Ad Area

राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको कृषकहरुको गुनासो


घोराही, ९ चैत्र । वास्तविक कृषकहरु जहिले पनि राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन् । कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय अस्थायी मुकाम बुटवलले बुधबार घोराहीमा आयोजना गरेको कृषि उपज बजारका सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा सहभागी लुम्बिनी प्रदेशभरका कृषि उपज बजार संचालक प्रतिनिधि एवं कृषकहरुले कृषकको हीतमा काम गर्न कुनै तथ्यांक नभई व्यवहाकि कार्यान्वयनमा जानुपर्ने सुझाव दिएका छन् ।

कृषि हाटबजार पाल्पाका अध्यक्ष श्रीकृष्ण पाण्डेले प्रदेशका १२ वटै जिल्लालाई विशिष्टिकृत गर्न जरुरी रहेको बताए । हरेक जिल्लाको उत्पादनलाई ब्रान्डिङ गर्न र त्यहाँका कृषकले उत्पादन गरेका बस्तुलाई बजारसम्म जोड्ने दीर्घकालीन योजना बनाउनु आग्रह गरे ।

यसैगरी, अर्घाखाँचीका कृषि उद्यमी विष्णुहरि भुसालले पालिकामा अहिले पनि कृषि सम्बन्धि ज्ञान दिने विज्ञ नरहेकाले कृषकले निकै सास्ती व्यहोर्नु परेको गुनासो गरे। कृषकको अवस्थाबारे जानकारी लिन र सेवा दिन जिल्लाका हरेक कृषि कार्यालयले भुमिका बढाउनुपर्ने बताए । जसका लागि ठोस योजना ल्याउन र लागू गर्न सक्ने कुरा स्पष्ट पार्न अपिल गरे । यसैगरी, तानसेनका कृषक महेश्वर पन्तले यो कारणले काम गरेको छौँ भन्ने स्पष्ट आधार दिन नसक्ने हो भने कृषकहरुको अवस्थामा सुधार ल्याउन चुनौति रहेको बताए।

कोहलपुर बाँकेका कृषक उदीराम वलीले किसान र बजारबीचको सम्बन्ध स्थापित गर्न आग्रह गरे । उनले अहिलेसम्म पनि कृषि बजार ऐन नभएको बताउँदै कृषकको पहिचान दिन माग गरे । यसैगरी, अन्तरक्रिया कार्यक्रममा बाँकेकै अर्का कृषक सन्तबिर सुनार, गुल्मीका दधिराम कँडेल, रुपन्देहीमा रोहितप्रसाद गुप्तालगायतले कृषकलाई बजारसँग जोड्न आग्रह गरे।

हाट बजार उद्यमी र कृषकबाट उठेका जिज्ञासाको जवाफ दिँदै कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय हरिप्रसाद पण्डितले प्रदेश तह नयाँ भएकोले सिक्ने प्रकृयामा रहेकाले गर्ने जति काम हुन नसकेको स्वीकार गरे। उनले जति काम हुनुपर्थ्यो त्यो अवस्थामा राज्य पनि पुगि नसकेको बताउँदै सबै क्षेत्रको सहयोगले मात्रै सम्भव हुने बताए ।

Blog Post Ad

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालले स्थानीय तहले कृषकको क्षमता बढाउन तथा उत्पादित बस्तुको बजारीकरणका लागि समन्वयात्मक काम गर्दै आएको बताए । सो अवसरमा कृषि ज्ञान केन्द्र दाङका प्रमुख वुद्धिराज घिमिरे, मन्त्रालयका सचिव बैकुण्ठ अधिकारी, १२ वटै जिल्लाका कृषक एवं हाट बजार व्यवस्थापक, प्रतिनिधिले आआफ्ना अनुभव र धारणा राखेका थिए।

Blog Post Ad Blog Post Ad