Ad Area

वृद्ध बाआमालाई राम्रोसँग पाल्ने छोराबुहारी …


तीर्थराज ज्ञवाली
सिसहिनिया(देउखुरी), ४ चैत । साहित्यकार अमर न्यौपानेले एउटा उपन्यास लेखे, सेतो धर्ती । त्यही पुस्तकले नेपालकै सबैभन्दा ठूलो धनराशी र सम्मानको पुरस्कार मदन पुरस्कार पाउन सफल भयो । सेतो धर्ती एउटा वृद्धाश्रममा रहेकी वृद्धाको बालविवाह पछिको वृद्धाश्रमको जीवनमा आधारित थियो । हाम्रो समाज अशक्तलाई लालनपालन गर्नुको साटो आर्थिक हैसियत देखाउन आफ्ना अग्रजहरूलाई वृद्धाश्रममा पठाउन उद्धत देखिन्छ ।

यही परीवेशलाई अन्त्य गर्न राप्ती गाउँपालिकाले एउटा भिन्न सामाजिक अभियान ल्याएको छ । ज्येष्ठ नागरिकलाई आफ्नै घरमा राम्रोसँग स्याहारसुसार गर्ने परिवारका मुख्य जोडीलाई सम्मान गर्ने । यही अभियान अनुरूप विहीवार गाउँपालिकाले यस्ता कम्तिमा ३६ जोडीलाई सम्मान समेत गरेको छ । जसले आफ्ना बुबाआमा÷सासुससुरालाई राम्रोसँग जीवनको अन्तिम घडीसम्म पनि घरमै स्याहारसुसार पु¥याएको छ, त्यस्ता परिवारका जोडीहरूलाई सम्मान गर्ने गाउँपालिकाको सामाजिक लक्ष्य थियो ।

त्यही क्रममा ज्येष्ठ नागरिकहरूलाई राम्रोसँग उनीहरूको चाहनाअनुसार सम्मान गर्ने परिवारका जोडीहरूलाई सम्मान गरिरहँदा लालनपालनमा मुख्य भूमिका निर्वाह गर्ने यी जोडीहरूको मुस्कानले कार्यक्रम स्थल नै रोमाञ्चक बनेको थियो । सम्मानित हुनेहरूले पनि आफूले गरेको योगदानको कदर भएकोमा औधि खुसी देखिन्थे । ‘काम लाग्दा भाँडो नचाहिँदा ठाँडो’ भन्ने उखानटुक्कालाई ‘अब्जेक्सन’ गर्दै ज्येष्ठ नागरिकले यस अघि गरेका सामाजिक योगदानको स्मरण गर्दै अन्तिम पलसम्म पनि ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्ने अधिकारको सुनिश्चित गर्न यो अभियान ल्याइएको गाउँपालिकाको सामाजिक शाखाले जनाएको छ ।

यो अभियान सबै गाउँपालिकाले अनुशरण गर्दै आए परिवारका सबै ज्येष्ठ नागरिकका लागि वृद्धाश्रमको परिकल्पना गर्नै नपर्ने गाउपालिकाका प्रमुख नुमानन्द सुवेदीले बताएका छन् । जात, उमेर, लिङ्ग, वर्गलगायत सबै कुरामा हरेक नागरिकलाई उपेक्षा गर्न हुंदैन, हरेक नागरिकको समाजमा उत्तिकै दायित्व हुन्छ भनेर ज्येष्ठ नागरिकलाई राम्रोसँग स्याहारसुसार गर्नेहरूलाई सम्मान गरिएको सुवेदीको अभिव्यक्ति थियो ।

