Ad Area

आज रंङहरुको पर्व होली मनाईदै


होलीलाई सभ्य र मर्यादित बनाउन आग्रह

दाङ, ४ चैत । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व विहीवार तराईका जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ । होली हिजो विहीवार हिमाली तथा पहाडी जिल्लाहरूमा मनाइएको भए तापनि आज (शुक्रवार) दाङसहितका तराईका जिल्लाहरूमा हर्षोल्लासका साथ रङहरुसँग खेलेर मनाइँदैछ ।

होली पर्व मुख्य गरी दुई दिन रङहरूसँग मनाउने प्रचलन छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण गएका दुई वर्ष होली मनाउन नपाएका नागरिकले यस वर्ष निर्धक्कसँग होली पर्व मनाउन थालेका छन् । हिन्दु धर्मावलम्बीहरूले पवित्र पर्वका रूपमा लिने होलीलाई आपसी मेलमिलाप र सद्भावको पर्वका रूपमा समेत मनाउने गर्दछन् । होली नेपालका सबै क्षेत्रहरूका जातजातिले हर्षोल्लासका साथ मनाउने पर्व समेत रहेको छ ।

होलीको अवसरमा विभिन्न संघसंस्थाले कार्यक्रमको आयोजना समेत गर्ने गर्दछन् । होली पर्वको अवसरमा साथीभाइ तथा इष्टमित्रहरू एकठाउँमा जम्मा भएर रङहरूसँग खेल्दै रमाइलो गर्ने प्रचलन छ । होली आपसी मेलमिलाप र सद्भावको पर्व भए पनि युवायुवतीहरूले उत्ताउलो रूपमा मनाउने गर्दछन् । जसलाई रोक्नका लागि प्रहरीले सार्वजनिक सूचना समेत निकालेको छ । सडकमा काम विशेषले हिड्नेलाई इच्छा विपरीत रङ दल्ने र लोला हान्ने काम नगर्न आग्रह गर्दै जवर्जस्ती रङ दल्ने र लोला हान्ने काम गरे कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा होली पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा रङहरूको पर्व होली खेल्ने परम्परा चलिआएको विश्वास गरिन्छ । हिन्दु धर्मावलम्बीहरूले यसलाई महत्वपूर्ण चाडका रूपमा लिने गरेको हुँदा होलीमा रङहरूको टीका लगाइ मनाउने गरिन्छ । फागु पर्वको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

Blog Post Ad

यसैबीच जिल्ला प्रहरी कार्यालय दाङले होली पर्वलाई सभ्य र मर्यादित पर्वका रूपमा मनाउन सम्पूर्णलाई आग्रह गरेको छ । सामाजिक सञ्जालमार्फत् प्रहरीले पारिवारिक र खुसी साटासाटको पर्वका रूपमा मनाउन आग्रह गर्दै इच्छा विपरीत रङ दल्ने, लोला हान्ने, मोविल, केमिकल, पेन्ट, गोलभेडा, अण्डालगायत नहान्न आग्रह गर्दै होली मनाउँदा यौनजन्य दुव्र्यवहारबाट जोगिन समेत सबैमा आग्रह गरेको छ । इच्छा विपरीत रङ दल्ने, लोला हान्ने र यौनजन्य दुव्र्यवहार गरे प्रहरीलाई खबर गर्न समेत जिल्ला प्रहरी कार्यालय दाङले सबैमा अनुरोध गरेको छ ।

Blog Post Ad Blog Post Ad