Ad Area

पाँच वर्षमा फेरिएको दंगीशरण


दिप्तीशिखा चौधरी

दंगीशरण,३० चैत । दंगीशरण गाउँपालिका थारुसमुदायको बाहुल्यता रहेको गाउँपालिका हो । अन्य जातीमा क्षेत्री, ब्राह्मण, दलित जातीको पनि बसोबास छ । यहाँका नागरीकहरु कृषि पेशामा आत्म निर्भर छन् । आम्दानीको स्रोत कृषिसँगैं साना उद्यौग, ब्यापार, सेवामुलक ब्यवसाय, नोकरीको साथै वैदेशिक रोजगारी पनि रहेको छ ।

कुल क्षेत्रफल ११०.७वर्ग किलोमिटर रहेको छ । २०७८ को जनगणना अनुशार दंगीशरणमा २३६७२ जनसख्ंया रहेको छ । जसमा महिला १२२३६ र पुुरुष ११४३६ छ भने जम्मा घरधुरी सख्ंया ५५७९ रहेको छ । दंगीशरणको डिजिटल प्रोफाईलको २०७७ को घरधुरी सर्वेक्षण अनुशार २६४२३ जनसख्या छ । जसमा महिला १२९४७ र पुरुष १३४७६ छ भने समावेश घरधुरी ५३५२ छ ।

दंगीशरण गाउँपालिकाले पाचँ वर्षको अवधिमा बिभिन्न कार्यक्रम तथा योजनाहरु पुरा गर्न सफल भएको छ । गाउँपालीकाले ‘हाम्रो प्रण, समृद्ध दंगीशरण’ भन्ने नारालाई सार्थकता दिदै योजनाका कार्यहरु धमाधम अगाडि बढाईराखेको छ । गाउँपालिका अध्यक्ष भागीराम चौधरीका अनुसार पहिलो वर्ष २०७४÷०७५ देखि २०७८÷०७९ सम्म आइृपुग्दा कृषि, स्वास्थय, खानेपानी, शिक्षा, सिचाई, सडक, जस्ता बिबिध योजना सफल भएका छन् । पहिलो वर्ष नीति बनाउँन र काम सिक्न समय लागेपछि योजनाहरु तर्जुमा गरि कार्यहरु प्रारम्भ गरिएको थियो । पाचँ वर्षको कार्यकालमा धेरै योजनाहरुसफल भएका छन् ।

भौतिक पूर्वाधार

सडक

Blog Post Ad

दंगीशरणमा भौतिक पूर्वाधार अन्र्तगत दंगीशरणका विभिन्न ठाउँमा १३ किलोमिटर सडक कालोपत्रे भएको छ । अध्यक्ष चौधरीका अनुशार संघ र प्रदेश सरकारको सहयोगमा हेकुली चोक देखि गोलटाकुरी जोड्ने ग्रामिण पहुँच मार्ग ६ किलो मिटर कालोपत्रे, पोटली मिरौली चखौरा रावतगाउँ एकली जोड्ने सडक २ किलो मिटर कालो पत्रे भईसकेको, ४ किलो मिटर हुने प्रक्रियामा रहेको, सुकदेवा बैबाङ दामोदर रोड ३ किलो मिटर र वागर देखि थपगाउँ डेढ किलोमीटर, सुकदेवा देखि नन्द्रागाउँ ५ सय मिटर कालोपत्रे भईसकेको छ ।

यसैगरी गाउँपालिकाको २० लाखको लागतमा ३ सय २० मिटर वुटनिया थारु गाउँ सडक कालोपत्रे भएको छ । यस्तै लेटार जुम्ले कुला सडकमा नाला निर्माण भईसकेको छ भने कालोपत्रे हुने प्रक्रियामा रहेको छ । त्यस्तै वंगालपुर हाउरे सडकमा पक्की नाला निर्माण भईसकेको कालोपत्रे हुन बाकि रहेको छ । यसैगरी लेटार जुम्लेकुला सडक नाला बनीसकेको र कालोपत्रे हुने प्रक्रियामा रहेको गरि २० किलोमिटर प्रक्रियामा रहेको छ ।

