Ad Area

दाङमा चार लाख बढी विरुवा उत्पादन, ७८.५ हेक्टर बढी क्षेत्रफलमा रोपिने


दाङ, २८ जेठ । डिभिजन वन कार्यालय घोराहीले यसबर्ष जिल्लामा ७८.५ हेक्टर खाली जमिनमा वृक्षारोपन गर्ने भएको छ । विगतका बर्षहरुजस्तै यसबर्ष वृक्षारोपनका लागि ४ लाख ४० हजार विरुवा तयारी अवस्थामा रहेको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ । कार्यालयको बार्षिक योजना अनुसार ७८.५ हेक्टर जमिनमा वृक्षारोपन गर्ने कार्यक्रम रहे पनि यो बढ्न सक्ने कार्यालय जनाएको छ ।

डिभिजन वडा कार्यालयले जिल्लामा बर्षेनी वनजन्य, जडिबुटी र सौन्दर्य प्रजातिका विरुवाहरु रोप्नका लागि विरुवा उत्पादन गर्दै आएको छ । वन क्षेत्रको संरक्षण गर्दै हरियाली कायम गर्ने कार्यक्रम अन्तर्गत बहुबर्षीय विरुवा १ लाख ५० हजार विरुवा र अन्य एक बर्षभन्दा बढीका विभिन्न प्रजातिका २ लाख ९० हजार गरी ४ लाख ४० हजार विरुवा तयार रहेको डिभिजन वन कार्यालय घोराहीका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । विरुवाहरु वनजन्य र जडिबुटी प्रजातिका विरुवाहरु रहेको बताए ।

‘वृक्षारोपनका लागि ४ लाख बढी विरुवाहरु तयारी अवस्थामा रहेका छन्’, डिभिजन प्रमुख श्रेष्ठले भने– ‘विरुवा रोप्नका लागि अहिले निवेदन संकलन गर्ने काम भइरहेको छ ।’ विरुवा सामुदायिक वन, निजी वन र सार्वजनिक जग्गाहरुमा समेत रोप्ने तयारी रहेको रहेको छ । कार्यालय प्रमुख श्रेष्ठका अनुसार वनजन्य विरुवाहरु नदी उकास क्षेत्रमा २५ हेक्टर र सामुदायिक तथा सार्वजनिक क्षेत्रको २० हेक्टर जग्गामा वृक्षारोपन गर्ने कार्यक्रम रहेको छ ।

नदी उकास भनेको बबई नदीको खाली क्षेत्रअन्तर्गत विभिन्न ठाउँमा विरुवा रोप्न थालेको डिभिजन प्रमुख श्रेष्ठले बताए । त्यसैगरी बाँकी जमिनमा जडिबुटी र सौन्दर्य प्रजातिका विरुवाहरु रोपिने भएको छ । जडिबुटी प्रजातिका विरुवाहरु बंगलाचुली गाउँपालिका, घोराही उपमहानगरपालिका वडा नं. १८ र १९ र दंगीशरण गाउँपालिकाका केही स्थानमा रोपिने भएको डिभिजन प्रमुख श्रेष्ठले बताए ।

उनका अनुसार जडिबुटीहरुमा डिभिजन कार्यलयले व्लक तथा पकेट क्षेत्रका रुपमा लिएका ठाउँहरुमा टिमुर, मालागेडी र दालचिनीलगायतका बिरुवा रोप्ने योजना रहेको डिभिजन वन कार्यालय प्रमुख श्रेष्ठले बताए । ‘डिभिजन वन कार्यालयले वन जंगल संरक्षणसँगै मानिसहरुलाई आत्मनिर्भर बनाउनका लागि वन क्षेत्रलाई पकेट क्षेत्र छुट्याएर जडिबुटी खेती समेत गर्दै आएको छ’, प्रमुख श्रेष्ठले भने– ‘त्यस अनुसार विगतको बर्षहरुमा पनि धेरै ठाउँमा टिमुर रोपिएको छ । यसबर्ष पनि त्यो कार्यक्रमलाई निरन्तरता दिँदैछौँ ।’

कार्यालयका अनुसार वृक्षारोपनका लागि पुरन्धारा नर्सरीमा ६० हजार, तुलसीपुरमा रहेको नर्सरीमा ३५ हजार र घोराहीका तीन ठाउँमा रहेका नर्सरीहरुमा करिब ३ लाख विरुवाहरु उत्पादन भइरहेका छन् । घोराही–१८ अम्वापुरमा रहेको नर्सरीमा विरुवा उत्पादन गर्ने र घोराही उपमहानगरपालिका गेटअगाडि रहेको नर्सरी र भरतपुर सव–डिभिजन कार्यालयअन्तर्गतको जमिनमा राखेर विरुवा हुर्काउने काम भइरहेको कार्यालयले जनाएको छ ।