Ad Area

घोराहीमा भूकम्प प्रतिरोधी घर बनाउने बढ्दै,२५ सय बढीले बनाए घर


दाङ,१ बैशाख । घोराही उपमहानगरपालिका वडानम्वर १३ स्थित नवराज बुढालाई भूकम्पको डर छैन, किनभने उहाँले भूकम्प प्रतिरोधी घर बनाउनुभएको छ । २०७४ सालमा उहाँले दुईतले घर बनाउनुभएको हो । २०७२ सालमा गएको भूकम्पका कारण नेपालमा भएको जनधनको क्षतिबाट तर्सेर नै उहाँको रोजाई भूकम्प प्रतिरोधी घर बनेको हो ।

‘घर बनाउने भन्ने कुरा जीवनमा पटक–पटक बनाउने भन्ने हुँदैन्, बलियो र सुरक्षित घरका लागि भूकम्प प्रतिरोधी नै बनाएको हो’, बुढाले भन्नुभयो, ‘अब प्राकृतिक प्रकोपसँग डराउनुपर्दैन ।’ सामान्य भन्दा भूकम्प प्रतिरोधी घर बनाउँदा केही बढी रकम लाग्ने भए पनि सुरक्षित महसुस हुने उहाँले बताउनुभयो ।

सोही ठाउँका डिल्लीबहादुर पुन पनि सुरक्षित घर बनाएर खुसी हुनुहुन्छ । गाउँका केही घरहरुमध्ये आफूले पनि भूकम्प प्रतिरोधी घर बनाएको बताउनुभयो । दुःख गरी कमाएको पैँसाले बलियो काम गरौं भनेर घर बनाउँदा भूकम्प प्रतिरोधी घर बनाएको उहाँले बताउनुभयो । यसबाट आफूलाई सुरक्षित घर बनाएको छु भनेर ढुक्क महसुस भएको उहाँको भनाइ छ । १० वर्ष अगाडिसम्म फाटफुट मात्रामा भूकम्प प्रतिरोधी घर निर्माण हुने गरेका थिए । घोराही उपमहानगरपालिकाको तथ्याङ्कले पनि यही देखाउँछ ।

कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार २०६९÷२०७० मा १५ वटा मात्र भूकम्प प्रतिरोधी घरहरु बनेका छन् । त्यसयता भने भूकम्प प्रतिरोधी घरहरुको संख्या थपिएको छ । सरोकारवाला तथा स्थानीय सरकारको चासोको विषय बनेकाले पनि नागरिकहरु उत्साहित भएका हुन् ।

यसका लागि घोराही उपमहानगरपालिकाले बलियो घर बनाउने विषयमा नीति कार्यक्रममै समावेश गरेको थियो । आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा उपमहानगर क्षेत्रभित्र बलियो घर सुरक्षित घर निर्माण अभियान सञ्चालन गर्ने र नक्सापास नगरी घर बनाउनेलाई कारबाही गरिने नीति लिइने छ भन्ने बँुदा समेटिएको छ ।

यसका साथै ग्रामीण क्षेत्र तथा सामान्य आर्थिक स्थिति भएका व्यक्तिले सामान्य किसिमको भूकम्प प्रतिरोधी घर निर्माण गर्न चाहेमा नगरपालिकाले घर निर्माणका लागि नमुना नक्साहरु निःशुल्क उपलब्ध गराउने र नक्सा पास गर्ने प्रक्रिया सरलीकरण गर्नुका साथै सेवा शुल्क रकम न्यूनतम कायम गरिनेछ भन्ने बँुदा समेटिएको छ । यही अनुरुप कार्यक्रमहरु सञ्चालन गरिएको घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो ।

Blog Post Ad

‘बलियो घर बनाउनका लागि उपमहानगरपालिकाले सबैलाई आव्हान गरेको छ’, नगर प्रमुख चौधरीले भन्नुभयो । नीति बनाएर योजना अनुसार उपमहानगरपालिकाले भूकम्प प्रतिरोधी घर बनाउनका लागि आवश्यक प्राविधिक सहयोग गर्दै आएको छ, भने कतिपयलाई नक्सापास निःशुल्क उपलव्ध गराउँदै आइएको उहाँले बताउनुभयो ।

