Ad Area

पुराना सिप जोगाउन एक्लै कस्सिएका टीकाराम चुनारा


बबई गैरीगाउँ, २८ जेठ । घरको एउटा कोठा काठका भाँडाले भरिएको छ । ती भाँडा कुनै फर्निचर उद्योग वा व्यावसायिक रुपमा उत्पादन गरिएका भाँडा होईनन् ।

ती भाँडा अत्यन्तै परम्परागत रुपमा हस्तकलामा आधारित सिपबाट बनाईएको भाँडा हुन् । त्यो परम्परागत सिप बबई गाउँपालिका वडा नम्बर ४ गैरीगाउँका ५८ वर्षीय टीकाराम चुनारासँग छ । उहाँले आफ्नो बुवाबाट काठबाट भाँडा बनाउन यो सीप सिक्नुभएको हो । पुराना कला सिपलाई जोगाउँदै नयाँ पुस्ता ती कलालाई

गाउँ नजिकै हाडीखुट्टी, देवीडाँडा लगायतको जंगलमा पाईने गिठा नामक काठबाट उहाँले गाबु, ठेकी, चौँठी, कोसी आदि बनाउँदै आउनुभएको छ । टीकारामका अरु दूई भाइलाई यो पेशा त्यति आउँदैन । बबईको हापुरे बजारबाट करीव ५ किलोमिटर उत्तरमा करीव ३ दशकदेखि उहाँले यो पेशा एक्लै निरन्तर रुपमा गर्दै आउनुभएको छ । पहाडको काखैमा रहेको गैरीगाउँमा बस्दै आउनुभएका चुनाराले खेतीपातीसँगै फुर्सद हुनासाथ काठका भाँडा बनाउन जुट्नुहुन्छ ।

बढ्दो जनघनत्वसँगै शहरीकरणका कारण बजारमा विभिन्न प्रकारका भाँडा पाउन थालेपछि काठबाट बनेका भाँडामा मानिसको आकर्षण घट्दै गयो । तर, अहिले फेरी यसको महत्व बुझेर धेरैले टीकारामले बनाउँदै आउनुभएको काठका भाँडा खोज्न थालेका छन् । उहाँले बनाएका सामान दाङदेखि बाग्लुङसम्म पुग्ने गरेको छ ।

‘दाङमा काठको भाँडाको व्यवसाय ठिकै छ, त्यो भन्दा धेरै राम्रो बजार बाग्लुङ नै हो,’ चुनाराले भन्नुभयो ।
काठको भाँडामा खासगरी, दुग्धजन्य बस्तु राखेर खाँदा त्यसको स्वाद विशेष हुने गर्छ । दुघ, दही, घीउ राख्ने मात्रै होईन, काठको ठेकामा पारेको महीको स्वाद अझ विशेष हुने धेरैको भनाई छ ।

‘काठको भाँडामा बनाएको दहीको स्वाद बेग्लै हुन्छ, काठको ठेकी र गाबुको महत्व बुझेकाहरु घरमै आएर लैजान्छन्,’ चुनाराले भन्नुभयो, ‘मैले भ्याएसम्म भाँडा बनाएर दिने गरेको छु ।’ काठका भाँडा बजारमा पाईने भाँडा भन्दा महंगो पनि छैन । प्रयोग गर्न जान्यो भने यो पुस्तौँ पुस्ता पनि चल्छ ।

Blog Post Ad

उहाँले सिक्नुभएको यो सीप अब कसरी जोगाउने भन्ने उहाँलाई अहिले चिन्ता बढ्दै गएको छ । बुवाबाट सिकेको सीप नाति पुस्तामा हस्तान्तरण गर्न खोजेपनि चुनौतिपूर्ण रहेको टीकारामको भनाई छ । जंगलमा काठ नपाईने तथा बनाइएका बस्तु बजारमा बिक्रि गर्न पनि उत्तिकै समस्या हुने गरेको बताउनुभयो ।

बाह्रै महिना काठको भाँडा नबनाए पनि उहाँले फूर्सद हुनासाथ हातमा औजार समात्नुहुन्छ अनि जंगल पस्नुुहुन्छ । यी काम भने भनेको जस्तो सहज नभएको टीकारामको भनाई छ । आफुले सिकेको सीप अरु जो कोहीले सिकेर पुर्खाको नासो बचाई दिए हुन्थ्यो भन्ने टीकारामलाई लागेको छ । आफु नै यो पेशाको अब अन्तिम व्यक्ति हुने होकी भन्ने उहाँलाई चिन्ता लागेको छ । सीप कला बचाउन सीप सिकाउन तयार हुनुभएका टीकारामलाई अरुले पनि चासो लिई दिए हुन्थ्यो भन्ने लागेको छ ।

‘मैले बुवाबाट सिप सिकेँ, जानेको कुरा व्यवहारमा उतारेर घर व्यवहार धानेको छु,’ उहाँले भन्नुभयो, ‘अब यो काम मेरा छोराले सिकोस् भन्ने अपेक्षा हो तर चासो लिँदैनन् ।’ मौलिक कला परम्परासँग जोडिएको यस्ता सीपलाई स्थानीय सरकारले पनि चासोका साथ हेर्न जरुरी छ ।

स्थानीय स्तरमा रहेका कला, संस्कृति परम्परा संरक्षणसँगै प्रवद्र्धन गर्नु राज्यको दायित्व हो । आउने पुस्तालाई पुर्खाले जोगाउँदै ल्याएको सीप र पेशा हस्तान्तरणमा अहं भूमिका खेल्ने विश्वास लिन सकिन्छ । ‘जो कोहीले म सिक्छु भन्दै आए त सिकाउने थिएँ, राम्रै हुन्थ्यो तर खोई कसैले चासो लिएको पाइदैन,’ चुनाराले भन्नुभयो, ‘पुस्ताले आर्जेको सिपलाई आउने पुस्तामा जोड्न सके राम्रै हुन्थ्यो नभए यत्तिकै खेर जाला भन्ने पीर छ ।’

Blog Post Ad Blog Post Ad