Ad Area

‘न्यायालयमा गुनासो कम गर्न सरकारी वकिलको क्षमता विकास आवश्यक’


दाङ, ११फागुन । महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्याय क्षेत्रमा देखिने सेवाग्राहीको गुनासो समाधानका लागि सरकारी वकिलहरूले कार्यक्षमता, योग्यता र क्षमतालाई वृद्धि गर्नुपर्ने बताएका छन् । घेराहीमा नवनिर्मित जिल्ला सरकारी वकिलको कार्यालय दाङको मंगलवार उद्घाटन गर्दै महान्यायाधिवक्ता खातीले न्याय क्षेत्रमा देखिएको जनताको गुनासो हटाउनुपर्ने बताएका हुन् ।

महान्यायाधिवक्ता खातीले न्याय क्षेत्रमा देखिएको समस्या समाधानका लागि जनशक्ति थप गर्नुपर्ने अवस्था रहेको बताए । अपराध र मुद्दाको संख्या बढिरहेका बेला सरकारी वकिलहरूको संख्या अत्यन्तै कम रहेकाले न्याय सेवालाई प्रभावकारी बनाउन जनशक्तिको आवश्यकता रहेको बताएका हुन् । जनशक्तिको अभावमा सरकारी वकिलहरूलाई अध्ययन, अनुसन्धान र अभियोजन तयार गर्नमै समस्या भइरहेको उनको भनाइ थियो । ‘अहिले देशभर २० हजार बढी प्राइभेट लयरहरू छन्। १३ हजार बढी कानुन व्यवसायी छन्’, महान्यायाधिवक्ता खातीले भने, ‘यस्तो बेलामा १३ हजार बढी कानुन व्यवसायीसँग ५ सय सरकारी वकिलले बहस गर्नुपरेको छ, यो जटिल परिस्थितिको अन्त्य हुनुपर्छ ।’

अहिलेको जटिल परिस्थिति अन्त्यका लागि आपूmले राज्यले के गर्न सक्छ त्यसका लागि पोलिसी लेवलमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले सरकारी वकिलहरूले उमेर हदबन्दी मात्रै नभएर संविधानले व्यवस्था गरेअनुसार सेवासुविधा समेत प्राप्त गर्न नसकेको बताएका थिए । सरकारी वकिल क्षेत्रमा वृत्तिविकाससँगै पीडितलाई न्याय सेवा प्रदान गर्न न्याय सेवामा आधुनिकतालाई अवलम्बन गर्नुपर्ने बताए । न्याय सेवालाई छिठो र छरितो बनाउनका लागि पूर्वाधारयुक्त, प्रविधिमैत्रीसँगै कर्मचारीको दक्षता अभिवृद्धिमा ध्यान दिन आवश्यक रहेको बताएका थिए । त्यसका लागि देशभरका सरकारी वकिलहरूले ध्यान दिन आवश्यक रहेको समेत बताएका थिए ।

देशमा विधिको शासन कायम गर्न समय, काल, परिवेशअनुसार सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै लैजान मातहतका निकायलाई निर्देशन दिएका छन् । पछिल्लो समयमा घटनाक्रम र आपराधिक शैली अकल्पनीय र अस्वाभाविक रूपमा विकास हुँदै गएकाले घटनाको सबुद प्रमाण जुटाउँदै अभियोजन अघि बढाउन थप गम्भीर बन्नु सरकारी वकिल कार्यालयको प्रमुख कार्यभार रहेको भन्दै उनले त्यसका लागि प्रविधिमा जोड दिन आग्रह गरेका थिए ।

नायव महान्यायाधिवक्ता विश्वराज कोइरालाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता गौतम दीक्षित, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला बार एकाई दाङका अध्यक्ष शिवप्रसाद घिमिरेलगायतले बोलेका थिए । कार्यक्रममा सरकारी वकिल कार्यालय दाङका प्रमुख टेकबहादुर थापा र सघन सहरी विकास तथा भवन डिभिजन कार्यालयका खड्गबहादुर चौधरीले भवन निर्माणको बारेमा जानकारी गराएका थिए ।

जिल्ला सरकारी वकिल कार्यालयका तीनतले २५ कोठे भवन खड्का कृष्ण-तिरूपाते-बंगलामुखी जेभीले भ्याट बाहेक तीन करोड ५९ लाख ९४ हजार ४४ रूपैयाँमा निर्माण गरेको हो । नयाँ भवन निर्माणसँगै सरकारी वकिल कार्यालयलाई कार्यसम्पादनसँगै पीडितहरूलाई समेत कार्यालयमा सेवा लिँदा सहजता भएको सरकारी वकिल कार्यालय दाङका प्रमुख टेकबहादुर थापाले बताएका थिए । कार्यक्रममा समयमै भवन निर्माण गर्ने निर्माण व्यवसायी प्रवीणकुमार भण्डारीलाई सम्मान गरिएको थियो । उच्च अदालत तुलसीपुरका निमित्त सहन्यायाधिवक्ता राजेश्वर अर्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहन्यायाधिवक्ता शिवराज पौडेलले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad