Ad Area

चलचित्र काँडेतारको पोष्टर सार्वजनिक


काठमाडौं,१८ जेठ। राष्ट्रवादी धारमा निर्माण गरिएको चलचित्र काँडेतारको पहिलो पोष्टर सार्वजनिक गरिएको छ । १५ औं गणतन्त्र दिवसको अवसर पारेर काँडेतारका नायक एवं निर्माता नवल खड्काले आइतबार सामाजिक संजाल मार्फत चलचित्रको पहिलो पोष्टर सार्वजनिक गरेका हुन् ।

निकै आकर्षक र अर्थपूर्ण देखिएको काँडेतारको पहिलो पोष्टरमा नायक नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की लगायत कलाकारहरु हातमा काँडेतार लिएको अवस्थामा देखिएका छन् ।

नायक नवल खड्काकै निर्देशन एवं शिवम अधिकारी र नवल खड्काको लेखन रहेको काँडेतार सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण गरिएको हो ।काँडेतारमा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी र बालकलाकारमा नादिया खड्का र सनया खड्का लगायतको अभिनय छ ।

संगीतकार मणि थापा र दिपक शर्माको संगीत रहेको काँडेतारमा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द, कविराज गहतराजको नृत्य रहेको छ । नवल, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्र काँडेतारको कार्यकारी निर्माता सत्यकला राई हुन् ।

राष्ट्रवादी, चेतनामूलक एवं ऐतिहासिक विषयवस्तुका चलचित्रहरु निर्माण गरी नेपाली चलचित्र क्षेत्रमा अलग पहिचान बनाएका नायक एवं निर्माता नवल खड्काको काँडेतार राष्ट्रवादी धाराको एक सशक्त चलचित्रको रुपमा लिइएको छ । आवाज, दशगज, भिमदत्त नवलका सशक्त चलचित्रहरु हुन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad