Ad Area

मतदातालाई निर्धक्कसँग मतदान गर्ने व्यवस्था मिलाएका छौ : प्रमुख जिल्ला अधिकारी रेग्मी (अन्तर्वार्ता)


देशैभरि वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । सोहीअन्तर्गत दाङ जिल्लामा पनि भयरहित तथा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्न विभिन्न सुरक्षा योजनाहरु तयार परिएको छ । स्थानीय तह सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिकाअनुसार विभिन्न कार्यहरु जिल्ला प्रशासनले गरिरहेको छ । हालसम्म जिल्लामा कुनै अप्रिय घटनाहरु भएका छैनन् ।

चुनाव शान्तिपूर्ण, मर्यादित रुपमा सम्पन्न गर्नका लागि जिल्ला सुरक्षा योजना पारित गरेर चुनावी सुरक्षाका लागि प्रशासनले सबै व्यवस्थापन मिलाएको छ । निर्वाचनलाई सुव्यवस्थित र निर्वाचन अवधिमा हुन सक्ने घटनाहरुलाई मध्यनजर गरी प्रशासनले मतदान केन्द्र, उम्मेदवार, कर्मचारी, मतदाताको सुुरक्षाका लागि विभिन्न योजना बनाएर स्थानीय चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्नमा प्रशासन लागि परेको छ । सुरक्षा सतर्कता अपनाउँदै संवेदनशील मतदान केन्द्रहरुको लागि पनि सुरक्षा रणनीति बनाएर मतदाताले आफ्नो मताधिकार सहज रुपमा प्रयोग गर्न र गराउन सबै सुरक्षा व्यवस्था मिलाइएको छ ।

चुनावी सुरक्षाका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धान गरी करिब ३५ सय बढी सुरक्षाकर्मीहरु खटिएका छन् । चुनावी सुरक्षा, सुरक्षा रणनीति र शान्ति सुरक्षाको विषयमा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसँग पत्रकार बालाराम खड्काले गरेको कुराकानी सार संक्षेप ।

 जिल्लाको शान्ति, सुरक्षा र स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थापन कसरी मिलाउनु भएको छ ?

 हामी दिनरात यसैमा लागेका छौँ । म अहिले पनि बैठकमै छु । हामीले सुरक्षा योजना पारित गरेर स्थानीय तह सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र निष्पक्ष एवं सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिकाअनुसार विभिन्न कामहरू गरेका छौँ ।

निर्वाचन सुरक्षा, उम्मेदवारहरूको सुरक्षा, कर्मचारी, मतदान केन्द्र, मतपेटिकालगायत विभिन्न निकायलाई लक्षित गरेर सुरक्षा योजना बनाएका छौँ । हामी त्यसैको व्यवस्थापनमै जुटेका छौँ । जिल्लाको शान्ति सुरक्षा कसरी सुव्यवस्थित र मर्यादित गराउन सकिन्छ भन्नेमा लागेका छौँ । हामीले सबै शान्ति सुरक्षाको व्यवस्थापन गरिरहेका छौँ ।

Blog Post Ad

 कुन–कुन सुरक्षा निकाय, कसरी र कति सुरक्षाकर्मी परिचालन गर्नुभएको छ ?

 हामीले हाल जिल्लामा करिब ३५ सय सुरक्षाकर्मी परिचालन गरेका छौँ । जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी, अनुसन्धानलगायतका सबै नै हुनुहन्छ । विभिन्न स्थानमा आवश्यकताअनुसार त्यसलाई व्यवस्थापन गरेका छौँ ।

त्यसका साथसाथै हुन सक्ने सम्भावित घटनलाई मध्यनजर गरी उच्च सतर्कता समेत अपनाएका छौँ । शान्ति सुरक्षालाई खलल पु¥याउने गतिविधिहरू नहोउन् भन्नका लागि हामीले सुरक्षा नीतिहरू समेत बनाएका छौँ । कथमकथाचित कहीँकतै घटना वा दुर्घटना भइहाल्यो भने पनि त्यसलाई तत्काल व्यवस्थापन गर्ने गरी तयारी अवस्थामा छौँ ।

 जिल्लामा सुरक्षा थ्रेट केही छ ?

 अहिलेसम्म त्यस्तो केही छैन । सुरक्षा थ्रेट मैले पहिले पनि भने हालसम्म कुनै अप्रिय घटना कतै केही घटेका छैनन् र त्यस्ता घटना वा दुर्घटना हुन दिने पनि छैनौँ । तर हुन सक्ने सम्भावित घटनाहरूलाई मध्यनजर गरेर हामीले सुरक्षा सतर्कता अपनाएका छौँ ।

निर्वाचनको समयमा हुनसक्ने सम्भावित घटनाहरूलाई मध्यनजर गर्दै हामीले विभिन्न योजनाअनुसार सुरक्षा रणनीति बनाएका छौँ । सोहीअनुसार सुरक्षामर्की समेत परिचाल गरेका छौँ ।

 सीमा सुरक्षा तथा सीमा बन्दको व्यवस्थापन कसरी मिलाउनु भएको छ ?

