आमा ! म जन्मन चाहन्छु
के छोरीलाई जन्मने अधिकार छैन ? की छोरीको जन्मन नपाउने तर जन्माउनुपर्ने मात्रै भूमिका हो र ?
आमा, मलाई नमार, म यो संसार देख्न चाहन्छु । तिम्रो न्यानो मायाले भरिएको काखमा खेल्न चाहन्छु, अनि बाबाको हौसला र प्रेरणाले भरिएको औंला समाई तातेताते गर्दै यो सुन्दर संसार घुम्न चाहन्छु । मलाई मेरो जीवन बाँच्नु छ अरुले जस्तै, जीवन जिउनु छ अरुको जस्तै । यो संसारमा आएर तिम्रा दुःखसुखमा साथ दिन मन छ । बाबाको छायाँ बनी जिउनु छ, अनि मेरै नामबाट तिमीलाई र बाबालाई चिनाउनु छ । आमा, मलाई तिम्रै कोखमा बस्न देऊ, म तिमीलाई दुःख दिन्नँ । म तिम्रो जीवनमा आएकै कारण तिमी दुःखी भएको म हेर्न चाहन्नँ । म त तिमीलाई खुशी बनाउन अनि तिम्रो जीवनको बगैचामा सुन्दरता थपिदिन चाहन्छु ।
आमा, अचम्मको छ है यो संसार पनि । श्रीमती, आमा, बुहारी, दिदीबहिनी सवै नाताका नारी रुपहरु स्वीकार्य हुने तर छोरी अस्वीकार्य । आमाको काख प्यारो, दिदीबहिनीको स्नेह, श्रीमतीको माया, यी सबै नारीको महत्व र आवश्यकता हुने यो समाजमा छोरीको आगमन किन स्वीकार्य हुँदैन ? यो प्रश्नको उत्तर खोज्नु छ मलाई । छोरा जन्मिएमा खुशी मनाउने समाजमा छोरीलाई यति ठूलो अन्याय किन ? भ्रुणमा नै टुक्राउन किन हतार ? के म तिम्रो गर्भमा तीन महिना मात्रै अटाउन सक्छु ? यो प्रश्नको उत्तर खोज्नु छ मलाई ।
आमा, एकपटक त्यो दिन सम्झेऊ त जुन दिन तिमी गर्भवती भयौ भन्ने थाहा पायौ त्यो दिन तिमी कति खुशी भएकी थियौ ? सायदै, तिमी जति खुशी कोहि थिएन । तिम्रो मायाको सुन्दर वगैँचामा अर्को एउटा सुन्दर विरुवाको विजारोपण भएकोमा खुशी हुनु स्वभाविक नै हो तर त्यो खुशीको आयु पनि मेरो जस्तै तीन महिने अवधिले निर्धारण गर्दो रहेछ । तिम्रो न्यानो गर्भमा आउँदा म पनि उति नै हर्षित थिएँ तर त्यो हाम्रो खुशी केहि क्षणको मात्र हुनुको कारण न तिमी हौ न म नै । त्यसको एउटा मात्र कारण हो समाजले छोरीभन्दा छोराको महत्व देख्नु । वुवा, बाजे, बज्यै अनि आफन्त र नातागोतालाई पनि छोरा चाहियो रे । कसैलाई पिण्ड दिने वहानामा, कसैलाई सम्पतिको रक्षार्थ, कसैलाई वंशको रक्षा गर्न त कसैलाई कुलको इज्जत बचाउन । आखिर सबलाई छोरा पाउने केही न केही बाहना न चाहिएको छ । आमा, के म यी सबै काम गर्न सक्दिन र ?
तिमीलाई उनीहरुका कुराले कति पोल्यो, तिमी एकान्तमा कति रोयौ, त्यो तिमीलाई र मलाई मात्र थाहा छ । तिम्रो पिडामा म पनि छट्पटिएँ । सायद तिमीमा आफ्नो गर्भको रक्षा गर्ने तागत हुन्थ्यो भने यो पिडा तिमी र मैले भोग्नुपर्ने थिएन । आमा, तिमी किन भन्न सक्दिनौ म मेरो छोरीलाई जन्म दिन्छु भनेर ? के तिमी भन्न सक्दिनौ– म पनि छोरी नै भएर जन्मेको हो भनेर ? यदी तिमी नजन्मेको भए यो समाजले कसबाट सन्तान पाउने आशा राख्थ्यो ? के छोरीलाई जन्मने अधिकार छैन ? की छोरीको जन्मन नपाउने तर जन्माउनुपर्ने मात्रै भूमिका हो र ?
