Ad Area

तुलसीपुरमा मत गणना जारी, अत्यधिक मत बदर


घोराही ८ जेठ ।  गएको वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन मध्ये दाङको नौ वटा पालिकाकाको मत परिणाम सार्वजनिक भएको छ । भने तुलसीपुर उपमहानगरपालिकाको मत गणना जारी छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवारको मृत्यु भएपछि जेठको ३ गते उक्तवडामा निर्वाचन भएपछि मात्रै तुलसीपुरको मत गणना सुरु भएको थियो । अहिले पनि मत गणना जारी छ ।

अहिलेसम्म मत परिणाम आएका पालिका मध्ये नेपाली कांग्रेसका उम्मेदवारहरुले धेरै पालिकामा जित हासिल गरेका छन् । जसमध्ये प्रमुखमा कांग्रेसले ५, उपप्रमुखमा ७, एमालेले प्रमुख १ उपप्रमुख २, माओवादी केन्द्रले प्रमुख तीन पद जितेका छन् । नेपाली कांग्रेसका उम्मेदवारहरुले दाङको लमही नगरपालिकामा मेयर/उपमेयर पद जितेको छ । त्यसैगरी राजपुर गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका र दंगीशरण गाउँपालिकामा पनि कांग्रेसकै उम्मेलवारले अध्यक्ष र उपाध्यक्ष पदमा जित हासिल गरेका छन् ।

यी पालिकामा गठबन्धन भएको थिएन । त्यस्तै बंगलाचुली गाउँपालिकाका र गढवा गाउँपालिकामा उपमेयर पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । त्यस्तै नेकपा एमालेले घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारलाई हराउँदै मेयर र उपमेयर पदमा जित हासिल गरेको छ भने राप्ती गाउँपालिकामा उपमेयर पद जितेको छ । नेकपा माओवादी केन्द्रले बंगलाचुली गाउँपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा अध्यक्ष पद जितेको छ । तुलसीपुर उपमहानगरपालिकामा भने चार दलिय गठबन्धनका उम्मेदवारलाई पछि पार्दै मेयर/उपमेयरमा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

अत्यधिक मत बदर
तुलसीपुरमा जारी मत गणनामा अत्यधिक मत बदर भएको पाईएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १,२,३,४,५,६,७,८,९ को मत गणना गर्दा ९ हजार ६७२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका निर्वाचन अधिकृत राजेश्वर अर्यालले जानकारी दिए । बदर भएका मत मध्ये मेयरमा ३ हजार ८९० र उपमेयरमा ५ हजार ७८२ मत बदर भएको अर्यालले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका–वडा ५ मा मात्रै ९ सय ६ मत बदर भएको पाइएको अर्यालले बताए । तीन हजार सात सय ४१ मत खसेको उक्त वडामा नौ सय ६ मत बदर भएको हो । बदर भएको उक्त मत उपमेयर पदको मात्र हो । अर्यालका अनुसार बदर भएको यो मत अत्यधिक हो ।

तुलसीपुर– ४ मा पनि त्यत्तिकै मत बदर भएको छ । चार हजार एक सय ७७ मत खसेको उक्त वडामा ८ सय ६१ मत बदर भएको छ । त्यसैगरी, वडा नम्बर १ मा तीन सय ९६ र वडा नम्बर २ मा तीन सय ६४ मत बदर भएको छ । यसपटक धेरै दलको गठबन्धन भएको र एउटै पदमा धेरै छाप लगाएकाले धेरै मत बदर भएको निर्वाचन अधिकृत अर्यालले बताए । क्रस गरेर मतदान गर्न खोज्दा प्रायः यस्तो समस्या भएको हो ।

Blog Post Ad

घोराही उपमहानगरपालिकामा पनि १३ सय ५४ मत पूर्ण बदर भएको छ । त्यसैगरी मेयर पदमा १० हजार ४०४ र उपमेयरमा १० हजार ८३ मत आंशिक बदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । ११ लाख २९ हजार २७ मतदाता रहेको घोराही उपमहानगरपालिकामा ७६ हजार ५२१ मत खसेको थियो ।

Blog Post Ad Blog Post Ad