नयाँ जनादेशबाट जनवैधता कायम गर्न एमाले निर्वाचनमा एक्लै जान तयार– महासचिव पोख्रेल

घाेराही, २२ चैत्र । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेपालको राष्ट्रिय राजनितीलाई ध्रुवीकरण गर्न वामपन्थी र दक्षिणपन्थी शक्ति मात्रै आवश्यक रहेको बताएका छन् । प्रेस चौतारी नेपाल दाङ शाखाले आज मंगलबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले देशको सर्वोपरी हीतका लागि दुुई राजनीतिक शक्ति स्थापित हुुनुुपर्ने बताए ।
उनले आउने वर्ष नेपाली नागरिकले दुई ध्रुवीकरण गर्ने शक्ति पहिचान गर्नेमा विश्वस्त रहेको बताउँदै निर्वाचनमार्फत देशलाई अग्रगामी निकास दिन अपिल गरे ।
‘देशमा रहेका विभिन्न आस्था बोकेका राजनीतिक शक्तिहरुलाई मुल्यांकन गरेर काम गर्ने अवसर दिने जिम्मा जनताको हो,’ उनले भने, ‘यसका लागि नेकपा एमाले जनताको पक्षमा हिजो पनि थियो आज पनि छ र भोलि पनि रहनेछ । हामी स्पष्ट बहुमतका साथ फेरि जनताको सेवामा फर्किनेछौँ ।’
हिजोका दिनमा वामपन्थी शक्ति र दक्षिणपन्थी शक्तिबीचको समझदारीलाई परिक्षणका रुपमा लिएको स्मरण गराउँदै उनले त्यो दिगो बन्न नसकेको बताए । अहिलेको परमादेशी सरकार नागरिकका लागि सरकार जस्तो नभएको दावी गर्दै उनले अब नयाँ जनदेशबाट जनवैधता कायम गर्न निर्वाचनमा नेकपा एमाले होमिएको बताए ।
यस्तै, नेता पोख्रेलले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसँग चुनावी तालमेल नहुने प्रष्ट पारेका छन् । उनले पार्टीसँग नभई तथी दलमा आवद्ध भएकाहरुलाई एकतामा सहमाहित गर्दै प्रचण्ड र माधव नेपालरहित वामएकताको पक्षमा एमाले रहेको स्पष्ट पारे ।
‘माओवादी र नेकपा एकीकृत समाजवादीसँग एमालेले चुनावी तालमेल गर्दैन बरु उनीहरूका कार्यकर्तालाई भने एमालेमा गोलबद्व गर्छौ र गराउँदै आएका छौँ,’ उनले भने ।
उहाँले पुुष्पपकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बाहेकका अरू सबैलाई एमालेले बाटो खुला गरेकाले आउन अपिल पनि गरे ।
कम्युनिस्टको सरकार ढालेर बुर्जुवाको सरकार निर्माण गर्नेहरू कम्युनिस्ट हुन नसक्ने जिकिर गर्दै यसका लागि बलियो कम्युनिस्ट निर्माणका एमाले लागि परेको बताए ।
आसन्न स्थानीय निर्वाचनका लागि पार्टीले यही महिनाको मसान्तसम्ममा उम्मेदवार सिफारिस गर्ने हुँदा विगतको कामको मुल्यांकन गर्दै प्रोत्साहित गरिने प्रष्ट पारे ।
विकास र सुशासनको प्रष्ट दृष्टिकोण भएकाहरु स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको प्राथमिकतामा पर्ने उनको भनाई थियो । पत्रकार सम्मेलन प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा भएको थियो ।