Ad Area

रुकुम सिस्नेको जङ्गलमा दर्जन बढी सकेट बम फेला


रुकुम,२७ फागुन । रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जङ्गलमा सकेट बम फेला परेको छ। कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा सकेट बम फेला परेको हो।

बिहीबार दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जानकारी गराएका थिए। वडाले इलाका प्रहरी कार्यालय प्वाङमा खबर गरेपछि प्रहरी टोली उक्त बमको निगरानीमा खटिएको वडाध्यक्ष जीवन केसीले बताए।

१० वर्षे सशस्त्र जनयुद्ध क्रममा लुकाइ राखेको बमका सकेट हुन सक्ने वडाध्यक्ष केसीले जानकारी दिए। जङ्गलमा रहेको ओढारमा ड्रमभित्र राखेको वस्तु सकेट बम रहेको प्रहरीले जनाएको छ। बमको सङ्ख्या यकिन नभए पनि दर्जनभन्दा धेरै नै रहेको हुनसक्ने प्रहरीको अनुमान छ।

सकेट बम रहेको ठाउँमा निगरानी गरिएको र शुक्रबार जिल्ला सदरमुकाम रुकुमकोटबाट नेपाली सेनाको टोली गएर डिस्पोज गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी गणेशबहादुर श्रेष्ठले जानकारी दिए।

Blog Post Ad Blog Post Ad