यस्तै गाउँपालिकाले ७ वटै वडामा पुराना सडक ग्राभेल र नयाँ बाटो ट्रयाक खोल्ने काम सम्पन्न गरेको छ । यस्तै साना खोला तथा कुलोहरुमा कल्भर्ट निर्माण गरिनुका साथै नाली निर्माणको काम सम्पन्न गरेको छ । वडा न. १ को चार वर्षको अवधिमा सडक ग्रोभेल,कल्भर्ट निर्माण, सडक स्तरोन्नती गरी ६६ वटा योजनाको काम सम्पन्न भएका छन् । यस्तै वडा न. २ मा ४९ वटा योजना सम्पन्न भएको छन् । वडा न. ३ मा ६० वटा, वडा न. ४ मा ४४ वटा, वडा न. ५ मा ३६ वटा , वडा न. ६ मा ३३ वटा र वडा न. ठ मा २२ वटा योजना सम्पन्न भएका छन् । २०७८ ÷७९ का योजनाहरुकेहि सम्पन्न भइसकेका छन् भने केहि सम्पन्न हुने क्रममा रहेको गाउँपालिकाले जनाएको छ ।

पुल

यस्तै दंगीशरणमा पुल पुलेसा बन्ने कार्यले गती लिएको छ । दंगीशरणमा बर्षौ देखि पुल पुलेसा नहुँदा बर्षातको समयमा नागरीकहरुलाई आवतजावतमा समस्या पर्दै आएको थियो अहिले भने पक्की पुल र झुलुंगे पुल निर्माण भएपश्चात त्यो समस्या टरेर गएको छ ।

दंगीशरणमा चिरेगार र माया खोल पुल गरि २ वटा पक्की पुल निर्माण भईसकेका छन् । गोल्टाकुरी र हेकुली जोड्ने बबई पुल भने अन्तीम चरणमा रहेको छ । यस्तै कलमखोला, मायाखोरा र बागर पुल निर्मााणाधिन प्रक्रियामा रहेका छन् ।यस्तै गाउँपालिकामा भौगोलीक रुपमा विकटता भएको क्षेत्रमा झोलुंगे पुल निर्माण गरिएको छ । वडा न. १ रहरपुर देखि पदमपुर जोड्ने झोलुंगे पुल, दंगीशरण र शान्तीनगर गाउँपालिका जोड्ने कालीतरा झुलुंगे पुल गरि २ वटा सम्पन्न भईसकेका छन् भने दंगीशरण वडा न. १ र वडा न. ६ गौसला जोड्ने झोलुंगे पुल निर्माधिन अवस्थामा रहेको छ ।

सिचाईँ

दंगीशरण गाउँपालिकाका अहिकांस नागरीकहरुको पेसा कृषि भएकाले गाउँपालिकाले सिँचाईलाई पनि प्राथमिक्तामा राख्दै योजनाहरु सम्पन्न गरेको छ । अहिले गाउँपालिकाका ७ वटै वडामा सिँचाईको लागि धेरै समस्या नभएको गाउँपालिकाले जनाएका छ ।

२०७४÷७५ देखि २०७७÷७८ सम्म गाउँपालिकाको सात वटै वडाहरुमा पोखरी निर्माण, पाईप जडान, कुलोमा तारजाली, डुँड निर्माण, बाँध निर्माण, लिफ्ट सिचाईँ मर्मत, सिचाई कुलो निर्माण, वोरीङ्ग निर्माण, कुलो मर्मत, नहर निर्माण, लिफ्ट सिचाई मर्मत योजना लगाएत गरि दर्जनौँ योजनाहरु सम्पन्न भएका छन् ।

वडा न. १ मा ६ वटा, वडा न. २ मा २१ वटा वडा न. ३ मा २४ वटा, वडा न. ४ मा १५ वटा, वडा न. ५ मा ३१ वटा, वडा न. ६ मा १३ वटा र वडा न. ७ मा १२ वटा गरि १ सय २२ वटा योजना सम्पन्न भईसकेका छन् ।

विधुत

दंगीशरणमा विधुत नपुगेको ठाउँमा पोल विस्तारसंगै ट्रान्समिटर जडान कार्य सम्पन्न भएका छन् । दंगीशरण १,२ र ७ न. वडामा ट्रान्समिटर जडान गरिएको छ । वडा न. ७ वुटनीया र बाँकामा दुई वटा, वडा न. २ सरुवाडाडाँमा एक वटा, छर्कट्टामा लिफ्ट सिचाईका लागि एक वटा, वडा न. ५ मा एक वटा, वडा न. ६ वागरमा एक वटा गरि ६ वटा ट्रान्समिटर जडान गरिएको छ ।

