Ad Area

घोराही १४ को सार्वजनिक सुनुवाईमा नागरिकको गुनासो : काम गर्छौ भन्ने तर नगर्ने प्रवृति हटिन


दाङ, १३ चैत । घोराही उपमहानगरपालिका–१४ ले चालु आर्थिक बर्षको दोस्रो चौमासिकको समीक्षा तथा सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरिकले जनताको सबैभन्दा नजिकको सरकारको रुपमा रहेको स्थानीय तहका जनप्रतिनिधिसँगै कर्मचारीहरुले काम गर्छौ भन्ने तर नगर्ने प्रवृत्तिका कारण जनताले दुःख पाउनुपर्ने अवस्था हट्न नसकेको गुनासो गरेका छन् ।

कार्यक्रममा सहभागी घोराही–१४ पुरानो बसपार्क सभागृह टोल विकास संस्था निवासी सन्तबहादुर थापाले आफ्नो टोलमा एक बर्षअघि कालोपत्रे हुनुपर्ने सडक अझै बन्न नसकेको गुनासो गरे । सडक निर्माणका लागि आफू वडा कार्यालय, योजना शाखा प्रमुखसँगै नगर प्रमुखलाई पटक–पटक भेटेर सडकको बारेमा ध्यानाकर्षण गराउँदा समेत सडक नबनेपछि आफू थाकेर बसेको गुनासो गरे । ‘करिब डेढ बर्षअघि सडक काटेर बनाउने भनेपछि डोजर लगाउनदेखि राजश्वसमेत टोलका तर्फबाट ति¥यौँ ।

तर बाटो बनाउने काम भएन’, उनले भने– ‘काटिएको बाटो बनाउनका लागि वडा, उपमहानगरपालिका डिईसँगै नगर प्रमुखलाई चार पटक भेटे तर सबैले काम गर्छौ भन्नुभयो तर अहिलेसम्म कसैले काम गर्न सक्नुभएन ।’ उनले जसले गर्दा पुरानो बसपार्कबाट नयाँ बसपार्क झर्ने बाटो र लालीगुराँस टोल र स्वर्गद्वारी टोलको सीमाको बाटो डेढ बर्षदेखि अलपत्र भएको बताए । त्यसैगरी एकराज खनालले उपमहानगरपालिकाले समयमै काम नगर्ने र असार लाग्नै लाग्दा काम गर्ने प्रवृत्तिमा सुधार गर्न नसकेको गुनासो गरे । साथै उनले नाला निर्माण नगरेर सडक कालोपत्रे गर्दा दोहोरो खर्च हुने गरेको भन्दै त्यसलाई रोक्न समेत आग्रह गरे ।

सार्वजनिक सुनुवाई कार्यक्रममा अन्य सहभागीहरुले पहिले सडक कालोपत्रे गर्ने र पछि नाला बनाउने कार्य थाल्नुपर्ने, समयमै सडक मर्मत सुधार गर्नुपर्ने, घोराहीमा व्यवस्थित पार्किङको व्यवस्था गर्नुपर्ने, सडक बनाउन खानेपानी, टेलिकमलगायतका निकायसँग समन्वय गर्नुपर्ने, निर्माण सामग्रीको सडकमा राख्न नहुनु, नालाबाट फोहोर सहज ढंगले बगाउने, सडक बत्ती भरपर्दो हुनुपर्ने, कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क गर्नुपर्ने, लागूऔषध दुव्र्यसनीलाई रोक्नुपर्ने, पार्किङलाई व्यवस्थित गर्नुपर्नलगायतका विषयमा कुरा राखेका थिए ।

वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको सार्वजनिक कार्यक्रममा कार्यक्रममा सहभागीहरुले उठाएको प्रश्नको जवाफ दिँदै घोराही उपमहानगरापालिकाका प्रमुख नरुलाल चौधरीले गुनासोरहित काम गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका थिए । उनले नगरले गर्ने सबै काममा गुणस्तरीय र गुनासोरहित बनाउने प्रयासमै रहेको भन्दै त्यसको निगरानी सबै सरोकारवाला र नगरबासीहरुले गर्नुपर्नेमा जोड दिएका थिए ।

शिक्षामा विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान, तह अनुसारको प्रधानाध्यापकको व्यवस्था गरेको जानकारी दिए । नगर प्रमुख चौधरीले घोराहीमा कालोपत्रे सडकलाई बलियो बनाउन अक्सपाल विधि अपनाइएको बताएका थिए । कार्यक्रममा वडाबासीहरुले एकीकृत समन्वयकारी भूमिका नहुँदा अघि हुनुपर्ने काम पछि र पछि हुने काम अघि भएको बताएका छन् ।

Blog Post Ad

त्यसैगरी वडाध्यक्ष शक्तिराम डाँगीले वडाको विकास र जनताको सहजताका लागि धेरै काम गरेको भन्दै कानुनी जटिलताका कारण केही माग सम्बोधन गर्न नसकिएको बताएका थिए । उनले वडा तहबाट गर्नुपर्ने काममा जनतालाई गुनासो गर्ने ठाउँ सकेसम्म नदिने गरी काम गरिरहेको बताएका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, उपमहानगरपालिका डिई युवराज पौडेललगायतले नगरको विकासका लागि काम भइरहेको भन्दै कानुनी जटिलता र निर्माण व्यवसायीको लापरबाहीका कारण केही ठाउँमा काम गर्न समस्या भएको बताएका थिए ।

कार्यक्रममा आर्थिक बर्ष २०७८÷०७९ मा वडाले गरेका कार्यक्रमको बारेमा जानकारी गराइएको थियो । वडाको कूल ७३ वटा योजना रहेको तीमध्ये २६ वटा योजना सम्पन्न भएकोमा १६ वटा योजनाको भुक्तानी समेत भैसकेको वडा कार्यालयले जनाएको छ । बाँकी ६७ वटा योजना पनि सम्झौता भैसकेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नरबहादुर बुढाथोकी, तुलसीराम दाहाल, अनिल सेर्पाईली, दुर्गाबहादुर थापा, भानुभक्त पाण्डे, सुभाष नेपालीलगायतले सुझाब र गुनासो राखेका थिए ।

कार्यक्रममा उठेका बिषयमा नगर प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, वडाध्यक्ष शक्तिराम डाँगी, पूर्वाधार महाशाखा प्रमुख युवराज पौडेल, राजश्व शाखा प्रमुख कृष्णकुमार केसी, वडा प्रहरी कार्यालयका प्रमुख हृदेश सापकोटा, ट्राफिक प्रहरी प्रमुख थम्मन जिसी लगायतले जवाफ दिएका थिए । कार्यक्रमको सहजीकरण पत्रकार चन्द्रप्रकाश नेपालीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad