Ad Area

चुनावपछि खेतिकै काममा


 

घोराही, ८ जेठ । राप्ती गाउँपालिका वडा नम्बर ७ की सुनिता चौधरी दिनभर खेतमा धान रोप्न व्यस्त हुनुहुन्थ्यो । उहाँसँगै रमिता, उमेश र मनिता पनि धान रोपाइँमा दिनभर हुनुहुन्थ्यो । भर्खरै स्थानीय तहको निर्वाचनमा मतदान गरेर उहाँहरु जस्तै सो क्षेत्रका धेरै किसान धान रोपाइँ गर्न खेत पसिसकेका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर ५ का मनिराम चौधरीसँगै उहाँको ८ जनाको परिवार पनि अहिले दिनभर धान रोपाइँमा व्यस्त छ । हिजोका दिनमा हलो जोतेर खेतीपाती गर्ने गरेका कृषकहरु अहिले कृषि यान्त्रिीकरणले छिटो छरितो रुपमा खेतीपातीमा जुट्ने गरेका छन् । बैशाखको पहिलो साता धानको व्याड राखेर वर्षेबालीको खेतीपातीमा जुटेको देउखुरीका सिँचाई सुविधा प्रसस्त भएका धेरै जसो स्थानमा अहिले कृषक धान रोप्न थालेका छन् ।

चुनावले केही समय खेतमा पस्न ढिलाई भएपनि अहिले उनीहरु अरु काम सकाएर खेतीपातीमा लागेका छन् । ‘चुनावले गर्दा खेतमा पस्न पाइएको थिएन, भोट हालियो अब धान रोप्न व्यस्त भएका छौँ,’ राप्ती गाउँपालिका ७ की सुस्मिता चौधरीले भन्नुभयो, ‘भोट हालेर नेता चुन्यो अब भान रोपेर बाली भित्र्याउँछौँ ।’

उसो त केही दिन देखि दाङमा वर्षा भईरहेको छ । पानी नलाग्ने उँचो ठाउँमा मकैबाली छर्न किसान बारीमा पसेका छन् भने सिँचाइँ सुविधा पुगेका ठाउँमा कृषकले धान रोप्न शुरु गरेका छन् । ‘हाम्रो यो ठाउँमा बाह्रै महिना खेतीपाती हुन्छ, फागुनमा रोपेको मकै अहिले खाने भईसकेको छ, त्यो अब यही महिनाको अन्त्यमा भित्र्याउने हुन्छ,’ राप्ती ५ का सत्यनारायण चौधरीले भन्नुभयो, ‘बाँझो खेतमा धान रोपेर सकाउने बित्तिकै मकै रोपेको ठाउँमा पनि धान रोप्छौँ ।’ राप्ती गाउँपालिकाको वडा नम्बर ६ र ७ कृषि पकेट क्षेत्र हो । पालिकाले पनि सो वडालाई कृषि उत्पादकत्वका दृष्टिकोणले विशेष रुपमा सम्बोधन गर्ने गरेको छ ।

ग्रामीण क्षेत्रमा रोपाइँको चटारो लागेपछि किसानलाई भेट्न अब खेतमै जानुपर्ने अवस्था भएको छ । पालिकाको चुनावमा मतदाताले भोट दिएर जितेका जनप्रतिनिधि बधाई तथा शुभकामना स्वीकार्न व्यवस्त भएका बेला राप्ती गाउँपालिकाका धेरै जसो वडाका कृषकभने आफ्नै काममा तल्लीन भएका छन् ।

Blog Post Ad

किसान बिहान देखि साँझसम्म धान रोपाइँ गर्न मै व्यस्त हन थालेपछि जनप्रतिनिधि उनीहरुलाई धन्यवाद दिन रातिको समय कुर्नुपर्ने अवस्थामा पुगेका छन् ।
गतवर्ष पनि राप्ती ६ का रामचन्दर चौधरीले बैशाख तेश्रो साता धान रोप्नुभएको थियो । यो पटकभने कलमी बनाएर धान रोप्न ब्याड खेतमा राखिसक्नुभएको छ । सो क्षेत्रमा बाह्रै महिना पानीको सुविधा भएकाले सिँचाइँ नुपग्ला भन्ने डर छैन । खेतीपातीका लागि प्रसस्त पानी भएको ठाउँमा कृषकलाई खेतीपाती गर्न कुनै कठिनाई छैन ।
जिल्लामा धान उत्पादनको कुल ३९ हजार ६ सय हेक्टर क्षेत्रफल रहेको तथ्यांक छ । गत वर्ष जिल्लामा ३७ हजार ७ सय हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइ भएको थियो । यो पटक अझै जिल्लाको धेरै ठाउँमा धान रोपाइँ शुरु भएको छैन । अधिकांश स्थानमा अझैपनि आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ । भूमिगत सिचाइँको व्यवस्था भएका ठाउँमा अहिले नै धान रोप्न सक्ने अवस्था छैन ।
‘मेरो खेतमा पानी प्रसस्त पुग्छ, ह्धानका लागि जति सक्यो धेरै पानी चाहिन्छ, त्यसमा कुनै समस्या छैन, धान पनि लागेकै छ, त्यसैले धान रोपाइँमा जुटेको हुँ,’ राप्ती ६ का धनिराम चौधरीले भन्नुभयो ।
दाङमा हाईब्रेड, उन्नत जात र केही स्थानीय जातको धान रोपाइ हुने गरेको छ । कृषिको उर्वर भुमि मानिएको दाङमा अन्य खेतीको तुलनामा धान खेती बढी हुने गरेको छ । जिल्लामा सबै भन्दा बढी हाइब्रेड धानको खेती हुने गरेको छ । देउखुरी उपत्यकामा जेठबाटै धान रोप्न थालिएपनि दाङ उपत्यकामा भने असार लागेपछि धान रोपाइँ हुने गरेको छ ।

Blog Post Ad Blog Post Ad