दंगीशरण गाउँपालिका वडा न. १ फुर्केसल्ली विधुत विस्तारका लागि २ सय पोल गाडिने र तार जोड्ने काम सम्पन्न भएको छ ।केहि समयमा विधुत विस्तार गरिने कार्य अगाडि बढेको छ । साथै हरेक वडामा ईन्टरनेट सेवा संचालन भएका छन् ।

सामाजिक विकास

शिक्षा

गाउँपालिकाले शिक्षाको क्षेत्रमा पनि उत्तिकै फड्को मार्न सफल भएको छ । फेल हुने अवस्थामा पुगेका सामुदायीक विद्यालयहरु अहिले भने फेरिएका छन् । बिद्यालयको भौतीक संरचनादेखि लिएर विद्याथीका लागि खाजा, पाठ्यपुस्तक, पोषाक, प्रविधिमैत्री शिक्षण सिकाइृ क्रियाकलाप गाउँपालिकाको १ विद्यालय नमूना विद्यालय विकासको रुपमा छनौट भइ विकास भइरहेको । ८ वटा नयाँ कक्षा कोठा र ८ वटा कोठाको प्रशासनिक भवन निर्माण भइरहेको ।

गाउँपालिकाभित्र बालीविज्ञानतर्फको प्राविधिक धारतर्फको विद्यालय सञ्चालन भइ पठनपाठन भइरहेको छ । उक्त विद्यालयमा कृषि ल्यावको स्थापना, निमावि २ मावि २ र उच्च माविमा ४ जना थप जनशक्तिको व्यवस्था गरिएको छ ।

गाउँपालिकाले शिक्षालाई प्रभावकारी बनाउँन २ वटा विद्यालयको प्रवलीकरण कार्य सम्पन्न गरेको छ । यस्तै भौतिक पुर्वाधार थप गर्ने योजना अनुरुप मावि मधपुरमा १० जनता मावि बुटनियामा १२ लक्ष्मीनारायण आवि सलौरामा ४ वटा ज्ञानज्योति प्रावि बोगटीमा २ वटा सिद्धपृथ्वी जनता मावि श्रीगाउँमा ४ वटा कक्षा निर्माण भएको छ ।

जनता मावि बुटनियामा २ वटा वीरेन्द्र मावि हेकुलीमा १ वटा लक्ष्मीनारायण आवि सलौरामा १ वटा वास शौचालय निर्माण गरिएको छ । यस्तै गाउँपालिकाको ६ वटा विद्यालयमा पर्खाल निर्माण कार्य सम्पन्न भएका छन् । यसैगरी १५ वटै विद्यालयको बालविकास कक्षामा प्रविधिमैत्री सिकाइ क्रियाकलाप सञ्चालन गर्न एलइडी टिभी वितरण गरेको छ ।

शिक्षा शाखा प्रमुख अधिकारीका अनुशार विधार्थीको आकर्षण बढाउँनका लागि सबै विद्यालयमा इहाजिरीको व्यवस्था गरिएको छ भने७ वटा विद्यालयमा सुद्ध खानेपानीको व्यवस्थाका लागि युरोगार्ड जडान गरिनुका साथै५ वटा माध्यामिक विद्यालय र २ आधारभूत विद्यालयमा आइसिटी ल्याब स्थापना तथा ४ वटा माध्यामिक विद्यालयमा विज्ञानप्रयोगशाला र ४ वटा माध्यामिक विद्यालयमा पुस्तकालयको स्थापना समेत गरिएको छ ।

दरबन्दी मिलान गरी गाउँपालिकाबाट अंग्रेजी गणित र विज्ञान विषयको जनशक्ति अपुग भएका विद्यालयमा मावि मा ३ निमावि मा ८ जना शिक्षक व्यवस्थापनका लागि विद्यालयलाई अनुदान उपलब्ध गराएको छ ।