 हो, हाम्रो जिल्लामा केही छिमेकी राष्ट्र भारतसँग जोडिएका सीमा क्षेत्र पनि छन् । ती सीमाहरू ४८ घण्टा अगाडि बन्द हुने छन् । दाङको बलरामपुर, राजपुर, कोइलावासलगायतका सीमा क्षेत्रमा हामीले सीमा सुरक्षाको विषयमा निगरानी गरिराखेका छौँ ।

भारतीय सुरक्षकर्मीहरूसँग पनि सहकार्य समन्वय गरेर हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरी सुरक्षा व्यवस्थापन मिलाएका छौँ । त्यस्तै सीमामा हुने र देशभित्र हुने गतिविधिलाई पनि हामीले शुक्ष्म रूपले अनुसन्धान र सूचनाहरू संकलन गरिरहेका छौँ ।

त्यस्तै राजमार्ग सुरक्षा, राजमार्गमा चेकजाँच, कहीँ कतै अवान्छित र चुनाव विथोल्ने गतिविधि नहोउन् भन्नका लागि सुरक्षाकर्मी परिचालन गरेका छौँ । विभिन्न स्थानमा विभिन्न समयमा सुरक्षा चेकजाँच पनि भइ रहेका छन् ।

 जिल्लामा कतिवटा संवेदनशील मतदान केन्द्रहरू छन्, त्यसको व्यवस्थापन कसरी गर्नुभएको छ ?

 जिल्लामा हाल ५ स्थानमा रहेका मतदान केन्द्रलाई संवेदनशील स्थान हामीले मानेका छौँ । बबई, राजपुरलगायतका गाउँपालिकाका केही वडाका मतदान केन्द्रहरू संवेदनशील छन् । ती मतदान केन्द्रहरूमा हामीले सुरक्षा व्यवस्थापनका लागि निगरानीको व्यवस्था समेत मिलाएका छौँ । मतदाता, मतदानपश्चात मतपत्रको सुरक्षा, मतदानमा खटिएका कर्मचारी तथा अन्य सुरक्षाका लागि त्यहीअनुसार सुरक्षाकर्मीहरू पनि व्यवस्थान गरिसकेका छौँ ।

 सबै क्षेत्रमा मतपत्र तथा कर्मचारी खटाइ सक्नु भयो ?

 हामीले सोमवार ५ पालिकाका र मंगलवार ५ पालिकाका संवेदनशील र विकट क्षेत्रमा मतपत्र तथा कर्मचारीहरूलाई सुरक्षा सहित कटाइसकेका छौँ । अन्य लमही, राप्ती, तुलसीपुर, घोराहीका मतदान केन्द्रहरूमा अब पठाउने छौँ । केही मतदान केन्द्रहरूमा कर्मचारी सुरक्षा व्यवस्थापनका साथ कार्यक्षेत्रमा पुगिसक्नु भएको छ भने केही स्थानमा जाने तयारीमा हुनुहुन्छ । मंगलवारसम्म सबै कर्मचारी मतदान केन्द्रमा गइसक्नु हुने छ ।

 मतपेटिकाको सुरक्षा र ढुवानीको व्यवस्थापन कसरी मिलाउनु भएको छ ?

 मतदानको अन्तिम समय सीमा ५ बजे तोकिएको छ । तत्पश्चात नै मतपेटिकाहरू सम्बन्धित संस्थानमा ल्याउने व्यवस्था मिलाइ सकेका छौँ । कुन ठाउँबाट कसरी ल्याउने भन्ने पनि टुङ्गो लागिसकेको छ ।

३० गते नै सम्पूर्ण मतदान केन्द्रबाट मतपेटिकाहरू सम्बन्धित स्थानमा संकलन गरिसक्ने हाम्रो योजना छ । त्यसका लागि विभिन्न यातायात समितिहरूसँग गाडीको व्यवस्थापन तथा सम्झौता समेत गरिसकेका छौँ । कुन रुटबाट कसरी सुरक्षा सतर्कता अपनाएर ल्याउने भन्ने पनि टुङ्गो लागिसकेको छ ।

 निर्वाचनसम्बन्धी अन्य सुरक्षाका गतिविधिहरू के गर्नु भएको छ ?

 आज मात्र एउटा सूचना पनि जारी गरेका छौँ । यही वैशाख ३० गते हुने स्थानीय तहको सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ थ मा भएको व्यवस्थाअनुसार प्रभावकारी कार्यान्वयन गर्न २९ गते राती १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि जिल्लाभर मादक पदार्थको ओसारपसार, विक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएका छौँ ।

त्यस्तै यसअघि पनि अवैध हतियारहरू बुझाउन अनुरोधलगायतका सार्वजनिक अपील समेत गरेर केही हतियार संकलन गरेका छौँ । त्यस्तै निर्वाचनको दिन सवारी पासवेगरका सवारी साधान चलाउन बन्देज लगाएका छौँ ।

Blog Post Ad Blog Post Ad