Ad Area

लमहीको विकास हाम्रो प्राथमिकता : नगर प्रमुख चौधरी


गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट लमही नगरपालिकाको नगर प्रमुखमा जोगराज चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट लमही नगरको प्रमुखमा ९ हजार ३ सय १७ मत प्राप्त गरेर विजयी भएका चौधरीले लमहीको समग्र विकासका लागि योजनाबद्ध रुपमा काम गर्ने र लमहीलाई व्यवस्थित सहरका रुपमा विकास गर्ने बताए ।

देउखुरीको प्रमुख सहरका रुपमा रहेको लमहीलाई व्यवस्थित सहरका रुपमा विकास गर्नेदेखि कृषिको आधुनिकीकरण, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, खेलकुद, फोहर व्यवस्थापनलगायतका कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । उनै नगर प्रमुख जागराम चौधरीसँग गरिएको कुराकानीको सार संक्षप ।

 नगर प्रमुखमा निर्वाचित भएपछि लमहीको समग्र विकासका लागि के काम गर्ने योजनामा हुनुहुन्छ ?

 लमहीको नगर प्रमुखका रूपमा नेतृत्व सम्हालेको केही दिन भएको छ । भर्खरै नेतृत्व सम्हालेकाले महत्वपूर्ण निर्णय भएको छैन तर लमहीको विकासका लागि कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, खेलकुदसँगै पूर्वाधार विकासका लागि प्राथमिकतामा राखेर सुधारका कामहरू गर्ने योजनामा छौँ ।

त्यसका लागि तयारीमा जुटेका छौँ । सबैको सल्लाह र सुझावबाट लमहीको विकासका लागि पाँच वर्षको अवधिमा के–के काम गर्न सकिन्छ भनेर योजना बनाउने छौँ । र, ती योजनाहरू प्राथमिकताका आधार प्रत्येक वर्ष पूरा गर्ने छौँ । बाँकी नियमित गर्ने विकासका निर्माणका कामहरू पनि भइरहने छन् ।

 लमहीको दीर्घकालीन विकासका लागि के योजना बनाउनुभएको छ ?

Blog Post Ad

 लमही देउखुरी क्षेत्रको प्रमुख सहर हो । लमहीको विकासका लागि धेरै काम गर्नुपर्ने छ । लमहीलाई व्यवस्थित सहरका रूपमा विकास गर्नु पर्ने हाम्रो पहिलो दायित्व छ । त्यसका लागि बजार व्यवस्थापन, फोहर व्यवस्थापन, पार्किङ व्यवस्थापनलगायतका योजनालाई सबैसँग छलफल गरेर अघि बढाउने सोचमा छौँ ।

देउखुरी क्षेत्रको प्रमुख सहर भए पनि स्वास्थ्य, उच्च शिक्षालगायतका व्यापार, व्यवसाय, तटबन्धनलगायतका कामहरू गर्नुपर्ने छ । त्यसका लागि लमहीमा रहेको अस्पतालको स्तर वृद्धि गर्दै ५० शय्याको अस्पतालका रूपमा विकास गर्ने, गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयको पठनपाठनमा सुधार र कृषिको आधुनिकीकरण गर्न ध्यान दिने योजना छ । प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवाको व्यवस्था गर्नु छ ।

यसैगरी नगरका प्रत्येक नागरिकको घरमा खानेपानीको धारा, खेलकुदका संरचना, सबै बस्तीमा सडक पु¥याउने योजना रहेको छ । पर्यटन विकासका लागि लमहीमा रहेका धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थलहरूको प्राथमिकताका आधारमा योजनाबद्ध रूपमा विकास गरेर लमहीलाई पाँच वर्षभित्र व्यवस्थित सहरका रूपमा विकास गर्ने छौँ । त्यसका लागि स्थानीय सरकार, निजी क्षेत्र, बुद्धिजीवी, राजनीतिक दललगायत सबै क्षेत्रको सहयोग लिने छौँ ।

 निर्वाचनका क्रममा र निर्वाचित भइसकेपछि मतदाताको घर–घरमा पुग्नु भयो रु त्यस क्रममा जनताको अपेक्षा के पाउनु भयो ?

 निर्वाचन अघि र निर्वाचन पछि पनि म जनताकै बीचमा जाने गरिरहेको छु । जनताका ठूला अपेक्षा छैनन् । सडक विस्तार, सडक कालोपत्रे गर्नुपर्ने, पुल वा कल्भर्ट निर्माण गर्नुपर्ने, लमहीमा विशेषज्ञ सेवा सहितको अस्पताल निर्माण गर्नुपर्ने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नु पर्ने, नगरभित्र रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रहरूको पहिचान गरेर योजनाबद्ध रूपमा विकास गर्नुपर्ने र बेरोजगार युवा जनशक्तिलाई आफ्नै ठाउँमा रोजगार प्रदान गर्नका लागि नगरपालिकाले ध्यानदिनु पर्नेलगायतका मागहरू रहेका छन् ।

खानेपानीको व्यवस्था गर्नु पर्ने, लमही बजारमा रहेको अव्यवस्थित पार्किङलाई हटाउनुपर्ने, भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्नु पर्नेलगायतका मागहरू रहेका छन् । जनताका अधिकांश कामहरू नगरबाट समाधान गर्न सकिने खालकै रहेका छन् । ती समस्या समाधान गर्न योजनाबद्ध रूपमा काम गर्दै छौँ । प्राथमिकताका आधारमा अत्यावश्यक योजनाहरूलाई चाँडै गर्ने छौँ । कृषिको विकासका लागि सिंचाइको माग छ । त्यसतर्फ ध्यान दिने छौँ ।

