Ad Area

वरपिपलको ऐतिहासिक गाउँ अर्थात गैरीगाउँ


घोराही, २२ जेठ । वृक्ष राजयनमः अर्थात पिपललाई रुखहरुको राजा भनेर पनि चिनिन्छ । भगवान कृष्णले गीतामा भन्नुभएको छ– अश्वत्थः सर्ववृक्षाणुां अर्थात सबै वृक्षमा म पिपलको वृक्ष हुँ । त्यसैगरी शास्त्रहरुमा भनिएको छ– अश्वत्थः पूजितोयत्रपूजिताःसर्व देवताः अर्थात पिपलको पूजा गर्नाले सबै देवताको पूजा गरेको फल प्राप्त हुन्छ ।

पिपललाई रुखहरुको राजा भनेर पनि चिनिनु पनि स्वाभाविक हो । यसको छत्रछायाँमा बस्यो भने मनशान्त हुन्छ, सितलता प्राप्त हुन्छ । नयाँ वरपिपलका रुख कम मात्रामा रोपिए पनि पुर्खाहरुले रोपेका रुखहरु अहिले पनि गाउँबस्तीमा देख्न सकिन्छ ।

वरपिपल पर्यावरणीय दृष्टिकोणले मात्रै होईन, विभिन्न कारणले व्यवहारिक मानिएको छ । दाङको बबई गाउँपालिका वडा नम्बर ४ गैरीगाउँमा मात्रै १३ जोडी वरपिपलका ठूला रुख छन् । बबई गाउँपालिका वडा नम्बर वडा नम्बर ४ कन्चनपुरका लालबहादुर विकले भने जस्तै, एउटै गाउँमा १३ ठाउँ वरपिपलका जोडी रुख छन् ।

कुनै बेला सल्यान दाङ मेलापात गर्दा, कोटबेसी गर्दा, काम विशेषले लामो यात्रा तय गर्दा बास बस्ने, सितल खाने भनेर पुर्खाले रोपेका वरपीपल अहिले पनि सिंगोगाउँबासी अनि आगन्तुकलाई बबई गाउँपालिका वडा नम्बर ४ गैरीगाउँमा रोपिएका ती वरपिपलले वर्षौदेखि सितलता दिईरहेका छन् ।

लालबहादुरले पनि बाउबाजेले जस्तै वरपिपल रोपेर केही वर्ष अघि विधिपूर्वक विवाह गरिदिएको बताउनुहुन्छ । ‘हाम्रा पुर्खाले वन वातावरण जोगाउन जसरी चासो लिए, त्यही अभियानमा हामी पनि लाग्नु पर्ने हुन्छ । हिजोका दिनमा हाम्रा पुर्खाले यस्तो महान कामको सिको हामीले गर्नु जरुरी छ,’ लालबहादुरले भन्नुभयो, ‘मैले पनि केही वर्ष अघि दुई वटा वरपिपल रोपेर विधिपूर्वक विवाह पनि गरिदिएको छु ।’

अर्मपर्म, मर्दा पर्दा, गाउँका समस्या सुल्झाउन होस् या कुनै कुराको छिनोफानो तिनै वरपिपलको छहारीमा बसेर टुंगो लगाउने काम काम हुन्थ्यो । अहिले पनि गाउँका अधिकांश समस्याको छिनोफानो तिनै वरपिपलको छहारीमुनि बसेरै टुगो लाग्छ ।

Blog Post Ad

‘हिजोका दिनमा अहिलेको जस्तो भौतिक सुख सुविधा थिएन, काम कुरा केही गर्नुपर्यो भने चौतारो नै आधार विन्दु हुन्थ्यो, अहिले पनि गाउँघरमा वरपिपल चौतारो धाउने चलन छ, हामीहरु पनि यहीँ आएर धेरै कुराको टुंगो लगाउँछौँ,’ लालबहादुरले भन्नुभयो, ‘वरपिपल छहारी हाम्रा लागि वरदान सावित भएको छ ।’ उसो त, हिन्दु र बुद्ध धर्माबलम्बी दुवै पिपलप्रति आस्था राख्छन ।

हिन्दुमा ब्रह्मा, विष्णु र शिवको बास यही रुखमा छ भन्ने मान्यता छ । पिपलको रुखमा शनीको पनि बास हुने हुँदा शनिबारको दिन जल चढाउँदा वा छुँदा मात्र पनि राम्रो हुने धर्मशास्त्रमा उल्लेख भएको पाइन्छ । गौतम बुद्धले बुद्धत्व अर्थात ज्ञान यसै रुखमुनि बसेर हासिल गरेकाले बौद्ध धर्मअनुसार यस वृक्षको ठूलो महत्व छ ।

पिपलको रुख– ज्ञानोदय र शान्तिको प्रतीक भन्ने पनि गरिन्छ । पिपलको पातको आकार हृदयको जस्तै भएकाले मायाको प्रतीक पनि मानिन्छ । सोही ठाउँकी ७० वर्षीया आईती वलीलाई पनि ती वरपिपलको छहारीमा त्रिश्राम गर्न नजाने हो भने नियास्रंो लाग्छ । उहाँ जस्तै, गाउँका बालकदेखि बयोवृद्ध फुर्सदिला सबै वरपिपलको छहारीमा जुट्न अनि रमाईलो गरेर दिन काट्छन् ।