स्वास्थ्य

दंगीशरण गाउँपालिकामा स्वास्थयको पहुचँ बढेको छ । नागरीहरु गाउँमै स्वास्थ्य सेवा पाईरहेका छन् । दंगीशरण गाउँपालिकामा साविक हुँदा नै गोल्टाकुरी स्वास्थ्य चौकि, हेकुली स्वास्थ्य चौकि र श्रीगाउँ स्वास्थ्य केन्द्र संचालनमा रहेका स्वास्थ्य चौकि हुन् । दंगीशरणबासीहरुको सेवा सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य चौकिमा स्टाफ क्वाटर भवन निर्माण गरिएको छ ।

दंगीशरण गाउँपालिका वडा न. ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र वागरको भौतीक पूर्वाधार थपीएपछि स्वास्थ्य केन्द्र फेरीएको छ । बाथरुम ईलेक्ट्रीकल र स्यानटरी सहित को ८ कोठे स्टाफ क्वाटर भवन निर्माण भएको छ । स्टाफ क्वाटर निर्माण भएसंगै अव दंगीशरणबासीहरु २४ घण्टा सेवा लिन पाएका छन् । यस्तै वागर स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे र ईमरजेन्सी सेवा संचालनमा आएको छ ।

यसैगरी वडा बासीहरुको समस्या लाई मध्यनजर गर्दै गाउँपालिकाको सात वटै वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । आधारभुत स्वास्थ्य केन्द्र स्थापना भएपछि गाउँमै स्वास्थ्य सेवा लिन सहज भएको छ । आधारभुत स्वास्थ्य केन्द्रले आफनै भवन बाट सेवा दिइरहेको छ ।

यस्तै वडा न. ६ वागरमा १५ सैयाँको हस्पिटल निर्मााणाधिन अवस्थामा रहेको छ । यस्तै गाउँपालिकाले नागरीक आरोग्य केन्द्रको स्थापना गरेको छ भने ३ वटै स्वास्थ्य चौकिमा २४ घण्टा एम्वुलेन्स सेवा प्रदान गरिएको छ । वडा न. २ गोलटाकुरी स्वास्थ्य चौकिमा ल्याव सेवा संचालन गरिएको छ ।

स्वास्थ्य शाखाले विभीन्न स्वास्थ्यमुलक जनचेतना कार्यक्रम, गोष्ठि संचालन गर्दै आएको छ । नि.शुल्क स्वास्थ्य शिवीर, स्वास्थ्य जाचँ , औषधि वितरण कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्दै आएको छ ।
यस्तै कोभिडका समयमा विभीन्न कार्यक्रम संचालन गरेको छ । क्वारेनटाईन स्थापना.निःशुल्क खानाको ब्यवस्था, खाध्यान्न सामग्री वितरण , कोभिड खोप वितरण लगाएतका कार्यक्रम संचालन गरेको हो ।

खानेपानी

दंगीशरणको १, २ र ५ न. वडामा खानेपानीको समस्या रहेको वडाको रुपमा चिनीएको वडा हो । जनप्रतिनिधि आइृसकेपछि स्वच्छ खानेपानी विस्तारका लागि गाउँपालिकाले शुरुका वर्षमा ईनार बनाउँने योजना ल्याएको थियो ।
खानेपानी समस्या तत्काल समाधान गर्नका लागि वडा न. १ मा १२ वटा ईनार खनिएको वडा न. १ का वडा अध्यक्ष श्रीप्रशाद चौधरीले जानकारी दिनुभयो ।

दंगीशरणको विकट वस्ती फुर्रेसल्ली स्थित विभीन्न टोलहरु गरि ६ वटा खानेपानी ट्यांकि निर्माण गरिएका छन् । कुवाँ र खानेपानी ट्यांकि निर्माण संगै त्यस वडाका नागरीक स्वच्छ खानेपानी पिउन पाएका छन् । वडा न. २ का वडा अध्यक्ष तुलसीराम देवकोटाका अनुशार गाउँपालिका बाट १९ वटा र प्रदेश बाट २७ गरि मा ४६ वटा कुवाँ निर्माण भएका छन् भने ठुला खाने पानि ट्यांकि २ वटा निर्माण भएका छन् जसमध्ये एउटा सम्पन्न भईसकेको छ । यस्तै वडा न. ३ मा ४ वटा खानेपानी ट्यांकि निर्माण भएका छन् जसमध्ये ३ वटा खानेपानी ट्यांकि बाट स्वच्छ खानेपानी २४ सै घण्टा सुचारु भएको छ ।