यद्यपि, समाजमा ज्येष्ठ नागरिकहरूले आर्थिक एवं भौतिक रूपमा प्रतिफल दिन कमजोर बन्दै गएको अवस्थामा उनीहरूलाई स्याहारसुसार गर्न परिवारका सदस्यहरू नै गुमनाम हुने र समाजमा अनेक खालका विग्रहहरू देखिने गरेको सामाजिक अभियन्ता एवं समाजशास्त्रीहरूले बताउँदै आएका छन् । दाङमै रहेको एक मात्र वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरूको अवस्था विश्लेषण गर्दा धेरै आश्रितहरू सम्भ्रान्त परिवारकै देखिएका छन् तर पनि उनीहरूले आफ्नो जीवनको अन्तिम घडीमा परिवारका सबै नातागोताबाट टाढा भएर मृत्यु पर्खिरहेको देखिन्छ । जसलाई समाजशास्त्रीहरूले सामाजिक अपराधका रूपमा पनि लिने गरेका छन् । यसले सच्चा पारिवारिक स्नेह प्राप्त हुन नसक्ने पनि उनीहरूको तर्क रहेको छ ।

ज्येष्ठ नागरिकहरूको सम्मान र जीविकोपार्जनका लागि सरकारले सामाजिक सुरक्षाभत्ता त उपलब्ध गराएको छ । वृद्धवृद्धाहरूलाई त्यही भत्ता पनि सही तवरले घरपरिवारमै सदुपयोग गर्ने परिवारको मूलीले व्यवस्थापन मिलाउन नसक्दा कतिपय वृद्धवृद्धाहरूले बृद्धाश्रममै वृद्धभत्ता बुझ्ने गरेका छन् । जुन सामाजिक न्यायको विपरीत पनि हो । कतिपय परिवारले ज्येष्ठ नागरिकले पाउने वृद्धभत्ताको पनि दुरूपयोग गर्दै ज्येष्ठ नागरिकलाई उनीहरूको चाहना अनुरूप खर्च गर्न नदिइएको पनि गुनासो ज्येष्ठ नागरिकहरूकै छ । खासमा ज्येष्ठ नागरिक र ५ वर्ष मुनिका बालबालिकाहरूको स्वभाव उस्तै–उस्तै प्रकृतिको हुन्छ । अर्थात्, ज्येष्ठ नागरिकहरू यथार्थमा भगवानकै स्वरूप पनि हुन भन्ने धार्मिक विश्वास छ ।

Blog Post Ad

ज्येष्ठ नागरिकको राम्रो स्याहारसुसार गरेका घरपरिवारका छोरा–बुहारी तथा छोरी–ज्वाईलाई प्रोत्साहनका लागि सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । यो कार्यक्रम खासमा वृद्धाश्रमरहित समाज निर्माणको परिकल्पनाका लागि आयोजना गरिएको राप्ती गाउँपालिका सामाजिक विकास शाखाका प्रमुख जीवनकुमारी जिसीले बताइन् । राप्ती गाउँपालिकाको नियमित कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकको पालनपोषण समुदायमा राम्रो होस् भनेर स्याहारसुसार राम्रो गरेका परिवारका सदस्यहरूलाई दोसल्ला तथा प्रमाणपत्रको साथ सम्मान गरिएको हो । राप्ती गाउँपालिकाका ९ वटा वडाबाट ३६ जोडीलाई गाउँपालिकाले सम्मान गरेको हो । प्रत्येक वडाबाट ४ जोडीका दरले श्रीमान–श्रीमतीलाई सम्मान गरिएको छ ।

राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले समायोजन गरेको हो । आगामी दिनमा ज्येष्ठ नागरिकको राम्रो स्याहारसुसार तथा पालन–पोषणमा सहयोग पु¥याउने उद्देश्य तथा ज्येष्ठ नागरिकले घरपरिवारमा तिरस्कार, दुःख नपाऊन भन्नका लागि सजकता दिलाउन ज्येष्ठ नागरिकलाई राम्रो स्याहार गर्ने छोरा–बुहारी तथा छोरी–ज्वाईलाई प्रोत्साहनका लागि सम्मान गरिएको सो अवसरमा बताइएको छ ।

 

Blog Post Ad Blog Post Ad