Ad Area

घोराहीमा संचालन भयो वायो ग्यास, पाईपलाईनमार्फत ग्यास वितरणको तयारी


घोराही,२० चैत्र । दाङ घोराही उपमहानगरपालिकाको वडा नम्बर १६ करौतिडाँडामा २४ करोड बढीको लागतमा वायो ग्यास प्लान्ट निर्माण गरेर औपचारिक रुपमा ग्यास निकालिएको छ ।

शनिबार एक कार्यक्रमका बीच घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपानेलगायतको विशेष उपस्थितीमा वायो ग्यास उदघाटन गरिएको हो । घोराही उपमहानगरपालिका र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र काठमाडौंँको सहयोग र नेपाल उर्जा विकास कम्पनी प्राली काठमाडौंको प्रवद्र्धनमा २०७५ बाट निर्माण थालनी गरिएको वायो ग्यासबाट चुलोमा आगो बाल्दै औपचारिक उदघाटन गरिएको हो ।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख नरुलाल चौधरीले फोहोरलाई मोहरमा बदल्ने आफूहरुको सपना साकार भएको बताए । उनले जनप्रतिनिधि हुनुभन्दा पहिलेदेखि नै फोहोरबाट ग्यास निकाल्ने सोच बनाएको भन्दै नगरप्रमुख भएर आएपछि प्रमुख प्राथामिकताका साथ काम गरेकाले अहिले सफल भएको धारणा राखे । ‘बढ्दो शहरीकरणलाई दीगो व्यवस्थापन गर्न तथा पर्यावरण जोगाई राख्न यो आवश्यक थियो, अब घोराही उपमहानगरबासीले फोहोर व्यवस्थापन कसरी गर्ने भनेर टाउको दुखाउने दिन अन्त्य भएको छ,’ उनले भने, ‘पालिकाले नगरबासीबाट फोहोर लिन्छ अनि सुलभ दरमा सजिलै वायोग्यास दिन्छ ।’

उनले गल्ने फोहोरलाई मोहर बनाउने र नगल्ने फाहोरलाई नगरले नै खरिद गर्ने हुँदा यि दुईलाई छुट्टाछुट्टै राखिदिन पनि नगरवासीलाई आग्रह गरे । ‘फोहोर श्रोटबाटै अलग गरेर प्लान्टसम्म ल्याउन हामीले घरबाटै अलग गर्न जरुरी छ, सबै खालका फोहोरलाई हामी व्यवस्थापनमा जुटेका छौँ,’ उनले भने, ‘यसले बढ्दो शहरीकरणले वातावरण जोगाउन चुनौति भएको बेला मानवीय सभ्यता जोगाउन सहज हुनेछ ।’

Blog Post Ad

उनले उपमहानगरलाई शुन्य ल्याण्डफिल साईटमा लैजान यो परियोजना निकै प्रभावकारी हुने दावी गरे । उनले घोराही उपमहानगरमा वितेको ५ वर्षमा सरसफाइ अनुशासन कायम गर्न सफल भएको बताउँदै यसले निरन्तरता पाएको बताए । ‘पालिकाको यो नयाँ मोडेल हो’ उनले भने, ‘फोहोर चुनौति होईन, अवसर हो भन्ने कुरा नगरबासीले बुझेका छन् , पीपीपी मोडलमा गरिएको यो काम घोराही उपमहानगरका लागि गौरवको काम पनि हो ।’

यस्तै घोराही उपमहानगरपालिकाकी उपप्रमुख सितासिग्देल न्यौपानले फोहोरबाट ग्यास उत्पादन भएको र यसलाई दीर्घकालिन रुपमा सञ्चालन गर्न सबै लाग्नु पर्ने बताईन् । उनले फोहोरबाट ग्यास उत्पादन मात्र नभएर घोराहीको फोहोरलाई उचित व्यवस्थान गर्न सहयोग पुगेको धारणा राखिन् ।

कार्यक्रममा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका म्यानेजर रणबहादुर थापाले नेपालमै यस किसिमको वैकल्पिक उर्जा उत्दान गर्न सके पेट्रोलियम पदार्थ खरिने गर्ने नेपालको ठूलो धनरासी बचत हुने बताए । उनले आर्थिक अभावमा यस्ता प्लान्टहरु नेपालमा बन्न नसकेको भन्दै जैविक विविधताले भरिएको नेपालमा अन्य थुप्रै प्लान्टहरु निर्माण गर्न सकिने जानकारी दिए ।

घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले फोहोरबाट ग्यास उत्पादन घोराहीको एक सफल काम भएको भन्दै यसलाई थप व्यवस्थित गर्न लाग्नु पर्ने बताए । उनले नेपालमै दोस्रो पटक घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्यास निकालेको पनि जानकारी दिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले फोहोरबाट ग्यास निकाल्ने कार्य नागरिकले सोचेको भन्दा परको कुरा भएपनि सम्भव हुन निकै राम्रो भएको बताए । जैविक फोहोरबाट ग्यास निकाल्नु पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण रहेको धारणा उनीहरुको थियो । वातावरण संरक्षण सँगै पेट्रोलियम पदार्थमा राज्यको रकम खर्च रोक्न सके बचेको पैसाले अरु विकासमा लगानी गर्न सकिने हुँदा यसलाई दीगो विकास लक्ष्यको आधारका रुपमा पनि लिनुपर्ने बताए ।

