Ad Area

कोभीड प्रभावितका लागि आएको रकम फ्रिज हुने सम्भावना


घोराही, ७ बैशाख । दाङमा कोभीडका कारण ज्यान गुमाएकाहरुको परिवारलाई प्रदेश सरकारले बजेट छुट्याए पनि धेरैले राहत लिन गएका छैनन् । स्वास्थ्य कार्यालय दाङका अनुसार चालु आर्थिक वर्ष २०७८–०७९ मा जिल्ला आपतकालीन कार्य संचालन केन्द्रको सिफारिसमा प्रदेश सरकारले कोभीडका कारण ज्यान गुमाएकाहरुको हकमा एकमुष्ट रुकम पठाएकोमा अधिकांश पीडित परिवार राहत रकम लिन नआएको जिल्ला कोभीड फोकल पर्सन कमल चन्दले बताए ।

‘स्वास्थ्य कार्यालयले जिल्लालाई गरेको सिफारिसका आधारमा काम गरेको भए सहज हुने थियो, प्रदेशले गुगलमा ज्यान गुमाएकाहरुको नाम र विवरणको आधारमा एकमुष्ठ रम्क पठायो, यता जिल्लामा धेरैलाई जानकारी नै भएन,’ उनले भने, ‘पीडित परिवारका अधिकांशले राहत रकम प्रांप्त गर्न आवेदन नै दिएका छैनन् ।’

स्वास्थ्य कार्यालय दाङको तथ्यांक प्रदेश स्वास्थ्य निर्देशनालयको अनलाईन पोर्टलमा पठाइएको आधारमा कोभीडका कारण ज्यान गुमाएकाहरुको संख्यालाई आधारमा मानेर २ सय २३ जनाका जनही १ लाखका दरले कुल दुई करोड २३ लाख राहत रकम निकासा भई आएकोमा हालसम्म ८८ जना कोभीड पीडित परिवारले मात्रै रकम लगेको उनले बताए । जसका कारण कोभीडले ज्यान गुमाएका १ सय ३५ जनाका कुल १ करोड ३५ लाख रुपैयाँ फिर्ता जाने जोखिम बढेको छ ।

यसअघि प्रदेश सरकार स्वास्थ्य मन्त्रालले गरेको विभिन्न मितिको निर्णय अनुसार जिल्ला आपतकालीन कार्य संचालन केन्द्रमा रकम पठाइएकोमा मृतकको बारेमा जानकारीसहित आवेदन दिएका पीडित परिवारलाई राहत दिइएको छ । तर, अहिले पनि मृतकको नाममा राहत रकम आएपनि पीडित परिवारका सदस्यहरुबाट आवदेन नआएकाले पनि राहत रकम दिन नसकिएको बताइएको छ । ‘राहत कसलाई दिने भन्ने आधार नै छैन, एकमुष्ठ रकम आएको छ, पीडित परिवारका तर्फबाट निवेदन पनि आएको छैन,’ उनले भने, ‘यो वर्षको मसान्तसम्म समय छ, दावी गर्न आए पाउनुहुन्छ ।’

राहत रकम लिनका लागि कोभीडका कारण ज्यान गुमाएको व्यक्तिको स्पष्ट विवरण खुल्ने नाम थर, पीसीआर रिपोर्ट, वडा कार्यालयबाट मृतकको सिफारिस, राहत प्राप्त गर्ने व्यक्तिको पहिचान खुल्ने विवरण, मृत्यु दर्ता प्रमाण पत्रसहित आवदेन दिन स्वास्थ्य कार्यालय दाङले अपिल गरेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad