Ad Area

घोराहीमा खानेपानीको समस्या समाधानका लागि दिर्घकालिन योजना आवश्यक : राज्यमन्त्री श्रेष्ठ


दाङ,२० चैत । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले योजना सुरु गर्दा दीर्घकालीन सोच राखेर अगाडि बढाउनु पर्ने बताएका छन् । तीव्र रूपमा बढ्दै गएको जनसङ्ख्यालाई मध्येनजर गरेर लामो समयसम्म नागरिकले सेवा पाउन सक्ने गरी योजना बनाएर अगाडि बढ्नु पर्ने उनको भनाइ रहेको थियो । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २२औँ साधारणसभा तथा आठौँ अधिवेशनको शनिवार घोराहीमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘तत्कालैको मात्र नभइ दीर्घकालीन योजना बनाउन आवश्यक छ’, राज्यमन्त्री श्रेष्ठले भने । उनले पानी पछिल्लो समयमा निकै चुनौतीका रूपमा देखिन थालेको भन्दै भावि पुस्तालाई पनि सम्बोधन गर्नसक्ने विश्लेषण गरी नयाँ योजना अघि ल्याउन पनि आग्रह गरे । साथै उनले खानेपानी नेपालको संघात्मक संविधानले पनि मौलिक हकमा राखेकाले स्वच्छ र सफा खानेपानी उपलब्ध गराउनका लागि उपभोक्ता संस्था लाग्नुपर्ने बताए ।

नागरिक स्तरबाट बनाइएका योजनाहरू कार्यान्वयन गर्ने राज्यले पनि सहयोग गर्ने उनको भनाइ थियो । ‘सहज रूपमा पानीको पहुँचका लागि प्रदेश सरकार पनि लगानी गर्न तयार छ, दीर्घकालीन गुरूयोजना बनाएर पानीको समस्यालाई सम्बोधन गर्न आवश्यक छ’, प्रमुख अतिथि श्रेष्ठले भने । पानी अमूल्य चीज भएको भन्दै यसको सही सदुपयोग गर्ने समेत उनले आग्रह गरे । ‘पानीबिना मानिसको जीवन समेत रहन सक्दैन यसको महत्व बुझेर संरक्षण गर्ने लाग्नु पर्दछ’, राज्य मन्त्री श्रेष्ठले भने । नागरिकलाई शुलभ रूपमा गुणस्तरीय खानेपानी वितरण गर्ने समेत लाग्नु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले पानीको माग दैनिक बढ्दै गएको तर मुहान सुक्दै जान थालेको भन्दै यसतर्फ सबैको ध्यान पुग्नु पर्ने बताएका थिए । पानीको स्रोत संरक्षणमा स्थानीय सरकारहरूको ध्यान नपुगेको गुनासो समेत गरेका थिए । साथै विकास निर्माणका नाममा पानीका मुहानहरूमै हस्तक्षेपकारी भूमिकाहरू देखिएको बताउँदै सहभागीले पानीका मुहान जोगाउने सन्दर्भमा स्थानीय सरकार सबैभन्दा बढी गम्भीर र जिम्मेवार बन्न पनि आग्रह गरेका थिए । साथै पानीको संस्लेषण बढाउनका लागि जलाशय निर्माणसँगै अनियन्त्रित रूपमा चुनढुङ्गा उत्खनन् हुन नदिन पनि स्थानीय सरकारको भूमिकाको अपेक्षा सहभागीहरूले गरेका थिए ।

विकासका नाममा पानीका मुहानहरू मासिँदै गएको भन्दै यसले ठूलो समस्या निम्त्याउने उनीहरूको भनाइ रहेको थियो । जिल्लामा पानीको मुहान संरक्षणका लागि ठोस योजना सहित अगाडि बढ्न समेत सहभागीहरूले जोड दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, नेकपा एमालेका स्कूल विभाग प्रमुख विवेक श्रेष्ठ, नेकपा माओवादी केन्द्रका दिलकुमारी बुढा, राष्ट्रिय जनमोर्चाका समन्वय समितिका सचिव शशिराम बुढाथोकी, नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति भीमप्रकाश खड्का, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, महासंघका सल्लाहकार सविन प्रियासन, घोराही उपमहानगरपालिका वडा नं १४ का वडाध्यक्ष शक्तिराम डाँगीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Blog Post Ad

यसैगरी सो अवसरमा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारी, लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष जंगबहादुर चौधरी, संस्थाका सल्लाहकार केदारराज श्रेष्ठ, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्की, घोराही उपमहानगरपालिकाका डिई युवराज पौडेललगायतले भनाइ राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष देवीबहादुर डिसीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव सुमन शर्माले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष ध्रुव केसीले प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष भरतमणि पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सुमन शर्माले गरेका थिए ।

त्यस अवसरमा न्यूनतम रकम तथा अधिक्तम रकम नियमित रूपमा तिर्नेलाई सम्मान गरिएको थियो । यसैगरेर संस्थाका उत्कृष्ट कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो । अधिवेशनमा संस्थाका पदाधिकारीहरूको समयावधि ३ वर्षबाट बढाएर ४ वर्ष पु¥याउन समेत प्रस्ताव गरिएको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ । संस्थाले ६१ वटा सामुदायिक तथा ७ हजार ३ सय ४२ वटा निजी धारा गरेर ७ हजार ४ सय ३ वटा धारा जडान गरेको जनाएको छ । संस्थाले हाल घोराही उपमहानगरपालिकाका वडा नं १४, १५, १७ र १८ मा सेवा दिइरहेको छ ।

नागरिकलाइ खानेपानीको समस्या हुन नदिनका लागि बबईबाट लिफ्ट गरेर खानेपानी उपलब्ध गराउने योजना समेत अगाडि बढाउन थालेको संस्थाले जनाएको छ । यसरी लिफ्टमार्फत् बबईको पानी घोराहीसम्म ल्याएमा खानेपानीको समस्या समाधानमा हदसम्म सहयोग पुग्ने समेत संस्थाको बताएको छ ।

Blog Post Ad Blog Post Ad