फोहोरबाट ग्यास निकाले पनि हाल नागरिकको घरमा भने पुग्न सकेको छैन । घोराही १६ को गरुवागाउँ, सर्रालगायत घोराही १० को नारायणपुर क्षेत्रका नागरिकलाई पाइपबाट ग्यास घरघरमा पुर्याउने लक्ष्य भएपनि कोरोनाका कारण केही समय ढिला भएको निर्माण कम्पनी नेपाल उर्जा विकास कम्पनीले जनाएको छ ।

जसका लागि आउने बैशाखसम्म गरुवागाउँका घरघरमा भने पाइपबाट ग्यास पुर्याइने प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए । उनले दुई तीन दिनमा पाइप विच्छ्याउने काम सुरु हुने भन्दै छिट्टै नागरिकको घरघरमा ग्यास पुग्ने दाबी गरे । वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा सरकारका पूर्व सचिव एवं प्रालिका सल्लाहकार कृष्णप्रसाद पोख्रेलले यसको दीगोपनासँगै लाभग्राहीमा सचेतना फैलाउन आवश्यक रहेको बताए।

२०७५ साल मंसिर ५ गते घोराही उपमहानगरपालिकाले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र नेपाल उर्जा विकास कम्पनी प्रालिसँग त्रिपक्षिय सम्झौता गरेर फोहरबाट ग्याँस र मल उत्पादन गर्ने सहमती गर्यो । सम्झौताको ३ बर्षपछि अहिले ग्यास उत्पादन सुरु भएको छ ।

वडा नम्बर १६ करौटीडाँडामा शुरुवाती चरणमा १९ करोडमा निर्माण सम्पन्न गरी वायो ग्यास उत्पादन गर्ने लक्ष्य लिईएपनि कोरोनाका कारण भएको ढिलाई तथा मोडल परिवर्तन गर्दा अहिलेसम्म २४ करोड रुपैयाँ बढीको लागतमा ग्यास उत्पादन गर्न सम्भव भएको छ । वायो ग्यास उद्योगभित्रै कर्मचारीहरुले अहिले सोही ग्यासबाट खाना पकाउने गरेका छन् । पहिलो चरणमा ४ सय घरधुरीमा पाईप लाईन मार्फत पु¥याउने योजना अनुसार काम अघि बढाएको छ । यसलाई बिस्तार गर्दै उपभोक्ताको घरघरमा पाईपलाईनबाट चुलोमा पुर्याईने छ ।

ग्यास प्लान्ट आसपासका स्थानीय, नारायणपुर, सर्रामा पुर्याउने गरी पूर्वाधारहरु जडानको काम भैरहेको छ । पाइपमार्फत ग्यास प्रयोग गरेवापत उपभोक्ताहरुले मिटर अनुसार रकम तिर्नुपर्ने छ । आगामी बैशाख १ गतेदेखि उपभोक्ताको घरघरमा ग्यास पुर्याउने योजना रहेको उपमहानगरको भनाई छ ।

अहिले दैनिक २५० घनमिटर ग्यास उत्पादन भैरहेको र बेलुनमा भरेर राखिएको छ । अन्य ग्यासको मूल्यको तुलनामा २ सयदेखि साढे २ सय रुपैयाँ थोरै मूल्यमा उपभोक्तालाई बिक्रि गर्ने समेत पालिकाको भनाई छ । फोहरबाट ग्यास उत्पादनका लागि वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले ४० प्रतिशत रकम दिनेछ भने ६० प्रतिशत कम्पनी आफैले व्यहोर्ने सहमति भएको छ । संरचना निर्माणका लागि नगरपालिकाले करिब ३ बिगाहा जग्गा उपलब्ध गराएको छ । फोहरबाट ग्याससँगै कम्पोष्ट मलसमेत उत्पादन गर्ने तयारी भएको छ ।

अहिले तत्कालका लागि गल्ने फोहरहरु निकै थोरै रहेको र त्यसको पूर्तिका लागि बस्तुभाउका गोबर समेत प्रयोगमा ल्याईएको छ । घोराहीसँगै तुलसीपुर र लमही नगरबाट समेत फोहरहरु ल्याउनु पर्ने अवस्था देखिदै गएपनि फोहोरका श्रोत पहिचान गरी आवश्यक गल्ने फोहोरको जोहो गर्न थालिएको हो ।

सो कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ । सम्झौता अनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधारहरु घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरिनेछ । २० वर्षसम्मका लागि कम्पनीले नगरपालिकालाई ५ प्रतिशत रकम दिने समेत सम्झौतामा उल्लेख गरिएको छ ।

Blog Post Ad Blog Post Ad