यस्तै वडा न.४ का वडा अध्यक्ष नेप बहादुर कवँरका अनुशार वडामा खानेपानी समस्या समाधानका लागि ३० वटा भन्दा बढि कुँवा निर्माण गरिएको थियो । अहिले भने १वटा खानेपानी ट्यांकि निर्माणाधिन अवस्थामा रहेको छ । पानी ट्यांकि निर्माण पश्चात केहि हदसम्म खानेपानीको समस्या टरेर जानेछ ।

वडा न. ५ का वडा अध्यक्ष दिपक गौतमका अनुशार १२ वटा खानेपानीका लागि कुवाँ निर्माण भएका छन् भने २ वटा खानेपानी ट्यांकि निर्माण भएका छन् । जसमध्ये एक वटा सम्पन्न भई खानेपानी विस्तार गरिसकेको छ ।
वडा न. ६ का वडा अध्यक्ष टंक बहादुर वलीका अनुशार वडामा शुरुका वर्षमा २ वटा कुवाँ निर्माण गरिएको थियो भने अहिले २ वटा खाने पानी ट्यांकि निर्माण भईरहेको र पाईपलाईन विस्तार गर्ने कार्य अगाडि बढाउँन बाकि रहेको छ ।

वडा न. ७ का वडा अध्यक्ष विर बहादुर वलीका अनुशार शुरुका वर्षमा तत्काल खानेपानी समस्या समाधान गर्नका लागि २ वटा कुवाँ निर्माण गरिएको थियो । अहिले वडामा ३ वटा खानेपानी ट्ंयाकि निर्माणाधिन अवस्थामा रहेको छ । ट्ंयाकि निर्माण पश्चात त्यस वडाका नागरीकहरु स्वच्छ खानेपानी पिउँन पाउँने छन् ।

सामाजिक समावेशीकरण

दंगीशरणमा एकल अपांगता र दलीत घरपरिवार वडा न. १ मा ६६ घरपरिवार, वडा न. २ मा ८०जना, वडा न. ३ मा १४ जना, वडा न. ४ मा २८ जना, वडा न. ५ मा २१ जना, वडा न. ६ मा ३२ जना र वडा न. ७ मा १४ जना गरि २ सय ५५ घरधुरीलाई जस्तापाता वितरण गरेको छ ।

प्रदेश सरकारको मुख्यमन्त्री एकिकृत बस्ती विकास कार्यक्रम अन्र्तगत दंगीशरणको २, ३ र ६ न. वडामा जनता आवास घर निर्माण भएका छन् । दलीत तथा विपन्न वर्गका परिवारका लागि दंगीशरण २ मा १७ वटा, वडा न. ६ मा २० र वडा न. ३ मा ७ गरि ४४ वटा जनता आवास घर निर्माण भएका छन् ।

जेष्ठ नागरीलाई कम्मल वितरण, लैंगीक हिंसा कार्यक्रम, समुह सदस्यहरुका लागि अनुशिक्षण तालिम, अन्र्तराष्ट्रिय महिला दिवस कार्यक्रम, बाल बिबाह न्युनीकरण गोष्ठी, जनजाती महिलाहरुका लागि सचेतनामुलक कार्यक्रम, महिला सशक्रिकरण तालीम, अपांगता परिचय पत्र वितरणका कार्यक्रम, जातीय छुवाछुत मुक्त अभियान, सासु बुहारी सदेभाव अभिबृद्धि अन्र्तक्रिया गोष्ठी, वडास्तरीय न्यायीक सचेतना तालीम, महिलाहरुका लागि ब्यवसायमुलक तालीम लगाएतका कार्यक्रम संचालन भएका छन् ।

आर्थिक विकास

कृषि

दंगीशरण गाउँपालिका कृषि क्षेत्रलाई ब्यवसायीक बनाउँनका लागि विभिन्न योजनाहरु संचालन गर्दै आएको छ । कृषकहरुको माग बमोजिम कृषि शाखाबाट बिबिध कार्यक्रम संचालन गरिएका छन् । कृषि शाखाले दंगीशरणका सहकारी , कृषि समुह र फर्महरुलाई मिनी पावर टिलर र कुटानी पिसानी मिल (कम्बाईङ्ग मिल) वितरण गरेको छ । शाखाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रम अनुशार विभिन्न सहकारी र समुहहरुलाई यस्तो सहायता उपलब्ध गराएको हो ।

