । तर, यो पर्याप्त छैन । परिवर्तित राजनीतिक व्यवस्थासँगै होलेरीको मुहार पनि फेरिँदै गएको स्थानीयले बताउने गरेका छन् । स्थानीयको राजनीतिक आस्था र धारणा पनि बदलिँदो छ । द्वन्द्वको पुरानो कथा अध्ययन गर्न मानिस होलेरीलाई उत्तम गन्तव्य ठान्छन् । जनयुद्ध र होलेरी बीचको सम्बन्ध अन्योन्याश्रित छ ।

उतिबेला राजनीतिक रङका नाराले पोतिएका यहाँका घरका भित्तामा अहिले आशा र शान्तिको रङ पोतिएको छ । युद्धकालमा पातलिएको यहाँको चहलपहल फिर्ता आउन थालेको छ । द्वन्द्व छलेर परदेसिएका युवा रेमिट्यान्ससहित फर्किएका छन् र आफ्नै ठाउँमा उद्यमशीलता बढाउन खोजिरहेका छन् ।

होलेरी आसपासका जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी स्थानीय सरकारले काम अघि बढाउँदै लगेको रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले बताए । पिछडिएको वर्ग, समुदाय तथा क्षेत्रको पहिचान गरी उनीहरूलाई विकासको मूल प्रवाहमा ल्याउने काममा आफु तल्लीन रहेको बताउनुभएका उनले भूगोलका कारण पनि अझै थुप्रै समस्या सम्बोधन हुन नसकेको भने स्वयं स्वीकार गर्छन् ।

होलेरीले आशाको किरण पर्खिरहेको छ । देशमा आमूूल परिवर्तन गर्न हिँडेकाहरु आफ्नो दुनो सोझाउन लागेपछि सोझासाझा जनताले भने आश्वासन दिए जसरी केही पाउन नसकेको दुखेसो पोख्ने गरेका छन् । दाङमा पनि राज्य र विद्रोही पक्षबाट ठूलो संख्यामा पीडित भएका छन् । द्वन्द्वपीडितहरु न्यायका लागि बारम्बार याचना गरिरहे पनि संक्रमणकालीन न्यायका लागि सार्थक पहल हुन नसकेको पीडितहरुको गुनासो छ ।

अहिले पनि शहीद मार्गले चिनिएको घोराही होलेरी सडक छियाछिया भएको छ । सडकको दुरावस्थाले होलेरीको विकासमा बाधा पुगेको छ । कृषि पर्यटनको प्रमुख आधारका रुपमा लिइएको होलेरीले जसरी देशमा युुद्धको शुरुवात गर्यो त्यसरी नै दीगो शान्ति र समृद्धिको बाटो कोर्ने काममा लाग्न उद्धत रहेको रुन्टीगढी ९ का ठगेन्द्र बिकको भनाई छ ।