‘छोरीहरु समाज परिवर्तनका सम्वाहक बन्दै’
घोराही, २४ फागुन । जन्मदिन मनाउने क्रममा घरको छतबाट लडेर घाईते भएका ३० वर्षीय कमल परियारको उपचारका क्रममा मृत्यु भयो । दाङको तुलसीपुर उपमहानगरपालिका ५, सम्झना टोलमा बस्दै आएका कमलको निधनपछि काजकिरिया कसले गर्ने भन्ने कुरा चल्यो । अन्ततः जेठी सन्तानको रुपमा रहेकी एलिसाले काजकिरिया गरिन् । एलिसाका दाजुभाइ छैनन् । जसका कारण उनी आफै बुबाको काजकिरिया गर्न अग्रसर भएकी हुन् । एलिसाले छोराले गर्ने सबै कर्म किरिया बस्दा गरिन् ।
तुलसीपुरकै टेकबहादुर परियारको भारतको गुजरातमा कोरोनाका कारण गएको बैशाखमा मृत्यु भयो । बुवाको मृत्युपछि घरमा रहेका ३ बहिनी छोरीहरु बुवाको किरिया गर्न अग्रसर भए । तीन बहिनी मध्य बिनिता जेठी छोरी हुन् । उनले बुवाको किरिया गरिन्। घोराही १५ मा केही महिना अघि पनि एक छोरीले आफ्नो बुवाको काज किरिया गरिन् । समाजमा छोराले मात्रै किरिया गर्ने कुरालाई मान्यता दिने चेष्टा गरिए पनि अब बिस्तारै बदलिन थालेको छ । तर चुनौतिका रुपमा रहेको छ । हिजोको जस्तो पुरातन सोँचले समाजमा नकारात्मक रुपमा असर गरेपछि पढे लेखेका तथा समाज अध्ययन गरेकाहरुबाट अब छोरा होस् या छोरी दुवै बराबरी भन्ने मान्यता स्थापित हुन थालेको छ ।
दलित परिवारभित्र जन्मीएर पनि समाज परिवर्तनको संवाहक बनेकी विनिताको कार्यले छोराले मात्रै काजकिरिया गर्नुपर्छ, नत्र स्वर्ग पुग्न सकिदैन भन्ने अन्धविश्वासलाई चुनौति दिएको यो समाजका लागि निकै ठूलो उदाहरण हो । अनिवार्य छोरा जन्माउनै पर्ने, उसैले मात्र आमाबुबाको काजकिरिया गर्नुपर्ने बाध्यात्मक अवस्था रहे पनि अहिले यस प्रकारका अभियानले समाज सामु सोँच्न बाध्य बनाउँदै लगेको छ । त्यसैले छोराले मात्र काजकिरिया गर्नुपर्ने संकीर्ण सोँचले बदल्न यो काम काफी छ ।
नेपालको संविधानमा महिला र पुरुष समान रहे पनि नेपाली समाजको परम्परागत सोँचका कारण अहिले पनि पुरुष र महिलाबीचको व्यवहारिक खाडल भने विशाल छ । पुरुष प्रधान देश नेपालमा अहिले पनि महिला वा छोरीलाई हेर्ने दृष्टिकोण बदल्न महिलाहरु सचेत बन्दै गएका छन् । समाजमा हुने विभिन्न खालका विभेदमा महिलाहरु बढी प्रताडित हुने गरेका घटना बाहिरिने गरेका बेलामा महिलाहरुको जागरण अभियानले सार्थकता पाउन थालेका उदाहरण पनि समाज सामु आई रहेको छ ।
जसका विरुद्ध समाज बदल्नका लागि अहिले महिलाहरु आफै जुर्मुराउन थालेका छन् । केही समययता महिलाहरुले पुरुषले मात्रै गर्नुपर्छ भन्ने खालमा संस्कारयुक्त मान्यतालाई भत्काउँदै समाजमा आमूल रुपान्तरणका लागि आफुहरु अग्रसर हुँदै गएको घोराहीकी सरस्वती शर्माले बताईन्। ‘समाजमा अहिले पनि छोरालाई हेर्ने र व्यवहार गर्ने कुरा र छोरीलाई गर्ने व्यहारका कुरा आकाश पातालको पाईन्छ, सन्तान छोरा होेस् या छोरी दुवै एकै हुन् भन्ने मान्यता स्थापित गर्न हामी आफै अग्रसर हुनुपर्छ,’ उनले भनिन्।
छोरा भएको परिवार र अभिभावकलाई गरिने व्यवहार अहिले पनि समाजमा छ । छोरा पायो की छोरी भनेर पहिले सोध्ने परम्पराले नछाडेको यो समाजमा भ्रूण हत्याका थुप्रै उदाहरण छन् । लिङ्ग पहिचान गरी छोरी भए भ्रूण हत्या गर्ने नेपाली समाज सामु गर्भबाटै महिलामाथि लैंगिक विभेद छ भन्ने स्पष्ट हुन्छ । यसका लागि समाजमा अझै थुप्रै चुनौति रहेको अभियन्ताहरुको भनाई छ ।