मलाई थाहा छ आमा, तिमीलाई समाजले बन्देज लगाइदिएको छ । तिमीलाई कमजोर बनाइदिएको छ । तिमीलाई चल्नै नसक्ने गरी जन्जिरले बाँधेको छ । बोल्नै नसक्ने गरी मुखमा ताला लगाइदिइएको छ अनि उफ्रनै नसक्नेगरी पर्खाल लगाइदिएको छ । अति भयो, अव त उठ आमा, ती जन्जीरहरु तोडिदेऊ, त्यो ताला फोडिदेऊ अनि पर्खालहरु भत्काइदेऊ । आमा, निस्केऊ त्यो अन्धविश्वासको खाडलबाट । अनि दुनियालाई चकित पारिदेऊ की तिम्रो गर्भभित्र हुर्कदै गरेको त्यो छोरी भ्रुणको तागतले तिमी कति शक्तिशाली भएकी छेऊ ।
अंग्रेजी कवि विलियम स्ट्याफोर्डले जिवित तर जन्मन नसक्ने हरिणको बच्चाको कविता लेखेका छन् । बीच सडकमा एउटा मृत आमाको कोखमा उफ्रिरहेका जीवित बच्चाहरुलाई बचाउने की फाल्ने भन्ने दुविधामा कवि छन् । दिमाग र मुटुको अन्तरसंघर्षले भरिएको त्यो कवितामा म तिमीलाई पाउँछु । शायद तिमीलाई पनि कविलाई जस्तै भएको छ मलाई बचाऔं या फालुँ ? बचाउन पनि सजिलो छैन, फाल्न पनि सजिलो छैन । यही दोधारको बीचमा समय घर्केर म जन्मन पाउँछु या छिट्टै निर्णय भएर फालिन्छु । मलाई नै यो दोधारको डरले सताई रहेको छ ।
तर आमा, जे भए पनि म बीजकै अवस्थामा निमोठिन चाहान्नँ ।
जीवन र मृत्युको दोसाँधमा पुगेर तिमीसँग विन्ती गर्दै छु आमा, विन्ती मलाई नमार । कवि विलियम जस्तै तिमी दोधारमा नपर, छिट्टै मलाई बचाउने निर्णयमा पुग । म तिम्रो मायाको एउटा सुन्दर शुरुवात हुँ, मलाई पनि रहर छ तिम्रो सुन्दर बगैचाको फूल बन्न । मालीको रेखदेख र माया पाउँदै यो सुन्दर संसार घुम्न । रहर छ आमा तिम्रो आँगनमा सुगन्धित फूल बनी वासना छर्न । म तिम्रो जीवनमा खुशी र उमंग छर्न चाहन्छु । मलाई पासाङ ल्हामु वनेर सर्वोच्च शिखर चढ्नु छ । अनुराधा बनेर बेचिएका चेलीको उद्धार गर्नु छ, मलाला बनेर छोरीहरुलाई ताकेको आतंकवादीको गोली छेक्नु छ । नाइटिंगेल बनेर बत्ती बाल्नु छ अनि योगमाया बनेर विद्रोहको आगो सल्काउनु छ ।
आमा, के मलाई यी रहर पूरा गर्ने अधिकार छैन ? तिमीसँग बाँच्ने अधिकार छैन ? मैले तिम्रा अरु सन्तान सरह सुन्दर संसार हेर्न अधिकार छैन ? रातदिन खटेर घरलाई स्वर्ग बनाउने अनि संसारको सृष्टि सञ्चालन गर्ने नारीलाई किन नजन्दै मार्न खोज्छ यो समाज ? यी र यस्तै प्रश्नले मेरो यो सानो मुटुमा तहल्का मच्चाएको छ आमा । म यी प्रश्नको उतर खोज्न पनि जन्मन चाहन्छु । गर्भमा विजारोपण भएदेखि नै छोरा हो कि छोरी भनेर तिमीतिर तेर्सीएका प्रश्नरुपी वाणहरुलाई म तिम्रो सफल सन्तान बनेर उतैतिर फर्काउन चाहन्छु ।