५४ वटा कम्बाईङ् मिल र २६ वटा पावर टिलर किसानलाई कृषि आधुनीकिकरण तर्फ आकर्षित गर्न र उत्पादन लागत घटाई उत्पादन बढाउन गाउँपालिका मार्फत कृषि शाखाले हरेक बर्ष वितरण गर्दै आएको छ । ३५ वटा फर्म, समुह र सहकारी र अन्य किसान गरि ८० जनालाई वितरण गरिएका हो ।

कृषि शाखाले दंगीशरणका कृषक समुह, कृषि सहकारी र कृषि फार्महरुलाई मौसमी तथा बेमौसमी तरकारी बाली, विउँ विजन, मल वितरण गर्दै स्थलगत अनुगमन समेत गर्दै आएको छ । यस्तै कृषि क्षेत्रलाई फस्टाउँन र व्यवसायीक बन्नका लागि माहुरी घार ,उन्नत जातका बोका, किटनासक औषधि , थोपा सिचाईसहित प्लाष्टिक टनेल वितरण गरेको छ । विपन्न वर्गलाई सहयोग स्वरुप हरेक वर्ष गहुँ, मकै, आलु, बेसार, धानलगाएतका वालीहरुको विउँ वितरण गर्दै आएको छ ।

यी कार्यक्रम संचालन हुँदा परम्परागत खेती बाट आधुनीक खेती तर्फ उन्मुख, फलफुल खेती तर्फ आकर्षण बढ्दो, खाध्यान्न उत्पादन का साथै वजारमुखी तरकारी उत्पादनमा बृद्धि, प्रांगारीक खेतीका लागि जैवीक मल निर्माण तथा घरेलु विषादि निर्माण लगाएतको उपलब्धिहरु भएको पाईएको छ ।

दंगीशरणमा पशुँपक्षीको उत्पादनमा बृद्धि भईरहेको देखिन्छ । कृषकहरु पशुपंक्षीबाट राम्रो आम्दानी लिदै आएका छन् । पशु शाखाले ७५ प्रतिशत अनुदानमा हिउँदे घाँस वितरण, बोयर बोका, उन्नत जातका बोका, उन्नत जातका वंगुर,वंगुरका पाठा वितरण, गर्दै आएको छ । दंगीशरण गाउँपालिका, मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम र सर्सत संघिय सरकार बाट हस्तान्तरीत कार्यक्रमहरु संचालन गरेको कृषि शाखाले जनाएको छ ।

अव कृषकहरुलाई आफुले उत्पादन गरेको तरकारी बाली ब्यवस्थापन गर्नका लागि दंगीशरणमा शित भण्डार स्थापना भएको र निर्माण प्रक्रिया अन्तीम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । दंगीशरणमा जम्मा जग्गाको क्षेत्रफल १.१०७१ ह्ेक्टर ११०.७१ वर्ग किलोमिटर छ । जसमा खेती योग्य जमीन ५१५९ हेक्टर छ भने खेती गरिएको जमीन ४३८५ हेक्टर र खेती योग्य खेती बाझोँ जमीन ७७४ हेक्टर रहेको छ ।

पशु

दंगीशरणको पशुँ शाखाले पनि कृषकहरुको आम्दानीको स्रोतलाई बृद्धि गर्नका लागि विविध कार्यक्रम संचालन गर्दै आएको छ । पशुँ शाखाले ७५ प्रतिशत अनुदानमा हिउँदे घाँस, डाले घाँस वितरण, उन्नत जातका बोका, बोयर बोका, उन्नत जातका बंगुर, बंगुरका पाठा, डाले घाँसको बेर्ना वितरण जस्ता कार्यक्रमहरु संचालन गरेको छ ।

पशु स्वास्थ्य शिवीर , पशु खोप कार्यक्रम, लोकल कुखुराको खोर सुधार कार्यक्रम, बाख्रापालन तालीमहरु संचालन गरेको छ । दुग्ध उत्पादक कृषकलाई मिल्क क्यान, पावर स्प्रेयर, बिधुतीय च्यापकिटर वितरण गरेको छ । गाउँपालिकाका७ वटै वडाका १२ जना किसानलाई सो सामग्री वितरण गरेको हो ।

