सत्तामा पुगेपछि बिर्सिएको होलेरी

दाङ,१ फागुन । होलेरी आक्रमण भएको आज २६ वर्ष भएको छ । विसं २०५२ साल फागुन १ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले रुन्टीगढी गाउँपालिका–९ होलेरीमा रहेको तत्कालीन प्रहरी चौकी आक्रमण गरेर सशस्त्र द्वन्द्वको सुरुवात गरेको थियो ।
त्यसपछि चलेको दश वर्षीय सशस्त्र द्वन्द्व र २०६२÷०६३ सालको जनआन्दोलनमार्फत् देश संघीय संरचनामा जानुका साथै देशमा राजतन्त्रको अन्त्य, संविधानसभाको निर्वाचन, धर्मनिरपेक्ष देश बन्न पुग्यो । २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतासँगै तत्कालीन सशस्त्र द्वन्द्वको अन्त्य भयो ।
विस्तृत शान्ति सम्झौताअनुसार संविधानसभामार्फत् नयाँ संविधान लेख्ने काम र सेना समायोजन गर्ने काम भए तर संक्रमणकालीन न्यायको निरूपण भने अझै हुनसकेको छैन । दश वर्षीय द्वन्द्वमा १७ हजार नेपालीले ज्यान गुमाए भने करिब १४ सय नागरिक बेपत्ता भएका छन् । बेपत्ता नागरिकको अझैसम्म राज्यले अवस्था भन्न सकेको छैन । जसले गर्दा अझै पनि द्वन्द्वपीडित परिवारहरूले न्याय पाउन सकेका छैनन् ।
सशस्त्र द्वन्द्वको सुरुवात भएको आज २६ वर्ष पुगेको छ भने विस्तृत शान्ति सम्झौता भएको पनि १५ वर्ष पुगिसक्यो । यो अवधि तत्कालीन विद्रोही नेकपा माओवादी पटक–पटक सरकारमा पुगेको छ । दुई पटक संघीय सरकारकै नेतृत्व गर्न पुग्यो । अहिले पनि संघीय सरकारदेखि प्रदेश सरकारसम्म होलेरी आक्रमणकै नेतृत्व गर्नेहरू छन् तर उनीहरूले होलेरी र द्वन्द्वपीडित परिवारलाई बिर्सिएको गुनासो गर्छन् ।
बढ्दै गएको होलेरी बजार व्यवस्थितसँगै सडक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा केही परिवर्तन भएको छ तर यी जनताले अनुभूति गर्ने गरी भने विकास हुन नसकेको स्थानीय बताउँछन् । माओवादीले भन्ने गरेको जनयुद्धको उद्गम थलोले परिवर्तनको महसुस गरेको छ त ? माओवादीले भनेको परिवर्तन, विकास होलेरीमा भयो त ? लगायतका विषयहरू समीक्षाका विषय हुन् तर होलेरीबासीले भने माओवादीले बिर्सिएको गुनासो गर्दछन् ।
सशस्त्र द्वन्द्वका क्रममा रुन्टीगढी गाउँपलिकाका ३९ जनाले ज्यान गुमाएका छन् । जसमा राज्य पक्षबाट मारिएका ३० र तत्कालीन बिद्रोही पक्षबाट मारिएका ९ जना रहेका छन् । उनीहरूको सम्झना पहिलो पटक २०५२ साल फागुन १ गते र दोस्रो पटक २०५८ असार २८ गते माओवादी आक्रमणमा ध्वस्त पारिएको प्रहरी चौकीमाथि शहीदहरूको सम्झनामा स्मारक निर्माण गरेर नाम लेखिएको छ । माओवादीले आक्रमणको पहिलो पटक मानवीय क्षति नभए पनि दोस्रो चरणको आक्रमणमा एक जना प्रहरी हवलदारले ज्यान गुमाएको विवरण लेखिएको छ ।
जनयुद्धको जग भने पनि माओवादीले होलेरी र जनयुद्धका पीडित परिवारलाई भुलेको स्थानीय तुलसा विक बताउँछिन् । माओवादीले जनयुद्धको सुरुवात गरेको ठाउँ र पीडित परिवारलाई भुल्दा आपूmहरूलाई दुःख लाग्ने गरेको उनले बताइन् । ‘होलेरीबाट सुरु भएको युद्धले देशमा ठूलो परिवर्तन भयो तर परिवर्तनका लागि लड्नेहरूले त्यसको अनुभूति गर्न पाएका छैनन्’, उनी भन्छन्, ‘परिवर्तन नेताका लागि आएको रहेछ, उनै ठूला भनाउँदाका लागि पो रहेछ ।’
होलेरी निवासी कृष्णा खड्कालाई पनि माओवादीले होलेरीललाई बिर्सिएको बताउँछिन । परिवर्तनका लागि लडेको र युद्धको सुरुवात गरेको होलेरीलाई भुल्दा शहीदमार्ग समेत राम्रो बन्न नसकेको बताइन् । ‘२०५२ साल अघिको तुलनामा अहिले केही परिवर्तन भएको छ तर यो होलेरीका लागि पर्याप्त परिवर्तन होइन’, उनले भनिन्, ‘होलेरीको विकासका लागि बाटो राम्रो हुनुपथ्र्यो, पढाइ, स्वास्थ्यका लागि राम्रो व्यवस्था हुनुपथ्र्यो ।’
उनले शहीदका नाममा नामाकरण गरिएको बाटो समेत राम्रो बनाउन नसकेको गुनासो गरिन् । उनीहरू मात्र होइनन् अधिकांश होलेरीबासी दश वर्षीय सशस्त्र युद्धको सरुवात भएको होलेरीको विकास चाहन्छन् । शिक्षा, स्वास्थ्य, कृषिसँगै शहीदका नाममा नामाकरण गरिएको घोराही–होलेरी सडकको स्तरोन्नति भएको देख्न चाहन्छन् ।