खासगरी आर्थिक अवस्था कमजोर भएका दर्गम क्षेत्रका नागरिकहरुले भूकम्प प्रतिरोधी घर निर्माण गर्न चाहेमा निःशुल्क नक्सापासको व्यवस्था गरिएको छ । एनसेटसँगको सहकार्यमा डकर्मीलाई तालिम दिने गरिएको छ ।
‘रेक्टोफिटमा निःशुल्क नक्सापास र घर बनाउँदा लाग्ने छडलगायतका सामग्रीका लागि छुटको आग्रह गरिदिने गर्दछांै’, नगरप्रमुख चौधरीले भन्नुभयो । पहिलेदेखिको भूकम्प प्रतिरोधी घर निर्माणको कामलाई प्राथमिता दिने खालका प्रोत्साहनलगायतका कार्यक्रम गर्दै आएको पनि उहाँको भनाई । बलियो र सुरक्षित घर घोराहीको प्राथमिकता रहेको उहाँले बताउनुभयो ।

साढे २५ सय बढी भूकम्प प्रतिरोधी घर

घोराही उपमहानगरपालिकामा दुई हजार पाँच सय १९ वटा भूकम्प प्रतिरोधी घर छन् । प्रत्येक वर्ष भूकम्प प्रतिरोधी घर निर्माण गर्नेक्रम बढ्दो रहेको घोराही उपमहानगरपालिकाका प्रमुख इञ्जिनियर युवराज पौडेलले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०६९÷२०७० बाट भूकम्प प्रतिरोधी घर निर्माण गर्न थालिएको हो ।

त्यो भन्दा अगाडि थोरै मात्र भूकम्प प्रतिरोधी घर थिए, भने नागरिकहरुले आफ्नै तरिकाले घर निर्माण गरेका थिए । उपमहानगरपालिकाको तथ्याङ्कमा आर्थिक वर्ष २०६९÷२०७० मा १५ वटा भूकम्प प्रतिरोधी घर बनेका थिए । त्यस यता भने भूकम्पलाई प्रतिरोध गर्ने घर निर्माणमा आर्कषण बढेको देखिन्छ । आर्थिक वर्ष २०७०÷०७१ मा एक सय १५ वटा घर बनेका थिए ।

नगरको तथ्याङ्क अनुसार २०७१÷२०७२ मा एक सय १६ वटा, २०७२÷२०७३ मा दुई सय ९३ वटा, २०७३÷२०७४ मा तीन सय ५५ वटा घर निर्माण भएका छन् । त्यस यता घोराही उपमहानगरपालिकामा जनप्रतिनिधि आइसकेपछि भूकम्प प्रतिरोधी घर निर्माणमा प्राथमिकता दिनका लागि जनचेतनामुलक कार्यक्रम समेत गरिएको थियो । जसले गर्दा भूकम्प प्रतिरोधी घर निर्माणको संख्या बढेको देखिन्छ ।

२०७४÷२०७५ मा ६ सय ७१ वटा भूकम्प प्रतिरोधी घर निर्माण भएका थिए । यस्तै २०७५÷२०७६ मा चार सय १७ वटा, २०७६÷२०७७ मा दुई सय ५६ वटा, २०७७÷२०७८ मा दुई सय ८१ वटा घर निर्माण भएका हुन् । चालु आर्थिक वर्षमा दुई सय ९६ वटा घरको जग खन्नका लागि सिफारिस दिइएको छ । तीमध्ये साउन महिनादेखि हाल यो समाचार तयार पार्दासम्म एक सय ९७ वटा भूकम्प प्रतिरोधी घर निर्माण भएका छन् ।

नगरका प्रमुख इञ्जिनियर पौडेलले खासगरी सहरी क्षेत्रमा भूकम्प प्रतिरोधी घर निर्माण गरिएको बताउनुभयो । गाउँका कच्ची घर समेत विशेष प्रविधि अपनाएर भूकम्प प्रतिरोधी घर निर्माण गरिने भए पनि हाल सहरी क्षेत्रका घरहरुमा भूकम्प प्रतिरोधी क्षमताका रहेका छन् । उहाँका अनुसार नगरका पाँच वटा वडामा बसोबास गर्नेहरुले भूकम्प प्रतिरोधी घर निर्माण गरेका छन् । शहरी क्षेत्र घोराही १४, १५, १८, १७, १० वडाबाट भूकम्प प्रतिरोधी घर निर्माणका लागि नक्सापास गर्छन् । अन्य १४ वटा दुर्गम क्षेत्रमा भने आफूखुसी घर निर्माण गरेका छन् । भूकम्प प्रतिरोधी घर नबनाउनेहरुलाई नक्सा पास नदिने नीति बनाएको पौडेलले बताउनुभयो ।