कृषिको आधुनिकीकरणसँगै घरेलु उद्योगहरू स्थापना गर्न प्रबद्र्धन गर्दै लमहीमै रोजगारीका अवसरहरू सिर्जना गर्न ध्यान दिने छौँ । आपूm स्वयम् कृषि क्षेत्रबाटै आएकाले कृषि व्यवसायमा भोगिने समस्या समाधानका लागि विशेष योजना बनाएर अघि बढ्ने बताए । स्थानीय स्तरबाट सक्ने काम हामीले गर्छौँ । संघ र प्रदेश सरकारबाट कामका लागि आवश्यक समन्वय र पहल गर्ने छौँ ।

 जनताका धेरै मागहरू रहेछन्, कसरी सम्बोधन गर्नुहुन्छ ?

 लमही नगरपालिका ९ वटा वडाहरूमा फैलिएको छ । सहरदेखि गाउँसम्मका जनताका फरक–फरक माग छन् । सडक विस्तार, कालोपत्रे, पुल, कल्र्भट, तटबन्धन, गुणस्तरीय प्राविधिक शिक्षा, स्तरीय स्वास्थ्य सेवा, कृषिको आधुनिकीकरण, उपकरणमा किसानलाई सहयोगलगायतका मागहरू रहेका छन् ।

जनताका मागमध्ये कतिपय वडा तहबाटै समाधान हुने देख्छिन् । वडाबाट पूरा नहुने मागहरूलाई प्राथमिकताका आधारमा हामीले नगरबाट गर्ने छौँ । नगरबाट गर्न नसकिने योजनाका लागि यस क्षेत्रका संसद्हरूसँग समन्वय गरेर प्रदेश र संघीय सरकारसँग बजेट माग गरेर जनताका समस्या समाधानका लागि पहल गर्ने छौँ ।

 लमही कृषिको सम्भावना भएको क्षेत्र हो । कृषिको विकासका लागि के गर्ने सोचमा हुनुहुन्छ ?

 लमही कृषिका लागि राम्रो सम्भावना भएको क्षेत्र हो । कृषि उत्पादनसँगै, तकारी खेती, पशुपालन र दूधका लागि समेत राम्रो क्षेत्र हो । परम्परागत रूपमा रहेको कृषि व्यवसायलाई आधुनिकीकरण गर्दै नयाँ पुस्तालाई कृषि व्यवसायमा ल्याउन सकियो भने लमहीको आर्थिक समृद्धिसँगै गाउँघरमा रोजगारीका अवसरहरू सिर्जना गर्न सकिने अवस्था छ ।

म स्वयम् कृषि व्यवसायबाट आएकाले कृषि व्यवसायको आधुनिकीकरण, प्रविधिको प्रयोग र उत्पादन बढाउनका लागि किसानलाई तालिम, उन्नत जातको बिउ र प्रविधिमा सहयोग पुग्ने गरी कार्यक्रम बनाउन ध्यान दिने छु ।

 देउखुरीसँगै समग्र दाङको विकासका लागि कोइलाबास नाका सञ्चालन गर्नु पर्ने कुरा उठ्छ तर अघि बढ्न सक्दैन । तपाईं जनप्रतिनिधिका रूपमा आइसकेपछि यो विषयमा केही सोच्नु भएको छ कि ?

 तपाईंले भनेको कुरामा सहमत छु । कोइलाबास नाका सञ्चालन गर्न सके देउखुरी क्षेत्रसँगै समग्र जिल्लाको विकासमा सहयोग पुग्ने छ तर यो स्थानीय सरकारबाट सम्भव छैन । यस विषयमा प्रदेश सरकार र संघीय सरकारले पहल गर्न आवश्यक छ ।

यस विषयमा लमहीले मात्र नभएर देउखुरीका चारवटै पालिकाहरूले पहल गर्न आवश्यक छ । पालिकाहरूले संयुक्त रूपमा नाका सञ्चालनका लागि प्रदेश र संघीय सरकारलाई आग्रह गर्ने छौँ । संघीय सरकारले चाहेर भारतसँग कुरा गर्न सक्यो भने कोइलाबास नाका सञ्चालनमा आउन सक्छ ।

 तपाईंले भनेका कामहरू गर्न कति सहज होला ?

 हरेक काम गर्नलाई कठिनाइ त पक्कै हुन्छन् । त्यसमा पनि स्थानीय सरकार चलाउन त झन कठिन नहुने कुरै भएन तर कार्यपालिकामा हामीलाई स्पष्ट बहुमत छ । जसले गर्दा निर्णय प्रक्रियामा हामीलाई अल्पमत पर्ने अवस्था छैन । तर पनि मैले अल्पमतलाई व्यवस्थापन गरेर अघि बढ्ने छु ।

लमहीको समग्र विकासका लागि सबैको भावनालाई समेटेर काम गर्ने छु । निर्वाचनमा एउटा दलबाट उम्मेदवार भए पनि अब जनप्रतिनिधिका रूपमा आइसकेपछि एकपक्षीय रूपमा भन्दा पनि समग्र लमहीका जनताको भावनालाई समेट्ने गरी विकास निर्माणका काममा लाग्ने छु । जनताको चाहना र आवश्यकताअनुसार काम गर्ने छु । त्यसका लागि सबैसँग सल्लाह र छलफल गरेर अघि बढ्ने सोचेका छौँ ।

Blog Post Ad Blog Post Ad