पर्यटन÷संस्कृती

दंगीशरणमा पर्यटनको क्षेत्रलाई फस्टाउँनका लागि विभिन्न योजनाहरु सम्पन्न भएका छन् । रानी वन पार्क निर्माणको कार्य भईरहेको छ चखौरा थारु संग्राहलयमा गेट निर्माण देखि लिएर अन्य ब्यवस्थापनका लागि वजेट विनियोजन गरेको छ ।

उत्तर वली पार्क निर्माण योजना , थारु समुदायका लागि भुईयार थान निर्माण, थारु जातीले पुजदै आएको वडा न. १ मा वैकहर्वा मन्दिर निर्माण , वडा न. ४ मा सती मन्दिर स्नान घाट निर्माण, वडा न. ५ मा लक्ष्मीनारायण मन्दिर निर्माण , वडा न. २ मा शिव मन्दिर जाने सिढी निर्माण, कलम खोला शिव मन्दिर , वडा न. ७ मा गोरखनाथ मन्दिर पुनःनिर्माण, सहिद गेत निर्माण योजना चौपारी निर्माण योजनाहरु सम्पन्न भएका छन् । यस्तै सस्ंकृती सरक्षणका लागि जनजातीहरुका लागि भुईयारथान निर्माण योजना, हस्तकला तालीम लगाएतका कार्यक्रम संचालन भएका छन् ।

सहकारी

दंगीशरणमा २७वटा सहकारी संचालनमा रहेका छन् । सहकारीहरुका लागि गाउँपालिकाले विभीन्न कार्यक्रमहरु संचालन गरेको छ । सहकारी व्यवस्थापन तालीम, सहकारी भवन निर्माण योजना, सहकारी दिवस कार्यक्रम संचालन गरेको छ । सबै सहकारीहरु सक्रिय रुपमा काम गरिरहेका छन् ।

वातावरण तथा विपद व्यवस्थापन

जलाधार संरक्षण

सिचाई तथा जलाधार संरक्षणका लागि वडाहरुमा प्रदेश सरकार बाट ठुला तालहरु निर्माण भएका छन् । वडा न. २ मा दुई वटा, वडा न. ३ मा एक वटा , वडा न. ४ मा एक वटा, वडा न. ६ मा दुई वटा र वडा न. ७ मा ५ वटा लिफ्ट सिचाई आयोजना सम्पन्न भएका छन् । एक लिफ्ट सिचाई बाट डेढ सय बिघा क्षेत्रफलमा सिचाई गरिरहेको छ ।

वन तथा वातावरण

दंगीशरण गाउँपालिकामा सामुदायीक वन २८ वटा रहेका छन् । वनको संरक्षणका लागि गाउँपालिकाले ग्रीन फाउण्डेसन दंगीशरण समिती गठन गरेको छ । यस्तै वन संरक्षण र संम्वर्दनका लागि वन उपभोक्ता समितीलाई वन संरक्षण सम्बन्धि तालीम , कार्यक्रम, अभिमुखीकरण, गोष्ठि संचालन गरेको छ । यसैगरी प्राकृतीक उत्पादनबाट सांस्कृतीक वस्तु उत्पादन गर्न सकिने भन्दै वन जोगाउँन सामुदायीक वन उपभोक्ता समिती गठन गरेको छ ।।
सस्ंथागत विकास तथा सेवा प्रवाह

यस्तै प्रदेश सरकारको सहयोगमा दंगीशरणमा सिकाई केन्द्र स्थापना भएको छ । दंगीशरणमा सुबिधा सम्पन्न सभाहल स्थापना भई संचालनमा आईसकेको छ भने प्रशासनिक भवन निर्माण प्रक्रियामा रहेका छन् ।
यसैगरि गाउँपालिकामा वडा न. १ र २ को वडा भवन निर्माणाधिन अवस्थामा रहेको छ भने वडा न. ४ आफनै कार्यालयबाट सेवा सुचारु गरिएको छ । ५ र ७ भवन निर्माण कार्य भईसकेको छ ।

 

Blog Post Ad Blog Post Ad