Ad Area

जनमोर्चा पाँच दलीय सत्ता गठबन्धनबाट अलग


दाङ, फागुन १६ । राष्ट्रिय जनमोर्चा पाँच दलीय सत्ता गठबन्धनबाट अलग भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि त्यसमा विमति जनाउँदै जनमोर्चाले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो ।

‘एमसीसीलाई संसदद्वारा पारित गराउन षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरूको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका विरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनुपर्ने औचित्य समाप्त भएको छ । गठबन्धनबाट देशको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर क्षति पुगेकाले त्यसबाट हाम्रो पार्टी आजकै मितिदेखि अलग भएको घोषणा समेत गर्दछौं,’ राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णयबारे जानकारी दिन जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

साथै जनमोर्चाले एमसीसीविरुद्धको संघर्षलाई अगाडि बढाउन दलको स्वतन्त्र पहलकदमीमा फागुन १९–२२ गतेसम्म देशव्यापी रूपमा जिल्ला तथा स्थानीय स्तरमा विरोध सभाहरू गर्ने निर्णय गरेको छ । जनमोर्चाले एमसीसीका सन्दर्भमा एमालेले देखाएको भूमिकाको पनि भर्त्सना गरेको छ ।

Blog Post Ad Blog Post Ad