Ad Area

किसानलाई समयमै मल उपलव्ध गराउन नागरिक समाजको माग


दाङ,७ जेठ । नागरिक समाज दाङले किसानलाई समयमै रासायनिक मल उपलव्ध गराउन सरकारसँग माग गरेको छ । किसानको खेती सुरु हुने समय आउन लाग्दा पनि मल नपाउने अवस्था रहेको भन्दै नागरिक समाज दाङको शनिवार बसेको बैठकले किसानलाई समयमै मल उपलव्ध गराउन माग गरेको हो ।
त्यसैगरी नागरिक समाज दाङले सरकारले दुई दिन सार्वजनिक विदा दिने निर्णयले सेवाग्राही समस्यामा परेको भन्दै निर्णय सच्याउन आग्रह गरेको छ । ‘दुईदिन सार्वजनिक विदा दिने निर्णयले सेवाग्राहीहरु समस्या परेका छन्’,नागरिक समाज दाङका सचिव श्रेष्ठले भने,‘जनतालाई सहज सेवाका लागि निर्णय सच्याउन सरकारसँग माग गर्दछौ ।’ साथै बैठकले जिल्लाका सरकारी कार्यालयहरुमा सेवाप्रवाहलाई सहज बनाउन समेत आग्रह गरेको छ ।
त्यसैगरी बैठकले पछिल्लो समय देशव्यापी रुपमा महिला हिंसाका घट्नाहरु घटिरहेको भन्दै सरकारलाई दोषी पहिचान गरेर कारवाही गर्दै पीडितलाई न्याय दिन आग्रह गरेको छ । साथै आगामी दिनहरुमा महिलामाथि हुने हिंसाका घट्नाहरु हुन नदिनकालागि समेत दोषीलाई कडा कारवाहीसँगै सचेतनालाई बढाउन समेत आग्रह गरेको छ ।
बैठकले यहि बैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्दै जनता र समग्र जिल्लाको विकासका लागि काम गर्न समेत आग्रह गरेको छ । जनताको जनमतको कदर गर्दै विकास र सुशासन युक्त सरकार निर्माण गर्न नागरिक समाज दाङको बैठकले निर्णय गरेको नागरिक समाज दाङका सचिव श्रेष्ठले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad