Ad Area

एमाले घोराहीको चुनावी संकल्प–पत्र सावर्जनिक


दाङ, १०वैशाख । नेकपा एमाले घोराही कमिटीले चुनावी संकल्प–पत्र सावर्जनिक गरेको छ । पाँच वर्षमा एमाले नेतृत्वको घोराही नगरले गरेको काम र पार्टीले जितेपछि गर्ने काम समेटेर चुनावी संकल्प–पत्र सावर्जनिक गरिएको हो ।

पार्टी स्थापना दिवसको अवसरमा एमाले नगर कमिटीले चुनावी संकल्प–पत्र सावर्जनिक गरेको एमाले नगर कमिटी अध्यक्ष भुवन चौधरीले बताए । संकल्प–पत्रको सावर्जनिकरण एमाले पोलिटब्यूरो सदस्य तथा दाङ इन्चार्ज नरुलाल चौधरी, पोलिटव्यूरो सदस्य शान्ता चौधरी र केन्द्रीय सदस्य साजिदा सिद्धिकीलगायतका नेताहरुले गरेका हुन् ।

‘हाम्रो प्रतिबद्धता शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार, समुन्नत सीप र सुशासनयुक्त घोराही नगर भन्ने नाम दिएको सकल्प–पत्रमा पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, कृषि, सिँचाई, महिला, बालबालिका, जेष्ठ नागरिक र अन्य क्षेत्रमा गर्ने कामहरु समेटिएका छन् । विगतमा उपमहानगरपालिकाले गरेका काम र निर्वाचन भएपछि गर्ने मुख्य कामहरुलाई समेटिएर संकल्प–पत्र निर्माण गरेका छौँ’, संकल्प–पत्र निर्माण कार्यदलका संयोजक तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य विकिरण गौतमले भने ।

उनका अनुसार यो पाँच वर्षमा एमाले नेतृत्व रहेको उपमहानगरले धेरै उपलब्धिमूलक काम भएको र बाँकी रहेका र अन्य कामहरुलाई व्यवस्थित र प्राथमिकीकरण गरेर संकल्प–पत्रमा राखिएको छ । नगरलाई बालमैत्री घोषणा गरेर विश्वमा नै राम्रो सन्देश दिएको भन्दै आगामी चुनाव जितेर थप नयाँ काम गर्न सकिने वताए ।

घोराही नगर कमिटी अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले पोलिटव्यूरो सदस्य नरुलाल चौधरीले एमाले नेतृत्वमा रहेको घोराही नगरले धेरै उपलब्धिमूलक काम गर्न सफल भएको बताए । ‘धेरै राम्रो काम भएको छ । केही नयाँ संरचनाहरु निर्माण प्रक्रियामा छन् । ती कामहरु पूरा गर्नको लागि नगरवासीले फेरि पनि जिम्मेवारी दिने विश्वास हाम्रो छ’, उनले भने । उनले चुनाव जित्ने गरेर लाग्न सबैलाई अनुरोधसमेत गरे । कार्यक्रमको सहजीकरण एमाले घोराही नगर कमिटी सचिव इन्द्र बुढाथोकीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad