Ad Area

कालो सुरुङभित्र ‘श्रमको मुल्य खोज्दै’ मजदुर


घोराही, १८ बैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर १९ को तोषमा रहेको कोईलाखानीमा आईतबार मध्यान्हको समयमा मजदुर आफ्नो काममा सदा जस्तै व्यस्त थिए । काम गरिरहेका मध्येका डिलबहादुर नेपालीलाई श्रमिक दिवसको बारेमा सोध्दा थाहा नभएको जवाफ दिनुभयो । हुन पनि वास्तविक श्रमिकका लागि श्रम नै हरेक दिनको दिवस हो । श्रम नगरे पेट भरिन्न । ‘खोई त, श्रमिक दिवस भनेको के हो ? मलाई थाहा भएन, हामी त काम गर्छौँ, पेट पाल्छौँ,’ डिलबहादुरले भन्नुभयो ।

दिलबहादुर उमेरले ४२ वर्षको हुनुभयो । च्यानगैरा घर भएका उहाँ विगत २३ वर्षदेखि कोइलाखानीमै आफ्नो श्रम पसिना बगाउँदै आउनुभएको छ । उहाँलाई हरेक दिन कोइलाखानीको सुरुङमा नछिर्ने हो भने परिवार पाल्न मुस्किल पर्छ । पहाडको कालो सुरुङभित्र जीवनलाई धरौटीमा राखेर श्रम पोख्नु उहाँको बाध्यता हो । सबैले काम छाड्न आग्रह गर्दा पनि अरु काममा उहाँ जोडिन पनि सक्नुभएको छैन । मजदुरहरूका लागि सुरक्षाको कुनै उपाय नभएकाले ज्यान जोखिममा राखेर भएपनि काम गर्नु उहाँ जस्तै युवाहरुको नियति हो । ‘भित्र काम गर्नेका लागि हेलमेट र बुटजस्ता कुनै पनि सुरक्षा सामग्रीसहितको उपाय अपनाइएको छैन । कतिबेला कहाँ भत्किन्छ, केही पनि थाहा हुँदैन । तर पनि हामीले काम गर्नुपर्छ’ डिलबहादुरले भन्नुभयो ।

घोराही बजारदेखि करीव २० किलोमिटरको दुरीमा रहेको तोषमा काम गर्ने मजदुरले श्रम अनुसार मासिक २५ देखि ४० हजार रुपैयाँसम्म कमाउँछन् । तोषका ३० वर्षीय हरि बुढा सानैबाट सुरुङमा छिर्नुभयो । करीव १५ वर्ष उहाँले यही कोइलाखानीमा बिताईसक्नुभएको छ ।

२९ वर्षीय ईन्द्रबहादुर पुनले पनि उहाँ ९ वर्ष कोइलाखानीको सुरुङमै बिताई सक्नुभयो । काम गर्न पहिले जस्तो अहिले सहज भने छैन । खानी पतालिँदै गएको छ । ५ सय मिटरभन्दा गहिरा सुरुङ भईसके । २८ वर्षका लालबहादुर नेपाली पनि ईन्द्रबहादुरसँगै कोइलाखानीमा हरेक दिन छिर्नुहुन्छ । ३ वर्षदेखि उहाँको दैनिकी यसरी नै बित्दै आएको छ । त्यो भन्दा अघि उहाँ साउदीमा ३२ महिना बिताए आउनुभयो । त्यहाँ पनि आफुले भने जस्तो नभएपछि अन्ततः त्यही कोइलाखानीको काम रोज्नुभएको छ ।

दाङ र रोल्पाको सीमा जोड्ने पहाडले गाउँको दुःख र वेदनाको कथा बोकेका छन् । घोराही उपमहानगरपालिका–१९ तोषकी ५५ वर्षीया हरिकला राना मगर अजंग पहाडको डिलमा बसेर औँला भाँच्दै आफ्नो उमेरको हिसाब गर्नुभयो । लामो समयदेखि कोइला बोक्दै आउनुभएकी उहाँले मात्रै कोइलाको पहाड बोकिसक्नुभयो होला । तर श्रम अनुसार मुल्य पाउन नसकेको उहाँको दुखेसो छ ।