जेठको उखर्माउलो गर्मीमा पनि गैरी गाउँका ती चौतारामा हावा चल्छन् । ‘दिनभर सितल खायो, तितामिठा कुरा गर्यो, दिन बित्छ, निकै सजिलो भएको छ,’ आईतीले भन्नुभयो, ‘उतिबेला हाम्रा पुर्खाले रोपेका यी रुखले हामीलाई आराम मिलेको छ ।’ सल्यानको काभ्राबाट करीव दुई दशक अघि गैरीगाउँमा बसाई सरी आउनुभन्दा अघि ६३ वर्षीय चुडामणि सुवेदी पनि तिनै वरपीपलको छायाँमा धेरै पटक बास बस्नुभयो । उहाँलाई हिजोका दिनमा तिनै वरपिपलको छहारीमा बिताएका याद ताजै छन् ।

‘यही बाटो भएर हामी गाईभैसी ल्याउँथ्योँ लैजान्थ्यौँ, यही वरपिपलको भेँदमा म धेरै पटक रात बिताएको छु,’ चुडामणिले विगत सम्झँदै भन्नुभयो, ‘त्यो बेला डर पनि लाग्दैनथ्यो, सबै बटुवा रुखमुनि रात बिताउँथे ।’ पुर्खाहरुले वन वातावरण जोगाउन मात्रै होईन मानव धर्मका लागि गरेको सत्कर्म गाउँका विभिन्न चोकहरुमा अहिले पनि देख्न पाईन्छ । बढ्दो जनसंख्या, जमीन खण्डीकरणको प्रभावमा यस्ता रुख विरुवा पर्न थालेकोमा अग्रजहरु चिन्ता व्यक्त गर्छन् ।

कर्म र धर्म सही सत्य स्थापित गराउने काम पनि वरपिपलले गर्ने गरेको अग्रजहरुको बुझाई छ । वरपिपल सिंगो श्रृष्टिको अर्को रुप भएको ७७ वर्षीय नरबहादुर विक बताउनुहुन्छ । नाम जपौँ हरिको ब्रह्मा विष्णु हरिको, भने जस्तै, वरपिपल पनि श्रृष्टिको एक रुप भएको उहाँको बुझाई छ । गाउँको १३ ठाउँमा वरपिपलको चौतारो बनाउनु कुनै चानचुने कुरा नभएको गाउँले बताउँछन् ।

अहिले त्यहाँ खासगरी, कानपुरे, गुरुङ, सल्ललीबोटेलगायत चौतारो परिचित छन् । अरु ठाउँमा रहेका चौतारोमा पनि दैनिक स्थानीयहरुको विश्राम गर्ने थलोका रुपमा रहेको छ । पिपलको औषधीय गुण निकै प्रभावकारी मानिएको सबैले नकार्न पनि सक्दैनन् । यसको जरा, बोक्रा, पात तथा फलमा कुनै न कुनै औषधीजन्य गुण रहेको छ । जसले विभिन्न कडा प्रवृत्तिका रोगको उपचारसमेत सम्भव हुन्छ ।

बाथ, गिजाको रोग, कान दुःख्ने, पुरानो घाउ, अल्सर, वाकवाकी, गनोरिया, मधुमेह, दम, पखाला, छारेरोग, ग्यास्टिक, नपुंसकत्व जस्ता रोग र समस्यामा पिपल प्रयोग गरिन्छ । गैरीगाउँमा जस्तै सुन्दरखाल, भ्यागुते खोला, मथुरा सल्लीकोट लगायतका ठाउँमा पनि पुर्खाले रोपेका थुप्रै वरपिपल छन् । रुख प्रजातिमा सबै भन्दा धेरै अक्सिजन दिने पिपल रोप्नु वातावरणीय दृष्टिकोणले पनि वैज्ञानिक छ ।

बढ्दो जनसंख्या, औद्योगिकरणका कारण प्राणीको अस्तित्व संकटमा पर्ने अवस्था आएका बेला पुर्खाले थालेको महान कर्मको पदचाप अहिलेको पुस्ताले पनि पछ्याउन जेष्ठ नागरिकहरुको अपिल छ । वन वातावरण जोगाउन चुनौति भईरहेका बेला हाम्रा गाउँठाउँमा पुर्खाले रोपेका वरपिपल पनि संकटमा पर्ने खतरा बढ्दै गएको छ ।

पुर्खाहरुले सकेसम्म आत्मनिर्भर बन्नुपर्छ, अरुको पनि सेवा धर्म गर्नुपर्छ भन्ने मान्यता र राख्दै विभिन्न सार्वजनिक स्थल, मानिस आउजाउ गर्ने ठाउँमा पाटीपौवा बनाउने, वरपिपलका रुपमा रोप्ने, पानी पँधेरोको व्यवस्था गर्ने काम गर्थे । ती कामको अवेशष अहिले केही ठाउँमा भटिन्छ भने केही ठाउँमा इतिहास बनिसकेको छ । जसका कारण पुर्खाले गरेका राम्रा काम बिस्तारै हराउँदै जान थालेका छन् ।

बबई गाउँपालिकाको वडा नम्बर ४ गैरीगाउँमा पुर्खाले रोपेका दर्जनबढी वरपिपलले सिंगो गाउँ र आगन्तुकलाई वर्षौदेखि सितलता प्रदान गरेजस्तै वन वातावरण संरक्षणमा सबैको चासो र चिन्ता बढ्न जरुरी रहेको स्थानीयहरुको भनाई छ । उनीहरुले अहिले स्थानीय सामुदायिक वन संरक्षणदेखि सार्वजनिक स्थलमा रहेका वरपिपलहरुको संरक्षणमा निकै चासो दिएका छन् ।

Blog Post Ad Blog Post Ad