Ad Area

लमही नगरपालिका सुरु भएन दिसाजन्य फोहर व्यवस्थापनको काम


दाङ, १० बैशाख । लमही नगरपालिकामा निर्माण गरिने भनेको दिसाजन्य फोहर व्यवस्थापन काम सम्पन्न भएर कार्यान्वयन भैसक्नुपर्ने हो तर हालसम्म पनि काम सुरु हुन सकेको छैन । ३ वर्षअघि योजनाको बारेमा सम्झौता भएको थियो । ३ वर्ष बितिसक्दा समेत काम समेत सुरु हुन नसकेको हो ।

यो परियोजना लमही नगरपालिका र नेपाल नगरपालिका संघबीच २०७५ पुस १० मा सम्झौता भएको थियो । सम्झौतापछि दिसाजन्य फोहर व्यवस्थापनका लागि लमही नगरपालिकामा भौतिक निर्माणको काम अगाडि बढाउने जनाएको थियो । त्यसका लागि ठेक्कामार्फत काम गरिने बताएको थियो । सम्झौता भएको लामो समय भए पनि विभिन्न बहाना देखाउँदै नगरपालिकाले काम अगाडि बढाएको थिएन ।

परियोजना अगाडि बढाउनका लागि जग्गाको व्यवस्थापन गर्न नसक्दा काम सुरु हुन नसकेको लमही नगरपालिकाका सूचना अधिकारी नरेन्द्रकुमार गुप्ताले बताए । ‘परियोजना सञ्चालनका लागि पाउन नसक्दा सुरु नै हुन सकेको छैन’, उनले भने । विश्वव्यापी फैलिएको कोभिडका कारण तथा अन्य कारणले गर्दा काम ढिला हुँदै आएको नगरपालिकाले बताएको थियो । महत्वपूर्ण परियोजना भए पनि नगरपालिकाले ध्यान दिन नसक्दा यस परियोजनाको काम हुन नसकेको स्थानीय वासिन्दाहरु बताउँछन् ।

नगरपालिका संघको सहकार्यमा देशभरका पाँचवटा नगरपालिकामा यस प्रकारको परियोजना लागू गर्नका लागि छनोट गरिएको थियो । नेपाल नगरपालिका संघको सहकार्यमा नगरमा सहरी सरसफाई सम्बन्धीको कार्य नमुना परीक्षणको रूपमा अगाडि बढाइएको हो । लमही नगरपालिका, लहान नगरपालिका, धुलिखेल नगरपालिका, वालिङ नगरपालिका र भीमदत्त नगरपालिकामा यस प्रकारको परियोजना सुरु गर्नका लागि छनोट गरिएकोे थियो । परियोजनाको भौतिक निर्माण गर्नका लागि भनेको छनोट गरिएको स्थान पटक–पटक सारिँदै आएको छ ।

भौतिक निर्माणका लागि नगरपालिकाले दुई करोड रकमसमेत विनियोजन गरेको थियो । नगरपालिकाको आन्तरिक स्रोतबाट काम गर्नका लागि नगरपालिकाले बजेटको व्यवस्थापन गरेको थियो । डीपीआर निर्माण तथा पोलिसी निर्माणमा नेपाल नगरपालिका संघले सहयोग गरेको र भौतिक निर्माण नगरपालिकाले आफै गर्नुपर्ने भनेर सम्झौता गरिएको थियो । ‘नगरपालिका संघले प्राविधिक सहयोग प्रदान गरेको छ । भौतिक संरचना निर्माण लमही नगरपालिकाले नै सम्झौतामा भनिएको थियो’, नगरपालिकाका एक कर्मचारीले भने ।

परियोजनाले दिसाजन्य लेदो व्यवस्थापन गर्ने काम हुने नगरपालिकाको भनाइ रहेको थियो । यस प्रकारको परियोजना सुरु भएपछि शौचालयको सेफ्टी ट्यांकीबाट निकालेर बाहिर फालिने फोहरलाई व्यवस्थापन गर्न सहज हुने अपेक्षासमेत गरिएको थियो । वातावरण सफा राख्नसमेत सहयोग पुग्ने नगरपालिकाका सूचना अधिकारी गुप्ता बताउँछन् । यसका लागि प्लान्ट निर्माण गरेर त्यसमा सेप्टी ट्यांकीबाट निकालिएको फोहर राखेर त्यसलाई ठोस्मा परिणत गरिने योजना रहेको थियो ।

Blog Post Ad

जसलाई कम्पोस्ट मल बनाएर बिक्रीसमेत गरिने योजना नगरपालिकाको रहेको थियो । त्योबाट आम्दानीको स्रोत बन्ने अपेक्षा नगरपालिकाको थियो । परियोजना सुरु भएमा फोहर व्यवस्थापनमा सहजता ल्याउने बताइएको थियो । अहिले हरेक स्थानीय तहले फोहर व्यवस्थापनमा धेरै समस्या भोग्दै आएका छन् । पूर्व–पश्चिम राजमार्ग भएकाले पनि लमहीमा फोहर व्यवस्थापनमा समस्या हुने गरेको छ । यो निर्माण भएमा फोहर व्यवस्थापनमा केही मात्रामा भए पनि सहजता ल्याउन सकिने बताइएको छ ।

अहिले घर–घरबाट शौचालयको सेफ्टी ट्यांकीबाट ल्याइएको दिसाजन्य फोहर ल्यान्ड फिल्ड साइटमा व्यवस्थापन गरेको नगरपालिकाले जनाएको छ । नगरपालिका र निजी क्षेत्रको सहकार्यमा दिसाजन्य फोहर व्यवस्थापन गर्दै आएको बताएको छ ।

Blog Post Ad Blog Post Ad