अभियन्ता विनिता वैद्य देवकोटाले छोराका लागि मरिहत्ते गर्ने समाजका लागि छोरी पनि छोरा जस्तै घरको बलियो आधार हो भनेर अगाडी सार्नु पर्ने आवाज उठाउँदै आएकी छिन् । अहिले पनि छोरालाई भन्दा छोरीलाई हेर्ने दृष्टिकोण बदल्न हामी आफैबाट रुपान्तरणको यात्रामा अघि बढ्नुपर्ने आवाज उठाउँछिन्। ‘मरेपछि स्वर्ग कसले देखेको छ र ? यहाँ त जीवितले गर्ने कामबाट नै समाजले मुल्यांकन गर्छ,’ उनले भनिन्, ‘छोराले गर्न मिल्ने र छोरीले नमिल्ने भनी कुनै शास्त्रमा पनि नलेखेको कुरा कथित ब्राह्मणले समाज धमिल्याउन चलन चलाएको हो, यो मान्यता भत्काउनु आवश्यक छ ।’
ग्रामीण क्षेत्रमा पनि अहिले छोराको आशामा छोरीको ताती लगाउने चलन छ । शहरी क्षेत्रमा लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने गलत परिपाटी नराम्ररी विकास भएको छ । परिवार नियोजन संघको तथ्यांक हेर्ने हो भने पनि आधिकारिक रुपमा गर्भपतन गराउनेको संख्या बितेको एक वर्षमा ४ हजारभन्दा बढी छ । यसो हुनुमा अधिकांश छोरी पहिचान गरी भ्रूण हत्या गरिएको पाइएको छ ।
जसले गर्दा पनि समाजले छोरीलाई होईन छोरालाई स्थान दिएको पाईन्छ । तर, यो मान्यतालाई छोरीहरुले व्यहारले प्रतिस्थापन गर्न थालेका छन् । जति असल व्यवहार र स्याहार छोरीबाट बाबुआमाले पाउँछन् त्यो असल व्यहार छोराबाट पाउन मुस्किल पर्ने घोराही १४ का कमल थापा बताउँछन् । उनका दुई छोरी छन् । ‘छोरीहरुको भरोसामा उहाँको परिवार चलेको छ । छोरा भए खै के हुन्थे थाहा छैन’ उनले, ‘मेरा लागि यी दुवै छोरी छोराभन्दा माथि छन् ।’
समाजमा गरिने सबै खाले काममा छोराले गर्ने काम छोरीले गर्न मिल्ने तर काजकिरिया जस्ता सांस्कारिक काममा बन्देज लगाईने गरेको यो परम्परामा पनि छोरीको उपस्थितीले समाज रुपान्तरणको दिशामा अघि बढेको छ भन्ने सन्देश भने गएको छ । शिक्षा, स्वास्थ्य, कृषि, व्यवसाय, राजनीति, बैंक तथा वित्तिय संस्थाहरुमा महिला अर्थात छोरीहरुको उपस्थिती बाक्लो बन्दै गएको छ । छोरीहरुमा रहेको इमान्दारिता, काम प्रतिको अगाध निष्ठा तथा समर्पणले धेरै जसो काममा उनीहरुको जिम्मेवारी बढ्दै गएको छ । घरभित्र मात्रै होईन घर बाहिर पनि छोरीहरुको सशक्त भूमिका बढाउन छोरावादी सोँचलाई बदल्न भूमिका खेल्ने राधा शर्मा बताउँछिन् ।
छोरीले धेरै गर्न सक्छन् भन्ने मान्यतामा आमाहरुको उत्साह थपिएको छ । उनले राजनीतिक रुपमा पनि यो अभियान अघि बढ्नु आवश्यक रहेको बताए । ‘शास्त्र र संस्कृति बदल्न त सकिए तर विचार र सोँच बदल्न सबै लाग्नुपर्छ,’ उनले भनिन् ।
पेशाले स्वास्थ्यकर्मी रहेकी खिमा भुसालले यौन तथा प्रजनन् स्वास्थ्यमा महिलाहरु निकै पीडित रहेको बताईन् । अहिले पनि सामाजिक रुपमा छोराभन्दा छोरी खोज्न नसकेको बेलामा कोरोना कालमा छोरीले छोराको भूमिका खेलेको प्रसस्त उदाहण आफु सामु रहेको बताईन् ।सामाजिक सशक्तीकरणका लागि रुपान्तरणको बाटोमा सबै एकतावद्ध हुनुपर्ने उनको भनाई छ । ‘हिजोका दिनमा महिलाले जस्तो पीडा सहे अबका दिनमा अनावश्यक रुपमा छोरीले पीडा सहन नपरोस भन्ने मान्यताका साथ सामाजिक रुपान्तरणको आन्दोलनमा होमिनुपर्छ,’ उनले भनिन्।