सोही ठाउँका ४४ वर्षीय मानबहादुर घर्ती पनि विगत २३ वर्षदेखि कोइलाखानीमै हुनुहुन्छ । उहाँले पहाडमा खनिएको सुरुङबाट धेरै कोइला निकाल्नुभयो । घर नजिकको काम भएकाले पनि उहाँका लागि अरु विकल्प सोच्ने अवस्था रहेछ ।

घरपरिवार पाल्न, बाललिकाको लालनपालन, शिक्षा दिक्षामा उहाँको श्रम खचेर आएको मुल्यले धानेको छ । ‘२१ वर्षको छँदा कोइलाखानीमा काम गर्न छिरेको अहिले म ४४ वर्षको भएँ । आधा जीवन त खानीमै बितेछ’, २३ वर्ष सुरुङभित्रको काममा बिताउनुभएका घर्तीको बाँकी जीवन पनि यसैगरी बित्ने अनुमान गर्नुहुन्छ’ लामो सास तानेर उहाँले भन्नुभयो, ‘जिन्दगी कोइलाखानीले नै खानेभयो ।’ जिल्लामा एक दर्जन स्थानमा कोइला उत्खनन हुने गरेको छ  । घोराही–१९ को बोल्दी, राम्चे, बजारपानी र तोष तथा बंगलाचुली गाउँपालिकाको मर्पेस, छिपन, बोक्सिनी भीर, ठाडा, ज्यामुरे र भुल्केमा कोइलाखानी रहेका छन् । अन्यत्र भन्दा तोषको कोइलाखानी सबैभन्दा पुरानो र ठूलो छ ।

जीवनभर सो क्षेत्रमा युवाहरु कोइलाखानीको अँध्यारोभित्र काला पत्थर फोडिरहेका छन् । जोवन र बैंसका दिनहरू कोइलासँग साटेका छन् । साँच्चै भन्ने हो भने उनीहरु बाहिरी संसारबाट बेखबर छन् । अहिले पनि गहिरो सुरुङको अँध्यारोभित्र हरेक दिन कोइला खन्ने र निकाल्ने काम हुने गरेको छ । यो दुःखबाट छुट्कारा पाउने कुनै संकेत छैन । काम आफैमा जोखिमको छ, त्यसमा पनि सहज कसरी बनाउने भन्नेमा कसैको चासो पुगेको छैन ।

मजदुरले काम अनुसार मुल्य नपाएको गुनासो गरेपनि कोइला कम्पनीले भने श्रमिकका पक्षमा धेरै प्रयास गरेको बताउनुहुन्छ, कन्चन कोलका व्यस्थापक नारायण पन्थी । जोखिम बिमा गरेको बताउँदै उहाँले मजदुरलाई उनीहरुको अनुकल काममा लगाउने गरेको बताउनुभयो । ‘दिनमा ८ घण्टा काम गर्ने हो तर यहाँ उनीहरु ६ घण्टा काम गर्छन्,’ उहाँले भन्नुभयो, ‘काम अनुसार दाम लैजान्छन् ।’

खानीभित्र बाटो खोल्दा र थप कोइला खोज्न ढुंगा–चट्टान काट्नुपर्छ । कामदारले छिनो र हतौडाको भरमा बाटो खोल्ने गर्छन्  । सुरुङभित्र लाइट बालेर, निहुरिएर हिँड्नुपर्छ  । तोषमा रहेका तीनवटा खानीमा २५ जना कामदार सुरुङभित्र खन्ने र कोइला बाहिर ल्याउने काम गर्छन् । ३२ जनाले भने बोक्ने काम गर्छन् ।

पहाड मुनि खनिएका कोइलाखानीका सुरुङले गाउँको पेट मात्र भरेको छैन, कालापत्थरसँग सिंगो गाउँको जीवन र जवानी साटिएको छ । सरकारले श्रमिक दिवस भनेर विदा दिएपनि काला पहाडभित्र श्रम खर्चेर जीवन धान्ने श्रमिकहरुका लागि श्रमिकको अर्थ छैन । उनीहरु आफुहरुको श्रमको मुल्यांकन गर्दै कामको योगदानमा आधारित वृत्ति विकासमा ध्यान दिन आग्रह गर्छन् ।