घोराहीमा पुराना घरहरुलाई रेक्टोफिटिङ गर्ने कार्यलाई प्रोत्साहन गरिएको छ । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट ) सँगको सहकार्यमा रेक्टोफिटिङको काम गरिएको हो । जसअन्तर्गत गएको आर्थिक वर्ष २०७७÷०७८ देखि चालु आर्थिक वर्षसम्म पाँच वटा घर बनाइएको छ । ‘अघिल्लो वर्ष दुई वटा, यो वर्ष तीनवटा घरहरुको रेक्टोफिटिङ गर्ने काम भएको छ’, प्रमुख इञ्जिनियर पौडेलले भन्नुभयो , ‘नगर प्रमुखको घर पनि रेक्टोफिटिङ गरिएको हो । अरुलाई उत्साहित बनाउने हिसाबले पुरानो संरचनाको घरलाई रेक्टोफिटिङ गरिएको हो ।’

के हो रेट्रोफिटिंग ?

रेट्रोफिटिंग भन्नाले संरचना बनाउने वैज्ञानिक तरिकालाई बुझिन्छ । जसले गर्दा घरका सबै अंगहरु एकापसमा राम्रोसँग मिलेका हुन्छन् । रेट्रोफिटिंग घरको कुनाहरु बलियो बनाउन, पर्खाललाई बलियो बनाउन, छत ट्रसको पर्खालहरुसँग जोड्न र पर्खालको खुला भागहरुलाई रडले घेर्न प्रयोग गरिन्छ । रेट्रोफिटिंग घरलाई भूकम्प प्रतिरोधात्मक बनाउने सबैभन्दा सस्तो र छिटो तरिका भएको पौडेलले बताउनुभयो । घोराहीका सहरी क्षेत्रका घरहरु मात्र नभएर ग्रामीण घरहरुलाई पनि विशेष प्रविधिअन्तर्गत भूकम्प प्रतिरोधी घर बनाउने अभियान चलाइने बताउनुभयो ।

नागरिक आफै सजक हुनुपर्ने

नेपालमा २०७२ सालमा विनासकारी भूकम्प गयो । हजारांै मानिसहरुले कमजोर र मापदण्ड पूरा नगरी बनाइएको घरको चपेटामा परेर ज्यान गुमाउनु परेको थियो । यसको प्रभावले जिल्लामा जनको क्षति नभए पनि धनको क्षति भएको थियो । सैयांै घरहरु चर्किएका थिए ।

भूकम्पलाई रोक्न नसके पनि विभिन्न संरचना र घर निर्माणको क्रममा होसियारी पु¥याउँदा भूकम्पले हुने क्षतिलाई धेरै हदसम्म कम गर्न सकिने इञ्जिनियर पौडेलले बताउनुभयो । जसले भविष्यमा आउन सक्ने भूकम्पको मानवीय क्षति न्यूनीकरण गर्नका लागि सबैले घर भूकम्प प्रतिरोधात्मक बनाउन आवश्यक भएकोमा उहाँको जोड छ । उहाँका अनुसार घरलाई भूकम्प प्रतिरोधी बनाउनका लागि घर निर्माण क्रममा नै धेरै कुराहरु ध्यानमा राखेर बनाइएको हुनुपर्छ । यदि कसैले नयाँ घर बनाउँदै भए सो घर भूकम्प प्रतिरोधी बनाउनुको अर्को कुनै विकल्पनै छैन ।

राजश्व संकलनको अवस्था

घोराही उपमहानगरपालिकामा चालु आर्थिक वर्ष २०७८ को साउन यता हालसम्म घर नक्सापास शीर्षकमा ९४ लाख एक सय ६३ रुपैयाँ राजश्व संकलन भएको छ । एक करोडको लक्ष्य लिएकोमा लक्ष्यको करिब नजिक पुगिएको राजश्व शाखा प्रमुख कृष्ण केसीले जानकारी दिनुभयो । नगरका सूचना अधिकारी भिमबहादुर चौधरीले स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि नक्सा पास गरेबाफत संकलन भएको राजश्व विवरण उपलब्ध गराउनुभयो । उहाँका अनुसार नक्सा पास गरिएका घरहरु भूकम्प प्रतिरोधी घरहरुनै हुन् ।

चालु आर्थिक वर्ष २०७४÷२०७५ मा दुई करोड ६० लाख, २०७५÷२०७६ मा एक करोड ९ लाख ४७ हजार, २०७६÷२०७७ मा एक करोड, २१ लाख, ६० हजार, २०७७÷२०७८ मा ९४ लाख १७ हजार ६ सय ३० रुपैयाँ राजश्व संकलन भएको हो ।

Blog Post Ad Blog Post Ad