Ad Area

अन्योलमा विद्यार्थीको दिवा–खाजा


दाङ, २७ फागुन । सामुदायिक विद्यालयमा विद्यार्थी ‘टिकाउन’ भनेर सरकाले विद्यालयमा दिवा–खाजा कार्यक्रम ल्यायो तर त्यो दिवा–खाजा कार्यक्रम जिल्लाका अधिकांश विद्यालयहरूमा कार्यान्वयनमा भने आउन सकेको छैन ।

खाजा कार्यक्रम कार्यान्वयनमा आउन नसक्दा विद्यार्थी ड्रपआउट रोक्न समस्या भएको छ भने अर्कोतिर विद्यार्थी आफैले नै घरबाट लिएको खाजा खाने गरेका छन् । विगतमा आफै विद्यार्थीले घरबाट खाजा लिएर खाने र त्यो वाफत दैनिक १५ रूपैयाँ पाउने गरेका थिए तर अहिलेको व्यवस्था अनुरूप खाजाको व्यवस्था स्वयं विद्यालय वा टेण्डरमार्फत् अर्को व्यक्तिले खुवाउनुपर्ने छ । विद्यालयले टेण्डर गरे पनि टेण्डर नपरेपछि खाजा कार्यक्रम अन्योलजस्तै भएको छ ।

केही विद्यालयले भने आफै खाजा कार्यक्रम सुरु समेत गरेका छन् । केही समय अघि नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा नै दिवा–खाजा तयार गरेर खुवाउनुपर्ने वा अन्य ठेक्कामार्फत् अन्य व्यक्तिलाई खाजा खुवाउने जिम्मा दिनुपर्ने निर्देशन दिएको थियो । यो निर्देशनवमोजिम टेण्डर गरे पनि टेण्डर नआएको विद्यालयहरूले जनाएका छन् । त्यो कारण जिल्लाका विद्यालयमा खाजा कार्यक्रम अन्योलमा परेको छ ।

विद्यालयहरूले आफैले खाजा बनाएर खुवाउनका लागि विद्यालयमा जनशक्ति नभएको र ठेक्कामार्फत् खुवाउनका लागि ठेक्का आह्वान गरे पनि ठेक्का नपर्ने गरेको विद्यालयहरूको गुनासो छ । रकम थोरै भएको र तोकिएको मापदण्डअनुसार खाजा खुवाउन नसकिने भएकाले ठेक्का नहाल्ने गरेको विद्यालयहरूले बताए । ‘सरकारले तोकेवमोजिक खाजा खुवाउनुपर्ने तर रकम कम भएका कारण ठेक्का नपर्ने गरेको हो’, एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षले भने । माघ १ गतेदेखि विद्यालयमा नै खाजा बनाएर खुवाउन भनेको थियो ।

यस अघि विद्यार्थीहरूले घरबाट खाजा ल्याउने गरेका थिए । सरकारले प्रतिविद्यार्थी दैनिक १५ रूपैयाँ नगद दिने गरेको थियो । मन्त्रालयको नयाँ निर्देशनानुसार विद्यार्थीलाई अब नगद दिन रोक लगाएको छ । बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई सरकारले खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसले विद्यार्थीहरू विद्यालय छोडेर जान रोकिने तथा शिक्षण सिकाइमा उपलब्धि समेत बढ्ने अपेक्षा सहित यस प्रकारको कार्यक्रम सञ्चालन गरेको हो ।

घोराही उपमहानगरपालिका वडा नं. १४ मा रहेको बालविकास माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले घरबाटै खाजा लिएर खाने गरेका छन् । विद्यालयमा खाजा बनाएर खुवाउन सुरु नभएकाले विद्यार्थीहरूले घरबाटै खाजा ल्याएर खाने गरेको विद्यालयका प्रधानाध्यापक श्रीधर पोख्रेलले बताए । ‘अहिलेसम्म विद्यालयमा खाजा बनाउन सुरु भएको छैन, त्यसैले घरबाट नै ल्याएर खाजा खाने गरेका छन्’ उनले भने ।

Blog Post Ad

विद्यालयले आफैले खाजा बनाएर खुवाउनका लागि जनशक्ति नभएको उनले बताए । ठेक्कामार्फत् विद्यार्थीहरूलाई खाजा बनाएर खुवाउने व्यक्ति वा संस्था छनोट गर्ने प्रक्रिया सुरु गरिसकिएको प्रअ पोख्रेल बताउँछन् । ‘ठेक्का आह्वान गर्ने निर्णय भइसकेको छ, केही दिनमा ठेक्का आह्वान गरिनेछ’, प्रअ पोख्रेलले भने ।

घोराही उपमहानगरपालिका वडा नं १८ आधारभूत विद्यालय गिठेपानीका विद्यार्थीहरूले पनि आफै खाजा लिएर आउने गरेका छन् । विद्यालयमा खाजा बनाएर खान दिन सुरु नभएका कारण विद्यार्थीहरूले आफैले घरबाट खाजा ल्याउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश वलीले बताए । ‘विद्यालयमा खाजा बनाउनका लागि आवश्यक जनशक्ति छैन’, अध्यक्ष वलीले भने, ‘जनशक्ति नहुँदा कम हुँदा आफै बनाउन सकिने अवस्था नभएपछि कसरी अगाडि बढ्ने भन्ने बारेमा छिट्टै छलफल गरेर निर्णय गरिनेछ’, वलीले भने ।

रकम थोरै भएका कारणले पनि ठेक्कामा लिनेहरू धेरैले मन नगर्ने गरेको उनले बताए । ‘रकम थोरै छ, सरकारले तोकेको मापदण्डअनुसार खाजा बनाएर खुवाउनुपर्ने भएकाले पनि धेरैले मन गर्दैनन्’, वलीले भने । सरकारले माघ १ गतेदेखि विद्यार्थीहरूलाई खाजाको रकम नगद नदिने भनेर जानकारी गराएको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शाखा अधिकृत नारायणप्रसाद पौडेलले बताए ।

पुस मसान्तसम्म नगद रकम दिए पनि माघदेखि नगद नदिने उनले बताए । विद्यालयहरूले आफैले खाजा बनाएर खुवाउनुपर्ने वा ठेक्का आह्वान गरेर भए पनि खाजा बनाएर खुवाउनुपर्ने व्यवस्था गरिएको उनले बताए । ठेक्कामा दिँदा सरकारी निकायमा दर्ता भएको हुनु पर्नेछ । विद्यालय वा ठेक्काबाट छनोट भएकाले विद्यार्थीलाई खाजा खुवाएको बिल भरपाई बुझाएपछि मात्र रकम पाउने व्यवस्था छ ।

सरकारले दैनिक रूपमा के–के खुवाउने भनेर निर्धारण गरेको र त्यसैअनुसार खाजा खुवाउनु पर्नेछ । जिल्लामा झण्डै ४ सय बढी सामुदायिक विद्यालयहरू छन् । घोराही क्षेत्रमा मात्र ९२ बढी सामुदायिक विद्यालयहरू छन् ।

Blog Post Ad Blog Post Ad