छोरावाट मात्रै जीवन धन्य हुन्छ भन्ने समाजको यो गलत सोचलाई चिर्न चाहन्छु । छोरीमाथि गर्भदेखि नै गरिने विभेदकारी व्यवहारको अन्त्य गर्न चाहान्छु । र यो सवैका लागि पहिले म बाँच्न चाहन्छु । अनि त्यसका लागि तिमी दधिचीको हड्डी बनेर उभिनुपर्छ । तिम्रो गर्भमा म रातदिन त्रासमा होइन शान्तिपूर्वक बाँच्न चाहन्छु ताकि मेरो यो कोमल मस्तिष्क स्वस्थ बन्न सकोस् । आमा, मलाई डर लाग्छ, म जन्मने त्रासले तिम्रो नै घाँटी निमोठे भने ? मानिसहरु भन्लान् नी, छोरा जन्माउन पो तिमीलाई पालेको । मैले सुनेको छु, छोरी जन्माएको निहुँमा घरबाट निकालिएका अनि छोरा पाउन नसकेर जिउँदै जलाइएका आमाका कथा ।
आमा, तिमीले ती कथालाई असत्य सावित गरिदिनुपर्छ । अनि मात्र म जन्मन पाउँछु । आमा, मेरो जीवन रोपिएको तीन महिनामै मेरो आयु निर्धारण गर्ने यो कस्तो न्याय हो ? म कसलाई सुनाउँ यो पीडा ? म बोलेको तिमी वाहेक अरु कसले सुन्न सक्छ र ? त्यसैले म तिमीलाई मेरा मनका वह सुनाई रहेको छु । आमा, अरुले नबुझे पनि तिमी त मेरो भाषा बुझ्छ्यौ नी । तिमी माया, दया र करुणाकी खानी । आमा, विन्ती छ तिमी निर्दयी नबन न । तिमी मात्र वुझ्न सक्छ्यौ मेरो पिडा किनकी तिम्रो शरीरको ढुकढुकी हुँ म । गर्भमा म अउनासाथ तिमी गएको त्यो राम्रो डाक्टरकोमा जाउ न आमा, कति माया गर्नुहुन्छ त्यो डाक्टरले मलाई । मलाई त्यो छुच्चो डाक्टर मन पर्दैन जसले मेरो लिङ्ग पहिचान गर्यो।
मलाई राम्रोसँग थाहा छ, म छोरी भएको थाहा पाएदेखि तिमी र मलाई गरिने व्यवहार फेरिएको छ । तिमी पिडा र डरले गलेकी छ्यौ । म जन्मन नपाउने पिडाले छट्पटाएकी छु । हरेक क्षणमा म मृत्युलाई पर्खेर बसेकी छु । मृत्युदण्ड सुनाइएको अपराधी जस्तो भएकी छु । तिमी डाक्टरकोमा जाँदा होस् वा कुनै औषधी खाँदा म तिम्रो कोखमा कसैले छुटाउन नसक्ने गरी टाँसिएर बस्छु । डर लाग्छ कुन चाही औषधी या कैंचीले मेरो शरिर छियाछिया पार्छ भनेर । म तिम्रो त्यो आँटको पर्खाइमा छु जुन दिन तिमी यो संसारलाई जित्छेऊ र मलाई संसार देखाउने निर्णयमा पुग्छेऊ ।
आमा तिमीले अव आफ्नो गर्भलाइ सुरक्षित राख्न हिम्मत गर्नुपर्छ । तिमी कमजोर भएकै कारण पाइला पाइलामा तिमी हेपिएकी छ्यौ । तिम्रो कोख संसार सृष्टिको उद्गम स्थल हो, यसलाई चिहान बन्न नदेऊ । छोराको आसमा आफ्नो मातृत्वलाई मर्न नदेऊ । संसारले पुज्ने नारी शक्ती अव कमजोर बन्नुहुँदैन । तिमी काली वनेर आफ्नो अनि मेरो रक्षा गर, सरस्वती वनेर सबैलाई सदबुद्धि देऊ । अव म जस्तै कुनै पनि छोरीले यो सुन्दर संसारमा आउनलाई कहिलै पनि कुनै अनुनय विनय गर्नु नपरोस् । त्यसैले अन्तिमपटक म तिमी र यो समाजसँग विन्ती गर्दै छु, कृपया मेरो अस्तित्वलाई स्वीकार गर । मलाई जन्मन देऊ । आमा ! म जन्मन चाहन्छु ।